+

नर्सलाई कुन रोगको जोखिम ?

२०८१ जेठ  १७ गते ११:०७ २०८१ जेठ १७ गते ११:०७
नर्सलाई कुन रोगको जोखिम ?

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा उपचाररत एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ । साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने हुन्छ । त्यसैगरी  बालबालिकाको साधारण शय्यामा भने एक जना नर्सले चार जना बिरामी हेर्नुपर्ने हुन्छ । प्रसूतिका लागि लेबर कक्षमा एक जना बिरामीका लागि दुई जना नर्सको आवश्यकता पर्छ ।

नेपालमा हाल नर्सहरूको संख्या करिब एक लाख १५ हजार छ । नर्सहरू बिदेसिने क्रम बढेको छ, जसले गर्दा अस्पतालमा नर्सको संख्या अपुग छ । एक जना नर्सले एकै पटक धेरै बिरामीलाई हेर्नुपर्ने बाध्यता छ ।

नर्सहरूले दैनिक कम्तीमा आठ घण्टा ड्युटी गर्नुपर्ने हुन्छ, कहिलेकाहीं १२ घण्टासम्म पनि खटिनुपर्ने हुन्छ । ड्युटीको समय निश्चित पनि हुँदैन, कहिले राति, बिहान र दिउँसो जुनसुकै समय पर्न सक्छ । जसले गर्दा उनीहरूको सर्किडियन रिदम (शरीरको स्वचालित आन्तरिक चाल) बिग्रिन सक्ने नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई बताउँछिन् ।

‘इमर्जेन्सीमा आउने बिरामीहरूलाई पनि सबैभन्दा पनि नर्सले नै हेर्छन् । इमर्जेन्सीमा आउने बिरामीलाई के रोग लागेको हो थाहा हुँदैन, जसले गर्दा नर्सहरूलाई विभिन्न संक्रामक रोगको जोखिम बढी हुन्छ,’ उनी भन्छिन् ।

अस्पताल सेटिङमा काम गर्ने अधिकांश नर्सहरूले बिरामीलाई आफ्नो जिम्मेवारीको रुपमा राम्ररी हेरचाह प्रदान गर्छन् । तर बिरामीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दा, उनीहरूलाई शय्याबाट बाहिर निकाल्दा नर्सहरूको ढाडमा र शरीरको अन्य अंगमा चोट लाग्ने जोखिम हुने फ्यामिली फिजिसियन डा. विश्वराज दवाडी बताउँछन् ।

‘यसबाहेक ब्याक्टेरिया, भाइरसको सम्पर्कमा आएका कारण अस्पतालमा सङ्क्रमणको जोखिम पनि हुन्छ । त्यसैले संक्रामक रोग लाग्ने जोखिम पनि नर्सहरूमा रहन्छ । यो जोखिम कम गर्न उचित स्वच्छता र सुरक्षा दिशानिर्देशहरू पालना गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

अस्पतालमा एक्स–रे, एमआरआई, सिटिस्क्यान लगायत विभिन्न उपकरण प्रयोग गरिएको हुन्छ । यस्ता उपकरणले रेडियोधर्मी विकिरण उत्सर्जन गर्छन् । यस्ता रेडियोधर्मी विकिरण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । नर्सहरूले यस्ता उपकरण प्रयोग गरिने ठाउँमा पनि सहयोग गर्नुपर्ने हुन्छ । यस्तोमा पटक–पटक रेडियोधर्मी विकिरणको सम्पर्कमा आउँदा उनीहरूमा बाँझोपनसम्मको समस्या पनि निम्तिन सक्ने दवाडी बताउँछन् ।

‘शरीरमा थोरै थोरै मात्रा गरेर विकिरणले प्रवेश गरेमा अल्पकालीन वा दीर्घकालीन रुपमा डीएनएलाई क्षति पुर्‍याउन सक्छ,’ उनी भन्छन् ।

चिकित्सकले एउटै आसनमा घण्टौं उभिएर शल्यक्रिया वा अन्य उपचार गरिरहेका हुन्छन् । त्यो काममा त्यति नै समय उभिएर नर्सहरूले सहयोग गरेका हुन्छन् । त्यसैले उनीहरूलाई ढाड दुखाइ, गर्दन तथा कम्मर दुखाइको समस्या पनि हुने डा. दवाडी बताउँछन् ।

लामो समयसम्म उभिंदा नर्सहरूलाई भेरीकोज (पिंडौलामा रक्तनसा फुल्ने) को समस्या हुनसक्छ । लामो समयसम्म उभिई काम गर्नुपर्ने व्यक्तिको पिंडौलाका रक्तनसामा रहेका भल्बहरुले विस्तारै खुकुलो हुँदै गएपछि खुट्टातिरको रगत मुटुमा पुग्न कठिन हुन्छ । ‘जसकारण रगत मुटुमा पुग्न नसकी पिंडौलातिरै थुप्रिएर त्यहाँको रक्तनसा फुलिएर गँड्यौला जसरी गुजुल्टिएर बसेको देखिन्छ,’ डा. दवाडी भन्छन् ।

नर्सहरूको खाने ठेगान हुँदैन । धेरैजसो समय अस्पतालमै बिताउनुपर्ने हुँदा बाहिरको खानेकुरा पनि खानुपर्ने बाध्यता हुनसक्छ । जसले उनीहरूमा ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, अपच जस्ता पाचन समस्या देखिन सक्छ ।

अस्पतालमा बिरामीहरूलाई निरन्तर हेरचाह चाहिन्छ भन्ने कुरालाई ध्यानमा राख्दै नर्सहरूले प्रायः सिफ्टमा काम गर्छन् । धेरै पटक छुट्टीको दिन पनि काम गर्नुपर्ने हुन्छ । जसले निद्राको ढाँचामा पनि बाधा पुग्न सक्छ र कतिपय अवस्थामा यसले ‘स्लिपिङ्ग डिसअर्डर’को समस्या पनि ल्याउन सक्ने मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी बताउँछन् ।

‘लामो समयसम्म निद्रा बिग्रियो भने स्लिपिङ डिसअर्डरसँगै एन्जाइटी र डिप्रेसनको समस्या समेत निम्तिने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूमा खान, पिउन र सुत्ने समयको तालमेल नमिल्दा शरीरमा ऊर्जा नहुने, तनाव भइरहने र बिस्तारै मधुमेह, उच्च रक्तचाप जस्ता समस्या देखा पर्न सक्छन् ।

नर्स रोगको जोखिम स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय