
१५ जेठ, पाँचथर । नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्य पाँचथरमा स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखामा स्थापित उक्त पुरस्कार आज गणतन्त्र दिवसको अवसर पारेर फिदिममा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।
शाखाले आज आयोजना गरेको मिडिया सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वसभापति डा. आचार्यलाई सम्मानपत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो ।
कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती, शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले आचार्यलाई सम्मान गरेका थिए । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि विशिष्ट योगदान पुर्याउने पत्रकारहरुलाई पुरस्कृत गरिँदै आएको उक्त पुरस्कारको राशी रु. ३३ हजार रहेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर उक्त सम्मान वितरण हुँदै आएको शाखा अध्यक्ष बाँस्कोटाले जानकारी दिए । उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा अध्यक्षहरु हरिहर बिरही, किशोर नेपाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, शिव गाउँले लगायत पुरस्कृत भइसकेका छन् ।
सोही कार्यक्रममा फिदिम नगरपालिकाद्वारा स्थापित २५ हजार रुपैयाँ राशिको फिदिम नगर पत्रकारिता पुरस्कारबाट पत्रकार खविन लुइटेल पुरस्कृत भएका छन् । ।
यस्तै शाखामा स्थापित भएको १० हजार रुपैयाँ राशिको हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा खनाल र फिदिम स्पोर्टिङ क्लबले शाखामार्फत वितरण गर्ने रु. १० हजार राशीको प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार विनोदकुमार सुब्बा (सन्देश) पुरस्कृत भए ।
प्रतिक्रिया 4