+

यौनरोगलाई सामान्य रुपमा लिनुहुँदैन (भिडियो)

२०८१ जेठ  १७ गते १७:२१ २०८१ जेठ १७ गते १७:२१
यौनरोगलाई सामान्य रुपमा लिनुहुँदैन (भिडियो)

समाजमा लाज र संकोचका कारण यौनरोगको बारेमा मानिसहरु खुलेर कुरा गर्दैनन् । कतिपयले रोग लुकाएर बसेका हुन्छन् । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ भन्ने कुरामा अलमल हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएओ)का अनुसार प्रत्येक दिन १० लाखभन्दा बढी मानिसमा यस्तो संक्रमण हुने गर्छ ।

यौनरोग ब्याक्टेरियल, भाइरल र प्यारासाइटिक तीन प्रकारको हुन्छ । ब्याक्टेरियल यौनरोग सिफिलिस, गोनोरिया, क्राइमोडिया, भिरङ्गी आदि हुन् । भाइरलमा एचआईभी, एड्स, हेपाटाइटिस बी, सी र ह्युमन प्यापिलोमा भाइरस आदि पर्छन् । प्यारासाइटिकमा चाहिं ट्राइकोमोनोयासिस आदि पर्छन् ।

हाम्रोमा मुख्यगरी गोनोरिया, क्राइमोडिया, भिरिङ्गी, यौनाङ्गको मुसा, ट्राइकोमोनियस जस्ता यौनरोग बढी देखिने गर्छ । अधिकांश यौनरोग यौन सम्पर्कबाट सर्छ । तर कतिपय अवस्थामा अन्य यौनिक गतिविधिका क्रममा छालाबाट छालामा सर्न सक्छन् ।

कण्डम नलगाउने, जथाभावी यौनसाथी बनाउने, जथाभावी सुईको प्रयोग गर्ने, अप्राकृतिक यौन सम्बन्ध बनाउने आदि कारण यौनरोग लाग्छ ।

कतिपय त्यस्ता रोग आमाबाट गर्भावस्थामा हुँदा, जन्मिंदा वा स्तनपानको समयमा बच्चामा पनि सर्ने गर्छन् । यदि बच्चामा यौन रोग सर्‍यो भने बच्चाको दिमागको विकास राम्ररी नहुने, आँखामा असर गर्ने र अन्य अंगहरुमा असर गर्ने हुन्छ ।

रक्तदान गर्दा वा उही सुईको प्रयोग गर्दा पनि यौनरोग सर्ने सम्भावना बढ्छ । कतिपय अवस्थामा यौनरोगले गम्भीर रूप पनि लिन सक्छ, जस्तै- क्यान्सर, कटिमा दीर्घ पीडा, पाठेघरभन्दा बाहिर गर्भ बस्ने र बाँझोपनजस्ता समस्या देखा पर्न सक्छन् ।

महिलामा हुने यौनरोगको लक्षण

महिलामा योनी चिलाउने, साना बिमिरा देखिने, पानीका फोकाजस्ता दागहरू हुने, सम्भोग गर्दा दुख्ने, योनीस्राव हुने र तल्लो पेट दुख्ने, यौनाङ्ग वरपर चिलाउने र रातो हुने, योनीबाट अस्वाभाविक गन्ध आउने जस्ता लक्षण देखिन्छ ।

पुरुषमा देखिने यौनरोगका लक्षण

लिङ्गबाट पीप आउने, पिसाब फेर्दा पोल्ने, दुख्ने, यौनाङ्गमा साना-साना बिमिरा या खटिरा आउने, फोकाहरू देखिने, यौनाङ्ग वरपर चिलाउने र रातो हुने, साना घाउ हुने आदि लक्षण देखा पर्छन् ।

उपचार सम्भव छ ?

यौनरोगको उपचार सम्भव छ तर पूर्णरुपमा सबै रोग निको हुन्छ भन्न सकिंदैन । ब्याक्टेरिया वा परजीवीका कारण लाग्ने यौनरोग एन्टिबायोटिक प्रयोग गरेर निको पार्न सकिन्छ । तर भाइरसबाट सर्ने यौनरोगको उपचार छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार आठवटा जीवाणुमा क्लामिडिया गोनोरिया, सिफिलिस र ट्रिकोमोनाइसिस जस्ता रोग उपचारपछि निको हुनसक्छन् भने हेपाटाइटिस बी, हर्पिस, एचआईभी र एचपीभी निको हुन सक्दैन ।

उपचारले लक्षणलाई घटाउन र संक्रमण फैलिन कम गर्न भने सहयोग गर्छ । एचभीपी र हेपाटाइटिस बीविरुद्ध खोप पनि उपलब्ध छन् ।

समयमै उपचार गरिएन भने थप जटिलता निम्तिन सक्छ

गोनोरिया हुँदा समयमै उपचार भएन भने ज्वरो आउने, ग्रन्थीहरू फुल्ने, गर्भवती भएमा सन्तानलाई सर्ने जस्ता जटिलता देखिनसक्छ । जसका कारण बाँझोपन हुने सम्भावना हुन्छ । पुरुषको हकमा अण्डकोष दुख्ने सुनिने र बाँझोपन देखिने हुनसक्छ । भिरिङ्गी हुँदा संक्रमण फैलिंदै मस्तिष्क, रक्तनलीमा समस्या ल्याउँछ । भिरिङ्गी पनि सन्तानमा सर्न सक्छ ।

यौनरोगबाट बच्ने उपाय

यौनरोगबाट बच्नका लागि शारीरिक सम्बन्ध राख्दा कन्डम प्रयोग गर्नुपर्छ । धेरैवटा पार्टनरसँग यौन सम्बन्ध बनाउनु हुँदैन, एक जनासँग मात्र बनाउनुपर्छ । साथै शारीरिक सम्बन्ध राख्नुअघि र पछि गोप्य अंगलाई राम्ररी सफा गर्नुपर्छ । यौन संक्रमण शारीरिक सम्पर्कबाट मात्र नभई संक्रमित सुईको प्रयोगबाट पनि हुनसक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ ।

डा. विक्रान्त ढकाल यौनरोग स्वास्थ्य
डा. विक्रान्त ढकाल
लेखक
डा. विक्रान्त ढकाल
छाला तथा यौनरोग विशेषज्ञ

डा. ढकाल हाल नेपाल स्किन तथा अस्थेटिक सेन्टरमा काठमाडौंमा कार्यरत छन् । उनले छाला तथा यौनरोगमा एमडी गरेका छन् । डा. ढकालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८९३१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?