+
+

ओलम्पिक छनोट भएका ५ खेलाडी कहाँ के गर्दै छन् ?

नमिता दाहाल नमिता दाहाल
२०८१ जेठ १९ गते १९:४८

१९ जेठ, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा पाँच जना नेपाली खेलाडी सहभागी हुँदैछन् ।

जसमा पौडीबाट २ जना एलेक्स शाह र डुवाना लामा, एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, टेबल टेनिसबाट स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनबाट प्रिन्स दाहाल रहेका छन् ।

यी खेलाडीमध्ये सन्तोषी श्रेष्ठ नेपालमा नै प्रशिक्षण गरिरहेकी छिन् भने अन्य चार खेलाडी भने विदेशी प्रशिक्षणमा रहेका छन् ।

हाल नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद(राखेप)को सहकार्यमा यी खेलाडीहरुको प्रशिक्षणको बन्दोबस्द गरिएको छ ।

राखेपको तालिम तथा प्रशिक्षण शाखाका निर्देशक दीपक विष्ट भन्छन्, ‘हामीले अहिले नेपालमा प्रशिक्षण गरिरहेका खेलाडीलाई दैनिक ३५ सय रुपैयाँ उपलब्ध गराउने भनेका छौं । विदेशमा प्रशिक्षण गर्ने खेलाडीलाई भने निश्चित रकम नै भने तोकिएको छैन ।’

यसका लागि वैदेशिक प्रशिक्षण खर्च भनेर सरकारसँग छुट्टै माग गर्ने तयारी भएको उनले बताए ।

स्यान्टु श्रेष्ठ (टेबल टेनिस )

नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने चौथो खेलाडी हुन् स्यान्टु श्रेष्ठ । काठमाडौंमा भएको छनोट खेलमा नेपालकै संयोग श्रेष्ठलाई ४–३ ले पराजित गर्दै स्यान्टुले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान पक्का गरेका हुन् ।

यसअघि तेक्वान्दोकी संगीना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । त्यस्तै, पारातेक्वान्दोबाट पलेसा गोवद्र्धनले पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेकी थिइन् । स्यान्टुले हाल अष्ट्रेलियामा प्रशिक्षण गरिरहेका छन् ।

स्यान्टुले २०७४ सालमा ३९ औं राष्ट्रिय च्याम्पियनसिप, आठौं राष्ट्रिय खेलकुदसम्म राष्ट्रिय च्याम्पियनसिप र अन्य घरेलु प्रतियोगितामा दोस्रो भएनन् ।

सन् २०१९ डिसेम्बर (२०७६ मंसिर) मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टेबुल टेनिसले स्यान्टुकै प्रदर्शनमा कीर्तिमानी सफलता हासिल गर्‍यो । एकै प्रतियोगितामा एक रजत र तीन कांस्यसहित चार पदक जित्ने उनी एक्ला खेलाडी बनेका थिए ।

एलेक्जेन्डर शाह (पौडी)

पौडीका एलेक्जेन्डर(एलेक्स) शाह युनिर्भसालिटी कोटामा ओलम्पिक खेल्न लागेका हुन् । उनले यसअघि सन् २०२० मा टोकियो ओलम्पिकमा भाग लिएका थिए । अहिले उनी पढाइसँगै अमेरिकामा नै प्रशिक्षण गरिरहेका छन् ।

एलेक्सले नेपालमा हुने घरेलु प्रतियोगिता त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर खेल्ने गर्छन् । २१ वर्षीय उनले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।

डुवाना लामा (पौडी)

युनिभर्सालिटी कोटामा नै पेरिस ओलम्पिक खेल्ने अर्की नेपाली खेलाडी हुन् डुवाना लामा । उनी नवौं राष्ट्रिय खेलकुदयता निकै चर्चामा आएकी खेलाडी हुन् । पहिलो पटक ओलम्पिक खेल्न लागेकी उनले हाल थाइल्याण्डमा प्रशिक्षण गरिरहेकी छिन् ।

उनी नेपालको घरेलु प्रतियोगितामा त्रिभुवन आर्मीबाट खेल्ने गर्छिन् । डुवानाले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा नौ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन् । उनले १३ औं सागमा दुई समय मिटर ब्रेकस्ट्रोक र दुई सय मिटर बटरफ्लाइमा रजत पदक हात पारेकी थिइन् ।

सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)

सन्तोषी श्रेष्ठ नेपाली एथ्लेटिक्समा ‘गोल्डेन गर्ल’ को नामले समेत चर्चित छिन् । सन् २०१९ मा नेपालमा नै भएको १३ औं सागमा उनले १० हजार मिटरमा स्वर्ण जितिन् । त्यस बेलादेखि सन्तोषीले पछाडि फर्केर हेर्नु परेको छैन ।

उनले चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरिन् । उनले पेरिस ओलम्पिक २०२४ मा म्याराथमा भाग लिने छिन् । जसमा उनी हाल नेपालमा नै प्रशिक्षण लिइरहेकी छिन् ।

उनको प्रशिक्षण प्राय शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुन्छ । उनी दौड प्रशिक्षणका लागि भने दशरथ रंगशालाको सेन्थेटिक पिच नै प्रयोग गर्छिन् । ओलम्पिकका लागि नेपालमा नै प्रशिक्षण गर्ने उनी एक्ली खेलाडी हुन् । उनलाई रघु वन्तले प्रशिक्षण दिइरहेका छन् ।

प्रिन्स दाहाल (ब्याडमिन्टन)

नेपालका लागि जुनियर वरियतामा नम्वर वान रहिसकेका प्रिन्सले पुन नेपाली ब्याडमिन्टनका लागि नयाँ इतिहास रच्दै छन् । २० वर्षीय प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा पहिलो पटक ओलम्पिक खेल्ने खेलाडीको रुपमा आफ्नो नाम दर्ता गरेका छन् ।

उनले पेरिस ओलम्पिक २०२४ का लागि श्रीलंकामा प्रशिक्षण गर्ने भएका छन् । उनले श्रीलंकाको कोलम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा रहेर २० दिनको विशेष प्रशिक्षण गर्नेछन् । उनी आइतबार श्रीलंका प्रस्थान गर्नेछन् । प्रिन्स पनि युनिर्भसालिटी कोटामा ओलम्पिक खेल्न लागेका हुन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?