+
+

एमाले मकवानपुरको नेतृत्व चयनका लागि मतदान हुँदै, अध्यक्षमा ४ जना प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते ११:३७

२० जेठ, हेटौंडा । नेकपा एमाले मकवानपुरको १२औं अधिवेशनअन्तर्गत् आज आइतबार नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

१ बजेदेखि मतदानको तयारी गरिरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्ष पदका लागि शनिबार ६ बजेभित्र ५ जनाको उम्मेदवारी परेको थियो । रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालले मनोनयन दर्ता गराएका थिए ।

आइतबार रघुनाथ खुलालले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सुजन तिमल्सिनाकाअनुसार खुलालले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन समितिले बिहान ९ बजेभित्र उम्मेदवारी फिर्ताका लागि समय सीमा तोकेको थियो ।

खुलाललाई संस्थापन पक्षका नेता हुन् ।

एमाले मकवानपुरको अध्यक्षमा अब चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ । पोख्रेल, थापा, स्याङ्तान र रिमालको उम्मेदवारी कायम छ ।

श्रीधरलाई कृष्ण दाहालले समर्थन गरेका छन् । स्याङ्तानलाई पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवालीको उम्मेदवारका रुपमा हेरिएको छ ।

एमाले मकवानपुरका पुराना नेता रामेश्वर रानाको समर्थनमा थापा उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिबाट आएका रिमालले भने आफू एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन् । ‘मेरो त कोही समर्थन गर्ने पनि छैनन् । एक्लै चुनावमा होमिएको छु । जित्छु,’ उनले भने ।

शनिबार साँझ ६ बजेसम्म उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जना गरी अध्यक्षसहित पाँच जना पदाधिकारीका लागि २८ जनाको उम्मेदवारी परेको हो ।

उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ । चारवटै उम्मेदवारी कायम रहेको निर्वाचन समितिका तिमल्सिनाले जानकारी दिए ।

सचिवमा मदनकुमार दाहाल, सीता विष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापाको उम्मेदवारी परेको हो । सचिवबाट काफ्ले र महतले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दिपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज जर्घा मगर, उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ ।

उपसचिव खुला र महिलातर्फका सबै उम्मेदवारी कायम रहेको निर्वाचन समितिका तिमल्सिनाले बताए ।

पाँच जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन हुन लागेको हो । १० प्रतिशत सदस्य निर्वाचन जिल्ला कमिटीले मनोनीत गर्न सक्ने विधानत् व्यवस्था छ ।

जिल्ला कमिटीमा १०० जना सदस्य निर्वाचित हुनेछन् । अधिवेशनमा ७७७ जना प्रतिनिधिले भोट हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?