+
+
पोखराको पदचाप-७ :

पोखरा सभ्यता : गौचरनदेखि ‘होलिडे डेस्टिनेसन’सम्म

लामो इतिहास र ठूला नेता नभएको पोखरा एक हिसाबले रोमाञ्चक सहर बन्यो, जहाँ ठूला योजना र सपनाहरु पनि छैनन् ।

रवीन्द्र घिमिरे अमृत सुवेदी रवीन्द्र घिमिरे, अमृत सुवेदी
२०८१ जेठ २० गते २३:५९
Photo Credit : पुरानो तस्वीर : सुनिल उलक कलेक्सन (हर्क गुरूङ)

२० जेठ, पोखरा । भूगर्वविद्हरुका अनुसार ११ औं शताब्दीमा आएको महाभूकम्पबाट हिमालय क्षेत्रमा गएको भीषण हिमपहिरोपछि बग्दै आएको गेनरान थेग्रिएर बनेको हो, तालै-तालको पोखरा उपत्यका । त्यसैले पोखरा उपत्यकाको इतिहास नेपालकै अन्य ठूला शहरहरुको जति लामो छैन ।

यहाँको करिब ३०० वर्षभन्दा पुराना प्रामाणिक पुरतात्विक सामग्री र दस्तावेजहरू भेट्न मुस्किल छ ।

स्थानीय कथन छ, १५ औं शताब्दीतिर कास्कीकोटका राजा तथा नेपालकै प्रथम शाह राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँ–ठाउँमा गाई पाल्थे ।

तर, गोठमा बस्ने गोठाला औलोका कारण पीडित हुन्थे । विस्तारै बाटुलेचौर, ढुंगेसाँघु र बैदाम क्षेत्रका खर्कमा झुपड घरहरु बन्न थाले ।

कुलमण्डन शाहले बाटुलेचौर, मियाँपाटन, सिमलचौरमा वस्ती बसालेका थिए भने विन्ध्यवासिनी, नालाकोमुख कोठे साँघुमा बस्ती विकास हुँदै गएको इतिहासका जानकार ठाकुर त्रिपाठी बताउँछन् ।

विन्ध्यवासिनी क्षेत्र  Photo: Doug and Nancy Hatch (1969 March AD)

हिउँदमा हिमालतिरबाट ल्याइएका भेडा चराउन भेडीखर्कका व्यवस्था थियो । त्रिपाठीका अनुसार कुलमण्डनले बाटुलेचौरमा शीतकालीन दरबार बनाई उपत्यकामा बस्न प्रेरणा जगाएका थिए । उनले ठाउँअनुसार खेतीपाती गर्ने नियम बसाएका थिए ।

‘औंलको गास, शिखरको बास’ भन्ने पोखरामा चर्चित भनाइ नै थियो । पोखराका बेशी, फाँटमा औंलो, खहटे लगायतका रोगका कारण मानिस बस्न डराउँथे र आसपासका थुम्का र पहाडमा उक्लिन्थे ।

कतिले राज्यलाई शेर्मा अर्थात् कर बुझाउँथे, त्यस्ता जमिन रैकर भनिन्थो । त्यस्ता शेरा र रैकर जमिन स्थानीय क्षेत्रमा हालसम्म पनि कायम छन् । मरेघाट, गौचरन, खरतरी लेक चिहान डाँडा बस्तीबाट पायक पर्ने ठाउँमा थिए ।

कुलमण्डनले कास्कीको बाटुलेचौर निर्माण गरी कालिका मन्दिर स्थापना गरी अधिकारी, पौड्याल र तिमिल्सिनाहरुलाई पूजाको जिम्मेवारीसहित गुठीबिर्ता दिएका थिए ।

कुलमण्डन शाहबारे अध्ययन गरेका त्रिपाठीका अनुसार काउसे खोलाको पानीको कुलो बनाएर सिँचाइको प्रबन्ध गरेका थिए । गण्डकीका टारहरुमा गौपालनको व्यवस्था गरेका थिए । थापा, बानिया, गन्धर्वहरु त्यसै समयदेखि यस क्षेत्रमा आकर्षित भएका थिए ।

उनले काठमाडौं भ्रमणको बेलामा राम्रा अक्षर लेख्ने कायस्थ फौदारहरुलाई कास्की झिकाएका थिए । अन्य नेवार समुदायलाई भने व्यापारिक प्रयोजनका लागि पोखरा ल्याएका थिए ।

त्रिपाठीका भनाइमा राज्यका लागि आवश्यक पर्ने हातहतियार निर्माण गर्न र शृंगारिक व्यापारिक प्रयोजनका लागि मुस्लिमहरुलाई पोखरामा राखिएको थियो । उनीहरु पोखरा विकासका साक्षी हुन् । चिसाखोला, मियापाटन र रुपागाउँमा उनीहरुको बस्ती विकास गरिएको थियो ।

विसं १८०९ ताका कास्कीकोटका अन्तिम राजा सिद्धनारायण शाह पोखरा उपत्यकाको भूगोल देखेर मोहित थिए । यो उपत्यकामा व्यवस्थित बस्ती बसाउन सकिने देखेरै उनले समकालीन मित्र भक्तपुरका राजा रणजित मल्लसँग आग्रह गरे, ‘राम्रा, खप्पिस शिल्पकार, व्यापारी र अन्य कर्मीको समूह कास्कीमा पठाइदिनुस् ।’

रणजित मल्लले सिद्धनारायण शाहको अनुरोधलाई स्वीकारे र करिब १५० जनाको समूह पठाए, अधिकांश भुक्तपुरका नेवार थरका व्यापारी र शिल्पकार रहेको सो समूह २६ कुरिया लगायत करिब ८ वर्ग किमी क्षेत्रमा बस्न थाल्यो ।

पोखराका पुराना व्यवसायी तथा इतिहासमा रुची राख्ने आनन्दराज मुल्मीका अनुसार करिब २७० वर्षअगाडि सिद्धनारायण शाहको सोही कदमबाट पोखरा शहरको आर्थिक गतिविधिको जग बस्यो ।

२६ कुरियाभित्र बसोबास गर्नेहरु अधिकांश तामा, पित्तल, काँस, सुनचाँदी, काठ, कपडा लगायतका सामान उत्पादन गने सिपालु कालिगढ रहेको उनले एक आलेखमा उल्लेख गरकेा छन् । उनकाअनुसार अहिलेको पोखरा– ३ तेर्सापट्टी पहिले भाँडाकुँडा उत्पादन गर्ने थलो थियो ।

२६ कुरियाभित्र बसोबास गर्ने महिलाहरु तानबाट कपडा बुन्थे । ती कपडामा थरि–थरिका बुट्टा हाल्ने र आवश्यकता अनुसार लुगा सिलाउने काम पनि गर्थे । समय बित्दै जाँदा बाँस, निगालोबाट डाली, डोको, ढकी, स्याखु, छपरी, गुन्द्री, मान्द्रो लगायतका घरायसी वस्तुको उत्पादन पनि हुन थाल्यो ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका मुल्मीका भनाइमा  यिनै गतिविधिले पोखरामा आर्थिक विकासको आधार बसाएको थियो । उनको भनाइ अनुसार काठमाडाैं उपत्यकामा मल्ल राजाहरुको पराजयपछि विक्रम सम्बत १८२६ मा ७ सय जनाको ठूलै समूह पोखरा आएको इतिहासविद्हरुले उल्लेख गरेका छन् ।

यसरी हेर्दा उनीहरु पनि पोखरामा बस्ती बढाउने माध्यम बनेको आधार भेटिन्छ । २००८ सालसम्म ३ हजार ७५५ जना रहेको पोखरा बजारको जनसंख्या २०२९ सालमा २० हजार ६ सय पुग्यो । अहिले पोखराको जनसंख्या ५ लाख २० हजार माथि छ ।

मुल्मीका अनुसार बन्द समाज, अधिकारबाट बञ्चित, बाहिरका लागि अन्जान ठाँउ, छिमेकका केही गाँउबाहेक अरुसँग सम्बन्ध नभएकाले पुराना अवधिमा पोखर क्षेत्रमा भएका घटनासहित त्यसको अभिलेख, दस्तावेज पाउन मुस्किल छ ।

१९५६ सालमा जापनका बौद्ध भिक्षु एव् विद्वान् कावागुची तिब्बततर्फ जाने क्रममा पोखरामा १–२ रात बसेको वर्णन सुन्न पाइन्छ । त्यसपछि १९९५ सालमा भारतका महापद पोखरा आएर केही दिन बसेको लिखित इतिहास छ ।

राणाकालीन समयमा आन्तरिक झै–झगडामा परेर अलगिएका राणा भाइभारदारलाई काठमाडौंबाट निकाला गरेपछि पोखरा पठाउन थालेको पाइन्छ । ‘शासकहरुसँग असहमतलाई काठमाडौंबाट निकाला गरेर पोखरामा पठाउने यो प्रथा सुरु गरेपछि पोखरामा गतिविधि बढेको पाइन्छ,’ मुल्मी भन्छन् ।

त्यही क्रममा १९७० सालमा बबरशमशेरले आफ्नै खर्चमा प्रस्र्याङ धारापानीमा पानी ट्याङ्की निर्माण गराएको इतिहास छ । त्यहाँबाट पोखराका १२ स्थानमा सार्वजनिक धारो जोडेर पानीको सहज आपूर्ति व्यवस्था मिलाइएको थियो । २०१४ सालदेखि भोटेखोला, मर्दीखोला र विजयपुर खोलाको पानी पोखरामा आपूर्ति हुन थाल्यो ।

‘१९६८ सालदेखि प्रारम्भिक अध्ययन गर्ने पाठशाला सुरुवात भएपछि पोखरामा शैक्षिक जागरण सुरु भएको थियो,’ मुल्मी भन्छन्, ‘एक दुई जना वैद्य ल्याएर स्वास्थ्य सेवा सुरु भएको थियो ।’

आधुनिक अस्पतालको सुरुवात विदेशी संस्था ‘आइएनएफ’ले टुँडीखेलमा स्टिलका भवन निर्माण गरेपछि सुरु भएको थियो । सो संस्थाले अझै पनि हरियोखर्कमा सुविधा सम्पन्न अस्पतालमार्फत सेवा दिइरहेको छ ।

त्यतिबेला पोखराबाट काठमाडौं पुग्न हिँडेर ६–७ दिन लाग्थ्यो । बुटवल पुग्न ४–५ दिन, बाग्लुङ पुग्न एक–डेढ दिन, तानसेन पुग्न ३–४ दिन समय लाग्थ्यो । त्यसताका पोखरा आउन र अन्यत्र कतै जान पैदल वा घोडाको प्रयोग हुन्थ्यो । सामान बोक्न कि त मान्छे नभए खच्चड, गधालाई उपभोग गरिन्थ्यो ।

विमानसँगै विकास आयो

मुल्मीका भनाइमा, २००८ सालमा पहिलो पटक घारीपाटनको खरबारी र काँडाघारी रहेको पुरानो विमानस्थलमा विमान ओर्लियो । त्यसपछि नियमित विमान सेवा सुरु हुन ४-५ वर्ष लाग्यो । २०१३/१४ सालबाट पोखरा–काठमाडौं र पोखरा–भैरहवा नियमित विमान सेवा चलेपछि मानिसको आवतजावतसँगै सामानको ढुवानी सहज भयो ।

पहिलोपटक पोखरामा उत्रिएको विमान

२००७ सालमा प्रजातन्त्र पुनर्रस्थापना नहुँदासम्म पोखरा बाहिरी दुनियाँबारे खासै जानकार थिएन । २००७ सालको परिवर्तनपछि पोखरेली युवा पोखराभन्दा बाहिर जान–आउन थाले । यसले पोखरामा व्यवसाय गर्ने शैलीमा परिवर्तन आउन थाल्यो ।

पोखरा त्यतिबेलासम्म औलो र बिफरबाट आक्रान्त थियो, त्यसैले पोखरा उपत्यकाभित्र बस्न आँट गर्नेहरु थोरै थिए । सन् १९५४ तिर औंलो उन्मुलनको अभियान सुरु भयो । त्यतिबेला अमेरिकी सरकारको सहयोगमा निरोधक पाउडर छर्नेदेखि उपचारका लागि मिसनरी क्लिनिक र अस्पताल खोल्ने काम भयो ।

यस्तै सन् १९७० को दशकमा बिफर महामारी पनि अन्त्य भयो । यी कारणले पनि पोखरा बसाइँ सरेर आउनेहरु बढे । भारतीय र ब्रिटिस क्याम्पको स्थापना भएपछि लाहुरेहरुको रोजाइमा पनि पोखरा पर्न थाल्यो । जहाज चलेपछि पहिलोपटक सरकारी जिप पनि जहाजबाट ल्याएर पोखरामा गुडाउन थालिएको थियो । जिप आएपछि सरकारी कर्मचारीले माटो सम्याएर बाटो बनाएका थिए ।

२०१७ सालमा बेलायतकी महारानी एलिजावेथले पहिलो विदेशी राष्ट्राध्यक्षको रुपमा पोखरा भ्रमण गरिन् । उनी त्यही जिप चढेर फेवातालको किनारमा रहेको रत्न मन्दिरसम्म गएको इतिहास छ ।

त्यसपछि फूलबारी ब्यारेकका सैनिकले रानीपौवाको सैनिक ब्यारेकबाट कुँडहर–बाझाँपाटन–विजयपुर–कन्धनीडाँडा–अघौं हँुदै राजाको चौतारासम्म सडक बनाए । यस्ता कामले पोखराका विभिन्न भागमा बस्तीहरु बढ्दै र चहलपहल बाक्लिंदै गयो ।

२०१९/२० सालमा पोखरालाई भारतको सुनौलीसम्म जोड्न सिद्धार्थ राजमार्ग निर्माण सुरु भयो । यसले पोखरालाई सोझै भैरहवासँग मात्रै जोडेन, अन्तर्राष्ट्रिय नाकामा लिंक गर्‍यो । यो सडकले भैरहवा र पोखराभन्दा पश्चिमतिरका मान्छेहरुका लागि काठमाडौं जान पोखरा आउनै पर्ने अवस्था बन्यो । पश्चिम जान–आउन बसमा यात्रा गर्नेहरुले पोखरा–भैरहवा सडक भएर यात्रा गर्नुपर्दा पोखरा धेरैको आँखामा पर्‍यो ।

विस्तारै पोखरा उपत्यकाभित्र पनि सडक निर्माण गर्ने काम बढ्न थाल्यो । २०२७ सालमा पोखराबाट काठमाडौं जोड्न चिनियाँ सरकारको सहयोगमा पृथ्वीराजमार्ग (नौबिसे–मुग्लिन–पोखरा) निर्माण भयो । ‘पोखरालाई ठूलो व्यापारिक केन्द्रका रुपमा स्थापित गर्न यी दुई राजमार्ग र हवाई सेवाले महत्वपूर्ण भूमिका खेलेको छ,’ व्यवसायी मुल्मी भन्छन् ।

त्यतिबेला कास्कीको उपल्लो भेगमा भेडाका उनको राडी, पाखी, काम्लो बुन्ने काम हुन्थ्यो । त्यसको ठूलो बजार केन्द्र पोखरा सहर नै थियो । चीनले तिब्बत आफ्ना अधिनमा लिएपछि धेरै तिब्बतियन शरणार्थीको रुपमा नेपाल आएका थिए । चीनसँग बिद्रोह (खम्पा विद्रोह) गरेका तिब्बती फौज मुस्ताङ हुँदै बेसीतिर झरेपछि कतिपय पोखरामा राखिए ।

पश्चिमा मुलुकबाट आएका शरणार्थी मामिला हेर्नेहरुले उनीहरुलाई तानवाला गलैंचा बनाउन सिकाए । पोखराका हेमजा, सिमलचौर र छोरेपाटनमा राखिएका तिब्बतीहरु पनि यस्तो काममा जोडिए । यसले गर्दा कुनै बेला पोखरा गलैंचा युरोपमा निर्यातमा गर्ने सहरको रुपमा स्थापित भयो ।

२०२९ सालमा बासँग कक्षा ६ का पुस्तक किन्न पहिलोपटक मकैखोलाबाट पोखरा बजार निस्कंदा लेखक झलक सुवेदीलाई सहर र गाउँका भिन्न आयामबारे अनुमानसम्म थिएन । पोखरा पुगेर महेन्द्रपुल, पालिखेचोकमा रहेको दयाशंकरको पुस्तक पसलबाट पुस्तक किनेर फर्कंदासम्म उनले धेरै कुरा नौलो देखे । सडकतिर दोहोरो मुखामुख गरेर फर्केका घरहरु, तिनमा रहेका पसल, फाट्टफुट्ट देखिने टोयाटा ट्याक्सी, आधा हरमात्र ढाकेका ईंटा बोक्ने टाटाका ट्रक र लरी, मगमग बसाउने खानेकुरा भएका मिठाइ पसलहरु ।

‘मनेपद्मे’ गर्दै माला जप्दै हिँड्ने तिब्बती शरणार्थीहरु, भारी ओसार्दै गरेका खच्चड, पेन्सन बुझ्न गाउँबाट झरेका नम्बरीहरु, बम्बै या दिल्लीतिर गएर दरवानी गर्दै कमाएर फर्किएका युवा र अधवैंसेहरु अनि पढ्न व्यापार गर्न र किनमेल गर्न झर्ने वरपरका अनेक ठाउँबाट आएका अनेक अनुहारका नेपाली देखे सुवेदीले त्यहाँ ।

२०३० सालसम्म पोखरा शहरका रुपमा विस्तारै आकार लिने क्रममै सुवेदीले एक आलेखमा त्यतिबेलाको पोखराबारे धेरै कुरा उल्लेख गरेका छन्,  साँघुको मुख, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भैरवटोल हुँदै विन्ध्यवासिनी मन्दिर वरपरसम्म मुख्य शहरी क्षेत्र मानिन्थ्यो । तीनवटा मात्रै मोटरेबल पुल थिए । सेतीमाथि पृथ्विचोक, महेन्द्रपुल र केआइसिंह पुल बने, यसले पनि पोखराको आर्थिक विकासमा इँटा थपे ।

लेखक सुवेदीका भनाइमा, विन्ध्यवासिनीका किसान कुँडहर र चौरासी विरुवाको फाँटसम्म हलो, गोरु, लिएर खेती गर्न जान्थे । ठूला भारी ओसार्थे । महेन्द्रपुल र नागढुंगा या पृथ्वीचोकतिर भकारी या मान्द्राले बारेका साना साना भट्टीमा थकालीका भान्साहरु खुले ।

चिया खाजा पसल साना साना छाप्रामा या साना घरमा हुन्थे । साइकलले तान्ने टिनको भाँडोमा राखेर बेच्न हिँड्नेहरुले ल्याएको ताजा–ताजा पाउरोटीमा शहरको बढी रुचि थियो । सडकसँगै छाप्रे पसलहरु खुल्न, बाक्लिन थाले । बजार बढ्दै गएपछि नुन, मट्टितेल, कपडालगायतको व्यापार सुरु भयो । विभिन्न पहाडी क्षेत्र र जिल्लाका बासिन्दाकाको भीड पोखरामा बढ्यो । जबकी पोखरा कुनै बेला ढाक्रेको बजारजस्तो थियो ।

बसाइ सरेर आउने चाप यति भयो कि तत्कालीन पोखराले मात्रै त्यसलाई धान्न सक्ने अवस्था थिएन । त्यसैकारण पूर्व तथा पश्चिमको समथर भूभागमा पनि बस्ती बाक्लिंदै गयो । ग्रामीण भेगमा कृषि व्यवसायले व्यावसायिक रुप लियो । मकै, धान  लगायतका खेती यहाँको प्रमुख व्यावसायिक बाली बने । पशुपालन र दुग्धजन्य पदार्थको व्यवसायले पनि अर्थतन्त्र वृद्धिमा ठूलो सहयोग गर्‍यो । ग्रामीण भेग कृषिमा आश्रित हुँदा बजार क्षेत्र पर्यटन उद्योग र व्यापार व्यवसायमा बढी निर्भर हुँदै गयो ।

सुस्त ढंगले भएपनि विकासका कामहहरु भए । जसको बलमा बजार क्षेत्र गुल्जार हुँदै गयो । लेकसाइड क्षेत्रमा पर्यटक आगमन बढेर सुविधाहरु आधुनिक बन्दै जाँदा बढ्दै जाँदा शहरका अन्य भागमा पनि त्यसको छाप पर्दै गयो । तर, स्थानीयहरुको मात्रै उपस्थिति देखिने क्षेत्रहरुमा पनि नयाँ व्यवसायहरु थपिए ।

‘पहिलो पटक पोखरा आएको पूरै ५० वर्षपछि फर्केर हेर्दा पोखरामा आएका अजंगका फेरबदलले म नै चकित पर्छु,’ लेखक सुवेदी भन्छन् ।

उपत्यका आसपासका डाँडाहरुबाट गुरुङ समुदाय पोखरा झर्न थालेपछि २० को दशकपछि यो बाक्लिँदै जान थालेको हो । २००० सालअगाडि नै हिमाली जिल्लाबाट ‘थकाली’ हरु बसाइँ आइसकेका थिए । तत्कालीन व्यापार संघको पहिलो अध्यक्ष नै अमृतप्रसाद शेरचन थिए ।

प्रजातन्त्र स्थापनासँगै खुलेको संघले पनि पोखराको विभिन्न क्षेत्रको विकासमा योगदान गरेको छ । सिद्धार्थ राजमार्ग, पृथ्वीराजमार्ग, भूपी शेरचन राजमार्गका निम्ति आवाज उठाउने नेतृत्व तत्कालीन व्यापार संघले गरेको थियो ।

पोखराको पर्यटन र आर्थिक गतिविधिमा मुक्तिनाथ र हिमालको ठूलो हिस्सेदारी रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठको भनाइ छ । ‘मुक्तिनाथको प्रवेशद्वारका रुपमा पोखराले फाइदा उठाएको छ । हिमालको काखमा हुनुको वैभव शीरमा छ,’ तीर्थ भन्छन् ।

देव शमशेरले १९५८ सालमा विन्ध्यवासिनीमा संस्कृत स्कुल खोले । जनतासमेत जागेर २००६ सालमै पोखरा पब्लिक मिडिल स्कुल खुलेको हो । २०१७ मा खुलेको पृथ्वीनारायण क्याम्पस हुँदै २०५३ सालमा खुलेको पोखरा विश्वविद्यालयसम्मले पोखराको विकासमा योगदान पुर्‍याए ।

सोल्जर बोर्ड स्कुलसँगै खुलेको सोल्जर बोर्ड हस्पिटल नै अहिलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । २०१४ सालमा राजा महेन्द्रले रानी रत्नको नाममा रत्नमन्दिर दरबार बनाएपछि पोखराको विकासमा राजपरिवारको ध्यानाकर्षण भएको पोखराका पूर्व उपप्रधानपञ्चसमेत रहेका तीर्थको भनाइ छ ।

‘जब रत्नमन्दिर बन्यो तब राजपरिवारको ध्यान पोखरामा आकर्षित भयो र क्रमशः विकासका पूर्वाधारहरु विस्तार हुन थाले,’ तीर्थले भने, ‘हुन त जंगबहादुर राणा पनि फेवा किनारमा टेन्ट टाँगेर बसेका थिए । त्यही बेला फेवातालको पानी उठाएर मानिस बस्ने डाँडाहरुमा लैजाने योजना बनाएका थिए । पछि स्थानीय विरोधपछि योजना कार्यान्वयन नै पाएन ।’

आधुनिक पोखराको जग

आधुनिक पोखराको रुपान्तरण सुरु भएको धेरै भएको छैन । पोखरामा बिजुली बाल्न थालेको करिब ६ दशक भएको छ । सार्वजनिक बस चल्न थालेको साढे ५ दशकमात्रै भएको छ ।

मुग्लिनमा पुल नबन्दा गाडी तारिंदै

तत्कालीन अवस्थामा ठूलो कारखाना भनिने सलाई कम्पनी खोलिएको लगभग ६ दशक नाघेको छ । पोखरामा पहिलो धीरबहादुर गुरुङको सिनेमा हल खुलेको झण्डै ७८ वर्ष भयो । स–साना धान कुट्ने, काठ चिर्ने, तोरी पेल्ने मिल र कुटानी पिसानी उद्योग खुले । तर, पोखराले ठूलो औद्योगिक इतिहास बनाउन सकेन ।

३० को दशकमा फणिन्द्रमान श्रेष्ठसहित सूर्यबहादुर केसी र कृष्ण आचार्यले सिमलचौरमा ‘गण्डकी नुडल्स’ उद्योग खोलेर दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ ‘रारा’ को उत्पादन सुरु गरे । पोखराको औद्योगिक इतिहासमा अहिले पनि रारा, फेवा र रुपा चाउचाउलाई प्रतिष्ठाको रुपमा लिइन्छ ।

शंकरराज पाठक अञ्चलाधीश भएर आएपछि पोखरामा व्यवस्थित शहरीकरणबारे चर्चा सुरु भयो । वर्षमा एकपटक पोखरा पुग्ने राजा वीरेन्द्रले २०३१ सालमा ‘पोखरा टाउन प्लानिङ कमिटी’ बनाएर नेतृत्व पाठकलाई नै दिए । पोखराको भौतिक विकास योजना तयार पार्न इन्जिनियर गौरीनाथ रिमाल र प्लानर पदमबहादुर क्षेत्री आए । डा.हर्क गुरुङ पनि यो टिमसँग छलफल गर्थे ।

पोखराको भौतिक विकास योजना– २०३१ ले सरकारी, संस्थान, संवैधानिक कार्यालयहरु कहाँ बस्ने, औद्योगिक क्षेत्र कहाँ बनाउने, बस्ती विकास कहाँ र कसरी गर्ने, पुरातात्विक तथा सांस्कृतिक क्षेत्र तोक्ने, स्वास्थ्य, शिक्षा, कृषि जस्ता पोखरामा हरेक क्षेत्र तोक्यो ।

मुल्मीका भनाइमा यो योजनाले आधुनिक पोखराको जग हाल्ने काम गर्‍यो । पोखरा न्युरोड होस् कि बसपार्क, पोखरा रंगशाला होस् कि औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थल,  बेगनास सडक होस् कि विभिन्न कार्यालय, संस्थान विभाजन गरी निर्माणको खाका कोर्ने काम पाठककै नेतृत्वमा भयो ।

जनताको जग्गा लिएर सडक बनाएर घडेरीका रुपमा जमिन फर्काउने ‘ल्यान्ड पुलिङ’ गरेर न्यूरोड फराकिलो बनाएपनि स्थानीयको विरोधका कारण पृथ्वीचोकदेखि चिप्लेढुंगासम्म पनि सडक फराकिलो बन्न पाए । पाठकले पोखराको औद्योगिक क्षेत्र शिलान्यास गरेर ९ महिनामा काम सकाएर फेरि उद्घाटन पनि उनैले गरेका थिए ।

तर, त्यतिबेलाको नगर विकासको गुरुयोजना अनुसार सबै काम हुन पाएन । जसका कारण आजसम्म पनि पोखरामा धान खेत र ऊर्बर भूमि मासेर घडेरी बनाउने क्रम रोकिएको छैन । तालको सिमसार क्षेत्र पुगेर बस्ती बसाउन अहिले पनि जोडबल चलिरहेकै छ ।

फैलिंदो पोखराको अर्थतन्त्र

यो सहरका धेरैजसो भागमा अहिले साना उद्योग र व्यवसायहरु फस्टाएका छन् । पर्यटकको सेवामा खटिएको पोखरा अहिले तारे होटल, बिजनेस मल, आधुनिक सिनेमा हल र स्तरीय रेस्टुरेन्ट लाउन्ज क्लक र कफी सपको सहर बनेको छ ।

हिमालको काँखमा अवस्थित यो शहर गण्डकी प्रदेशको प्रमुख व्यापारिक केन्द्र हो । शहरका रुपमा पोखराले जसरी विकासको गति समात्दैछ, त्यसैअनुसार नै व्यावसायिक क्षेत्रमा विभिन्न उपलब्धिहरु पनि हात पार्दैछ । कुनै समय बैदाम र महेन्द्रपुलमा खुम्चिएको पोखरा अहिले फैलँदो छ । यसको व्यावसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुने चरणमा छ ।

पोखरामा आधुनिक किसिमका व्यापार व्यवसायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सबै सेवा सुविधा यो शहरले ग्राहकलाई दिन सकेको छ । अझ पर्यटकीय सेवा र गतिविधिका कतिपय पक्षमा पोखरा काठमाडौंभन्दा अगाडि छ ।

पोखरा पर्यटकमा मात्रै केन्द्रित छैन, स्थानीय उपभोक्ताको क्रयशक्ति बढ्दै जाँदा आधुनिक उपभोग शैलीमा लालायित छ । संघ सरकारसहित महानगरपालिका र गण्डकी प्रदेशका विकासे अड्डाले शहरी पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यावसायिक सम्भावना भएका क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

पोखरा देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । पोखराको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दह्रो बन्दैछ । झन् गण्डकी प्रदेशकै राजधानी पनि भएकाले अवसर पनि बढी पोखराले नै पाइरहेको छ ।

तर, समयक्रममा पोखराले देशको केन्द्रीय राजनीतिमा सशक्त प्रभाव पार्न सक्ने नेता खासै पाएन । यसले गर्दा काठमाडौंबाट पोखराले पर्याप्त लाभ लिन नसकेको स्थानीयहरुको बुझाइ छ । पछिल्लो दशकमा पोखराबाट उदाएका युवा राजनीतिज्ञ रवीन्द्र अधिकारी २०७६ सालमा पर्यटनमन्त्री भएकै बेला हेलिकोप्टर दुर्घटनामा दिवंगत भए । अहिले प्रदेशको राजधानी भए पनि पोखराले स्थानीय क्षेत्रको विकासमा ठूलो योगदान दिनसक्ने आशा गरेका नेताहरुको संख्या न्युन छ ।

तर, पनि आर्थिक र सामाजिकसहित सबै क्षेत्रमा विकास गर्दै मानव विकासमा पोखराले आफूलाई राम्रो स्थानमा लैजाँदैछ । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजनामा काम भइरहेको मेयर धनराज आचार्य दाबी गर्छन् ।

‘पोखरालाई पर्यटकीय गन्तब्य मात्रै हैन, आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न थुप्रै योजनाहरु अघि बढेका छन्,’ उनले भने, ‘केही समयभित्रै पोखरा अझै समुन्नत भएको देख्ने गरी काम गर्दैछौं ।’

अहिले विद्यालय, क्याम्पस, कलेजसहित नर्सिङ, वन विज्ञान, कृषि, इन्जिनियरिङ लगायत अनेक विधामा पठनपाठन गर्ने शैक्षिक संस्था छन् । गण्डकी प्रदेशकोे शैक्षिक हबका रुपमा विकास भएको पोखरा स्वास्थ्य क्षेत्रमा पनि अब्बल बन्दै छ । पोखरामा अहिले संस्थागत र सार्वजनिक गरेर ६ सय ६१ वटा त विद्यालय नै पुगिसकेका छन् ।

विगतमा साइनिङ अस्पताल र गण्डकी अस्पतालमा भर पर्ने पोखरामा अहिले चार वटा शिक्षण अस्पताल र तथा स्वास्थ्य प्रतिष्ठानहरु छन् । पोखराभित्र ठूला सरकारी अस्पतालसँगै निजी क्षेत्रबाट सञ्चालित थुप्रै अस्पतालले सेवा दिइरहेका छन् । सहासिक खेल पर्यटनको ‘हब’ पोखरामा आधुनिक खेलकुद रंगशालासमेत तयार छ ।

पोखरा चीन र भारत जोड्ने सडक सञ्जालसँग जोडिएको छ । पोखराका फाँट र बारीहरु घर र भवनले भरिँदै गर्दा काँहु डाँडा, सराङकोट, पामे, पुम्दी, निर्मलपोखरी र भरतपोखरी, वेगनास, अर्चलेसम्म शहर विस्तारको चरणमा छ ।

‘प्राकृतिक रमणीय बनोटका कारणले पोखरामा ठूला उत्पादन गर्ने व्यवसायीको तुलनामा उच्च मूल्य अभिवृद्धि हुने सेवासम्बन्धी प्रतिष्ठानहरु तुलनात्मक रुपले लाभको क्षेत्र हुन सक्छन्,’ मुल्मी भन्छन्, ‘मौलिक रुपमा बन्ने सामग्री, वनस्पति साथै उच्च मूल्यका कृषि उत्पादकले बढी लाभ प्राप्त गर्न सक्नेछन् ।’ उच्च मूल्यका स्वास्थ्य तथा शिक्षाका अवसर प्रदान गर्न सक्ने अर्को महत्वपूर्ण क्षेत्र पोखरा बन्न सक्ने भन्दै मुल्मीले व्यावसायिक लगानीलाई सहज र आकर्षक वातावरण बनाउनुपर्ने बताए ।

२०३१ सालमै तत्कालीन पोखराको छेऊमा खुलेको औद्योगिक क्षेत्र अहिले मानवबस्तीको बीचमा परेको छ । औद्योगिक क्षेत्रमा ७६ वटा उद्योग छन् तर कतिपयले ठाउँमात्रै ओगटेका छन् । पोखराकै पुँडीटारमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने योजना केबल योजनामै सीमित हुन पुगेको छ । पोखरामा पर्यटनसँग सम्बन्धित जम्मा १ सय ७४ र उत्पादनमुलक ६४ वटामात्र उद्योग रहेको तथ्यांक कार्यालयको भनाइ छ ।

२०१७ सालपछि पोखरामा तिब्बती शरणार्थीको व्यवस्थापन भएसँगै सुरु भएका गैंलाचा उद्योग अहिले बन्द भइसके । पहिले यहाँबाट फर्किनेले ‘पोखराको सम्झना’ लेखिएको गलैंचा लैजाने गरेको चलन अहिले हराइसकेको छ । पहिले विश्व बजारमा पठाए पनि अहिले पोखराको ब्राण्ड सेलाइरहेको डाँडाघरे वाइन उत्पादन गर्ने अग्रज पर्यटन व्यवसायी झलक थापाको भनाइ छ ।

‘रारा, रम्बा चाउचाउ’ भनेजस्तै पोखरा चिनाउने उतिधेरै ब्राण्ड अहिले पोखरामा छैनन् । पोखरा भन्नेबित्तिकै मानिसहरुले सम्झने उत्पादित सामग्री नै भएनन् भन्ने चिन्ता पोखरा फुड्स प्रालिअन्तर्गत चाउचाउदेखि बिस्कुटसम्म उत्पादन गरिसकेका पूर्व मन्त्री तथा व्यवसायी हरि पाण्डेको छ ।

अरुको मत पनि उस्तै छ । ‘नजिक र ठूलो बजार पनि नभएकाले पोखराले ठूला ठूला उत्पादन गर्ने उद्योग खोल्नतिरै लागेन । कच्चा पदार्थ बाहिरबाट ल्याएर उत्पादन गरेर बेच्दा पनि महंगो पर्ने भयो,’ व्यवसायी मुल्मी भन्छन्, ‘पोखरा एक हिसाबले रोमाञ्चक सहर बन्यो, जहाँ ठूलो योजना र ठूला सपनाहरु छैनन् ।’

उनका अनुसार पुर्ख्यौली सम्पत्ति भएका र खानलाउन पुगे भइहाल्यो भन्ने मानिस पोखरामा धेरै छन् । कास्कीभरि २ लाख ३३ हजार त काम नगरी बसेका नागरिकको संख्या छ । कास्कीभरि नै सानाठूला गरी जम्मा ५ हजार ३४६ रोजगारदाता रहेको तथ्यांक कार्यालयको आंकडा छ ।

झण्डै एक लाख विभिन्न व्यापारिक प्रतिष्ठानहरु रहेको अनुमान गरिएको पोखरामा साविक पोखरा उद्योग वाणिज्य संघ र लेखनाथमा गरी करिब ५ हजार व्यवसायीमात्रै आवद्ध छन् । तर पोखरा महानगरले राजस्वको दायरामा भने ल्याउन सकेको छैन । भूगोलका हिसाबले देशकै ठूलो महानगर बनेको पोखराले उल्लेख्य राजश्व वृद्धि गरेर आफ्नै खुट्टामा उभिनेतिरभन्दा अहिले आम्दानी उल्टो गुमाउँदै गइरहेको छ ।

२०१६ सालमै नगरपालिका बनेको र हाल महानगरपालिका भइसकेको पोखराले चालु आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो । महत्वकांक्षी बजेट ल्याएको पोखराले करिब ५० प्रतिशतमात्रै खर्च गर्न सकेको छ ।

आन्तरिक स्रोततर्फ २ अर्ब २७ करोड र राजस्व बाँडफाँडबाट १ अर्ब ४५ करोड लक्ष्य राखेको आन्तरिक स्रोततर्फ करिब ९० करोडमात्रै उठेको छ । राजस्व बाँडफाँडतिर लक्ष्यको ५० प्रतिशतको हाराहारीमा मात्र लक्ष्य प्राप्त गरेको छ ।

पोखरा पनि आर्थिक रुपमा बढी चलायमान बनाउन व्यावसायिक प्रतिष्ठानहरु स्थापना गरी रोजगारीका अवसर सिर्जना गर्न र लगानीको आयामलाई बढाउन सामूहिक प्रयासको खाँचो छ,’ मुल्मी भन्छन्, ‘पोखरा महानगरपालिका यी सबै समन्वय गर्न सक्ने हैसियत भएको संस्था हो । पोखराको सुन्दर भविष्यबारे सबैले चिन्तन गर्न जरुरी छ ।’

पञ्चासेदेखि मौजा, भगवतीटारसम्म, अर्मलादेखि कोत्रेसम्म फैलिएको पोखरा महानगरमा गाभिए पनि विकासमा परेको सकसका कारण तत्कालीन लेखनाथ नगरपालिका क्षेत्रमा असन्तुष्टि ज्यादा छ । ‘लेखनाथ विकासको गुरुयोजना बनेको थियो,’ लेखनाथका तत्कालीन मेयर शालिग्राम पौडेल भन्छन्, ‘राजनीतिक स्वार्थसमेत जोडिएपछि ‘ग्रेटर पोखरा’को नारा लगाउँदै लेखनाथको अस्तिस्व मेटिएको महसुस यहाँका नागरिकले गरेका छन् ।’

अनि बन्यो ‘डेस्टिनेसन’…

यो सहर अहिले देशभरकै लागि कमाएर छुट्टी मनाउन, रमाइलो गर्न र आनन्दको सास फेर्न र थकाइ मार्नका लागि खर्च गर्न आउनेहरुको सहर पनि बनेको छ । देश मात्रै हैन, विदेशका लागि समेत पोखरा ‘होलिडे डेस्टिनेसन’ बनेको छ ।

पोखरा पर्यटकीय सहरको रुपमा चिनिन थालेको झण्डै ६ दशक मात्रै नाघेको छ । १९६० को दशकको सुरुवाततिरैबाट फेवातालको किनारतिर अनौठा शैली र हाउभाउ देखाउने विदेशी तन्नेरीहरुले नै पोखरामा पर्यटनको जग बसाए । पहिरन र खानाको कुनै चिन्ता नलिने उनीहरु पोखरामा नौला पाहुना ‘हिप्पी’ थिए ।

लेकसाइडमा उनीहरु कोही टेन्टमा सुत्थे, कोही स्थानीयको गोठ र धन्सारमा सुतिदिन्थे । हिप्पीको संख्या बढ्दै गएपछि केही स्थानीयले चिया नास्ता पसलहरु खोले, पैसा लिएर बस्ने सुविधा दिन थाले । हिप्पीहरुबाटै लेकसाइडमा थालनी भएको पर्यटकीय गतिविधि विस्तारै मौलाउँदै गयो ।

७५ वर्षअघि अन्नपूर्णबाट सुरु भएको हिमाल चढ्ने अभियानले पोखरालाई बढी चिनायो । १९५० (२००७ साल) मा फ्रान्सेली नागरिक मौरिस हार्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि लेखेको ‘दी अन्नपूर्ण’ नामको पुस्तकका विवरणले पोखरामा हिप्पीबाहेकका पर्यटकहरु पनि आउन थाले । २०२२ साल पछि त पोखरामा सरकारसँग अनुमति लिएर होटल खोल्न सुरु भयो ।

स्विस प्राकृतिक अन्वेषक टोनी हागन, जापनीज नागरिक काजुमी लगायतले आफ्ना पुस्तकमा पोखरा र आसपासको भौगोलिक र सामाजिक अवस्थाबारे गरेका वर्णनले पोखरालाई चिनाउन भूमिका खेल्यो । स्विस नागरिक वार्करको परिकल्पनामा निर्माण भएको ‘नेपालको पहिलो रिसोर्ट’ फिस्टेल लजले निकै मानिसलाई आकर्षण गर्‍यो ।

ब्रिटिस कर्णेल जिम्मी कार्टरले पोखरालाई आधार मानेर छोटो दूरीका पदयात्रा गर्ने ठाउँहरुको पहिचानमा भूमिका खेलेका थिए । उनले यहाँ पाइने चराचुरूङ्गी लगायत सयौं प्रजातिका वनस्पति, फूल, विरुवाबारे व्यापक प्रचारप्रसार र प्रवर्द्धन गरेर पोखरालाई घुम्नुपर्ने सहरको रुपमा स्थापित गरेका हुन् । समयक्रममा पोखरा पदयात्रामा जाने, पोखरा घुम्ने र हिल स्टेसनमा पुग्न रुचाउनेहरु बढ्दै गए ।

यहाँका ताल, तलैया, गुफा, मठ, मन्दिर, मस्जिद र गुम्बा, कोट, छाँगा, छहरा, गल्छी लगायतले पर्यटक तानिरहेका छन् । पोखराभित्र फेवाताल, बेगनासताल, रुपाताल, दिपाङ्ताल, खास्टेताल, मैदीताल, न्युरेनी ताल, गुदेताल, कमल पोखरी, कश्यप ताल गरी ९ भएपनि फेवातालबाहेक अन्य तालहरु पर्यटकीय पूर्वाधारमार्फत राम्रोसँग जोडिन सकेका छैनन् । तर पनि पोखरामा वार्षिक १० लाख बढी बाह्य तथा आन्तरिक पर्यटकले भ्रमण गर्ने अनुमान छ । तर, यकिन र आधिकारिक तथ्यांक कसैसँग छैन ।

यहाँ १२ सयभन्दा बढी होटलहरु छन्, दैनिक ४० हजार पर्यटकलाई सेवा दिनसक्ने क्षमता पोखराले तयार गरेको छ । करिब ७० हजारलाई पोखराका होटलहरुले नै रोजगारी दिइरहेका छन् । करिब साढे ५ खर्ब होटलमै लगानी भइसकेको छ ।

ट्राभल, ट्रेकिङ एजेन्सी, मनी एक्सचेन्ज, ट्रेकिङ सप, क्युरियो पसल, गार्मेन्ट तथा हस्तकला पसलहरु पोखराको पर्यटकीय क्षेत्रमा छ्यापछ्याप्ती छन् । साइट सिन, हाइकिङ, ट्रेकिङ, माउन्टेनियरिङ, साइक्लिङ, बोटिङ, कायाकिङ, क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लाइङ, बन्जी जम्प, केबलकार, हेलिकप्टर फ्लाइट, स्काइ डाइभिङ, हट एयर बलोन जस्ता पर्यटकीय गतिविधि पोखरामा परिचित छन् ।

पोखरा केबल सीमित भूगोल मात्र नभएर संस्कृति भएको उल्लेख गर्दै लेखक गनेस पौडेल भन्छन्, ‘कालीगण्डकीदेखि मादीमर्स्याङ्दी बीचको संस्कृति हो, पोखरा । तर, हामीले यसलाई जोड्न त टाढाको कुरा, यहीँको सम्भावनालाई पनि खुम्चयाइरहेका छौं । प्रकृतिले जेजे दिएको छ, त्यसैलाई पनि बिगारेर पर्यटनका नाममा बेचिरहेका छौं ।’

पर्यटन व्यवसायी बासु त्रिपाठी पोखराको पर्यटन व्यवसाय व्यवस्थित योजनामा नचलेको बताउँछन् । ‘हाम्रो पर्यटन व्यवसाय लहड–लहडमै चलिरहेको छ । कतियले यहाँ रहरले व्यवसाय थाले भने कतिपय लहडमै आएर संघर्ष गरिरहेका छन्,’ उनले भने, ‘अधिकांशले त मार्केट रिसर्च नै नगरी व्यवसाय थालेकाले ठूलो समस्यामा पनि छन् ।’

उनी आशालाग्दो भविष्यको अपेक्षा गर्दै पोखराको पर्यटन उद्योगले कठिन दिन गुराजिरहेको बताउँछन् । पर्यटकीय सम्भावना भएका पर्यटकीय क्षेत्रमा गतिविधि बढाउन ठूला विदेशी लगानीकर्तालाई पनि तान्नुपर्ने बताउँछन्  ।

‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले अब नीतिगत रुपमा यहाँको पर्यटनसम्द्ध समस्या केलाउन सरोकारवाला मथि दबाब पर्छ,’ उनी भन्छन्,‘ पोखराको अन्तर्राष्ट्रिय विमानस्थल चलाउन र पोखरालाई केन्द्रमा राखेर पर्यटनको गुरुयोजना बनाउनपर्ने अवस्था बन्छ ।’

विश्लेषक झलक सुवेदी अहिलेको पोखराको विकास र पूर्वाधारको मोडल व्यक्तिका धारणा र आवश्यकताले मात्रै निर्धारित भएको मान्छन् । त्यसलाई समूहका अधिन, समूहको हित र सार्वजनिक पहुँचको विषय बनाउन र सबैको आर्थिक साँस्कृतिक उत्थान हुनेतिर लैजानुपर्ने उनको भनाइ छ । विशिष्ट विज्ञलाई लगाएर पोखराको समग्र गुरुयोजना बनाउन सके पोखराको भविष्य सुन्दर बनाउन सकिने सुवेदीको भनाइ छ ।

‘अञ्चलाधीश बनेर आएका शंकरराज पाठक र उनलाई सहयोग गर्ने इन्जिनियरको परिकल्पनाले अहिलेको पोखरालाई व्यवस्थित गर्न मद्दत पुगेको गाथा हामीले गाउने गरेका छौं,’ झलक भन्छन्, ‘केरलादेखि कलिलो उमेरमा आएका जर्ज जोनले शिक्षामा पुर्‍याएको योगदान पनि बिर्सेका छैनौं, केही मानिसले अहिले गर्ने प्रयसले नै भविष्यमा नतिजा दिने हो । यसको अगुवाई गर्ने अवसर अहिलेका महानगर प्रमुख र उहाँको टिमले हो ।’

(आनन्दराज मुल्मी र झलक सुवेदीको सहयोगमा)

पुराना तस्वीर : सुनिल उलक कलेक्सन (सामाजिक सञ्जाल) 

अन्य तस्वीर  : सरोज अधिकारी/कमल प्रसाइँ/अनलाइनखबर

 

पोखराको पदचाप-१

पोखराको पदचाप-२

पोखराको पदचाप-३

पोखराको पदचाप-४

पोखराको पदचाप-५

पोखराको पदचाप-६

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?