+
+

सिक्किमले चुनेन २५ वर्ष शासन गरेका चाम्लिङलाई

आकर्षक घोषणा पत्रका बाबजुद पाँच पटक सिक्किमको मुख्यमन्त्री भइसकेका पवन चाम्लिङलाई यसपटक जनताले पत्याएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १७:३५

२० जेठ, काठमाडौं । सबैभन्दा बढी कार्यकाल सिक्किमको मुख्यमन्त्री बनेर रेकर्ड बनाएका पवन चाम्लिङ राज्य सभा निर्वाचनमा पराजित भएका छन् ।

सिक्किममा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका चाम्लिङ दुवै क्षेत्रबाट पराजित भएका हुन् । पोकलोक कामराङ र नाम्चेबुङ दुवै निर्वाचन क्षेत्रमा चाम्लिङले हार व्यहोरेका छन् ।

सिक्किम लोकतान्त्रिक मोर्चा (एसडीएफ)का नेतासमेत रहेका चाम्लिङ पोकलोकमा सिक्किम क्रान्तिकारी मोर्चाका भोजराज राईसँग ३ हजार ६३ मतले पराजित भए । नाम्चेबुङमा १९५३ मतले पराजित भएका छन् ।

एसडीएफतर्फ भोट आकर्षित गर्नका लागि एक भोट एक रोजगारी नीति अघि सारे पनि यसप्रति मतदाता आकर्षित भएनन् । सिक्किम राज्य सभाको निर्वाचनका लागि चाम्लिङको दल एसडीएफले ५ लाखसम्मको ऋण मिनाहका कार्यक्रमसमेत ल्याएको थियो ।

आगामी पाँच वर्षका लागि सिक्किमको विकासका लागि २ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा खर्च गर्ने योजना एसडीएफको थियो । सरकारी रोजगारी र राजनीतिमा ५० प्रतिशत महिला आरक्षण लागू गर्ने घोषणा पनि एसडीएफले गरेको थियो ।

सिक्किमको विशेष पहिचान र स्वायत्तताको संरक्षणका लागि प्रादेशिक कानुनको ३७१ एफको सम्बर्द्धन गर्ने प्रतिवद्धता पनि एसडीएफको थियो ।

आकर्षक घोषणा पत्रका बाबजुद पाँच पटक सिक्किमको मुख्यमन्त्री भइसकेका चाम्लिङलाई यसपटक जनताले पत्याएनन् । सिक्किमका जनताले एसकेएमलाई भारी मत दिएका छन् । ३२ सिटको सिक्किम राज्य सभामा एसकेएमले २१ सिटमा जित हात पारिसकेको छ । अन्य स्थानमा पनि अग्रता कायम गरेको छ ।

किन हारे चाम्लिङले ?

मुख्यमन्त्रीका रूपमा चाम्लिङले सिक्किम सुधारका थुप्रै काम गरेका थिए । उनले सिक्किमलाई पूर्ण अर्ग्यानिक राज्य बनाए । यसका लागि खाद्य तथा कृषि संस्थाले विशेष पुरस्कार प्रदान गरेको थियो ।

प्लस टु सम्मको अध्ययन निःशुल्क बनाएसँगै उनकै पालामा सिक्किमको साक्षरता दर ९६.७२ प्रतिशत पुगेको थियो । यस्तै औसत आयु ६२ बाट ७३ वर्ष पुगेको छ ।

सन् १९९४ मा सिक्किमका ४४ प्रतिशत जनता गरिबीको रेखामुनि थिए । चाम्लिङलकै शासनकालमा यो दर ८ प्रतिशतमा झरेको छ ।

चाम्लिङका अनुसार उनलाई सिक्किममा अझै सुधार गरेर सत्ता हस्तान्तरण गर्न मन थियो । ‘मैले सिक्किममा गर्न बाँकी धेरै कुरा थिए । २५ वर्ष शासनमा रहे पनि गर्नुपर्ने जिम्मेवारी अझै थुप्रै छन् । सिक्किमप्रतिको जिम्मेवारी पूरा गरेर बिदा हुने विचार थियो । जनताले अर्कै निर्णय लिएपछि मैले छोड्नैपर्‍यो,’ उनले भनेका छन् ।

‘सिक्किमका लागि मैले अझै केही काम गर्न बाँकी नै थियो । लोकतान्त्रिक विधिबाट जनताले अर्को निर्णय गरे । यसलाइ मैले स्वीकार गर्नैपर्छ । मलाई जनताको निर्णय स्वीकार्य छ,’ उनले भनेका छन् ।

सुधारका बाबजुद उनी विवादमा नपरेका नेता भने होइनन् । हाइड्रोसम्बन्धी विभाग सन् २००४ देखि २००९ सम्म आफू मातहतमा राखेर करोडौँ रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि लागेको थियो । जुन मुद्दा भारतको सर्वोच्च अदालतसम्म पुगेको थियो ।

अदालतले सीबीआईलाई अनुसन्धान गर्ने आदेश दिएपछि चाम्लिङमाथि प्रभावकारी अनुसन्धान हुन सकेन ।

उनीमाथि जातीय राजनीति गरेको आरोपसमेत लागेको थियो । गाई काट्न निषेध गरेपछि उनीमाथीको जातीय आरोप केही मत्थर भए पनि भाजपा र आरएसएसको स्वार्थअनुसार चल्न थालेको आरोप लाग्यो ।

यसपटक सिक्किमका जनताले चाम्लिङलाई विश्राम लिन सुझाइसकेका छन् । उनले अब जनताले भनेको मान्छन् वा पार्टीको विरासत फर्काउन नयाँ ढंगबाट अघि बढ्छन् प्रतिक्षाको विषय बनेको छ ।

सन् २०१७ मा सिक्किमको राज्य सभाले गौहत्या निषेधको कानुन पारित गर्‍यो । ‘हाम्रो राज्यमा गाईको मासु सेवन गर्ने जनसङ्ख्या छ । तर सिक्किमलाई अर्ग्यानिक राज्य बनाउनका निम्ति गाईको संख्या बढाउनु जरुरी थियो । त्यसैले गाई काट्न निषेध गर्ने कानुन पारित गरिएको हो । यसलाई जातीय वा कसैको इसारामा गरिएको कामका रूपमा हेर्न जरुरी छैन,’ उनले भनेका थिए ।

आलोचना र प्रशंसा दुवै व्यहोरेका चाम्लिङले पछिल्लो समयमा आफूले जनताका एजेन्डा सदनमा राख्न नपाउँदा निकै कठिनाइ भएको बताएका थिए । राजनीतिमार्फत लामो समय सेवा गरे पनि जनताको थलोमा उनीहरूको आवाज आफूले राख्न नपाएको गुनासो चाम्लिङको थियो ।

सन् २०१९ को चुनावमा चाम्लिङको एसडीएफले १५ सिट जितेको थियो । त्यसमध्ये १० सांसद भाजपातर्फ गएका थिए भने ४ जना एसडीएफबाट असन्तुष्टि जनाउँदै बाहिरिएर छुट्टै दल गठन गरेका प्रेम सिंह तामाङसँग मिसिन पुगे ।

सिक्किमको राज्य सभामा चाम्लिङ मात्रै एकल प्रतिपक्षी बने । राजनीतिमा लामो समय खटेका चाम्लिङको राजनीतिक मोड त्यसपछि परिवर्तन भएको उनले स्वीकार गरेका छन् ।

त्यसपछि चाम्लिङ जनताको काममा भन्दा बढी साहित्यतर्फ केन्द्रित हुन थाले । द वायरसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘कुनै समय म दैनिक सय जनाभन्दा बढी मानिस भेट्थेँ । मे २०१९ पछि मेरो राजनीतिक जीवन नै परिवर्तन भयो । म भेटघाटमा भन्दा साहित्यिक लेखनमा क्रियाशील हुन पुगेँ । ’

एसकेएमको शासनकालमा राज्य सभाको प्रतिपक्षीको हैसियतमा जनताका आवाज बोल्ने दायित्व भए पनि त्यसलाई रोक लगाइएको चाम्लिङले बताएका छन् ।

जनताका आवाज सदनमार्फत राख्न नपाउँदा आफ्नो छवि फेरिँदै गएको अनुभव उनले वायरसँग साटेका छन् । ‘लोकतान्त्रिक प्रक्रियामा प्रतिपक्षी सत्तालाई सचेत गराउने पात्र हो । तर एसकेएमले प्रतिपक्षीलाई शत्रुझैँ व्यवहार गर्‍यो । मैले जनताका समस्या राज्य सभामा राख्न पाइनँ । जनताका कुरा राख्न नपाएपछि मेरो छवि नै परिवर्तन भयो । यति मात्रै होइन एसकेएमले मेरो सुरक्षामा चुनौती दिने कामसमेत गर्‍यो ।’

चुनावताका एसडीएफका नेता चाम्लिङले एसकेएमलाई गैरलोकतान्त्रिक चरित्रको आरोप लगाएझैँ एसकेएमले पनि चाम्लिङलाई उस्तै आरोप लगाएको थियो ।

सिक्किमको विकासका अवरोधक चाम्लिङ रहेको भन्दै एसकेएमका नेता तामाङले प्रचार गर्थे । ‘२५ वर्ष सिक्किममा चाम्लिङको तानाशाही शासन चल्यो । उनले सिक्किमको अर्थतन्त्र धरासायी बनाए । यसको सुधारका रूपमा हामी आएका छौँ,’ तामाङले भन्ने गर्थे ।

आफूले रामराज्य खडा गर्ने चुनावी अभियानमा तामाङको भाषण हुन्थ्यो । तामाङले आफ्नो पहिलो शासनकालमा करारको रोजगारीलाई व्यवस्थित गर्ने सुरुवात गरेका थिए ।

पहिलो कार्यकालमा राज्यको आर्थिक सुधारमा केन्द्रित भएको र अब त्यसको आर्जन जनताको सेवामा लगाउने तामाङले बताएका छन् । ‘राजस्व संकलन ५७ प्रतिशतले वृद्धि भएको छ । राज्यको आम्दानी बढाउने मात्रै होइन त्यसलाई जनताको हितमा पनि खर्च गर्न हामी तत्पर छौँ । पहिले हामीले राज्यलाई सबल बनायौँ अब जनतालाई सबल बनाउने छौँ,’ उनले चुनावी अभियानका क्रममा भनेका थिए ।

तामाङ लिम्बुजस्ता अल्पसंख्यकलाई आरक्षणका लागि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गरेका थिए । यसका निम्ति चाम्लिङले कहिल्यै पहल नगरेको आरोप तामाङले लगाउँदै आएका छन् ।

यसपटक सिक्किमका जनताले चाम्लिङलाई विश्राम लिन सुझाइसकेका छन् । उनले अब जनताले भनेको मान्छन् वा पार्टीको विरासत फर्काउन नयाँ ढंगबाट अघि बढ्छन् प्रतिक्षाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?