+
+

एसपी बढुवामा बार्गेनिङको गम्भीर आरोप

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ २० गते १९:०८

२० जेठ, काठमाडौं । नेपाल प्रहरीको माथिल्लो तहमा हुने अधिकांश बढुवामा प्रश्न उठ्ने गर्छ । बढुवा हुनेहरु खुसी हुने, छुट्नेहरु असन्तुष्ट हुने स्वभाविक हो । तर बेलाबेला बढुवामा चलखेलको आरोप लाग्दा विवादित हुने गरेको छ ।

२०७१ सालमा तत्कालीन प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले बुढवाका लागि डीआईजीहरु ब्रिफबेस बोकेर शक्ति केन्द्र धाउने गरेको’ अभिव्यक्ति दिएपछि विवादित भएका थिए ।

यो पटक पनि प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा बार्गेनिङको आरोप लागेको छ ।

गृह मन्त्रायका सचिव एकनारायण अर्याल अध्यक्ष रहेको बढुवा सिफारिस समितिले १८ जेठमा चार एसपीलाई नेपाल प्रहरीमा रिक्त एसएसपीमा बढुवा सिफारिस गर्‍यो । पहिलो नम्बरबाट क्रमशः एसपी श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई बढुवा सिफारिस गरिएको थियो ।

तर बढुवाका एक प्रतिस्पर्धीले गृह मन्त्रालयका अधिकारीहरुमाथि ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन् । बढुवाको सूची निस्केपछि छुटेका एसपी गोविन्द अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘गृहबाट बढुवा लिस्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिस सूचीमा एसपी अधिकारीको नाम थियो । तर बढुवा गर्ने बेलामा उनको नाम काट्यो । वरियतामा आफूभन्दा पछाडि रहेकाहरु बढुवा सिफारिस गरेको, तर कारबाही नै नभोगेको व्यक्तिलाई छुटाइएको आरोप एसपी अधिकारीको छ ।

एसएसपी बढुवाका लागि राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएर आएका दुई जना, २०५६ मा इन्सपेक्टरमा भर्ना भएको ब्याचका सात जना मुख्य प्रतिस्पर्धामा थिए । २०५८ ब्याचका एसपीहरु पनि बढुवाको लबिङमा थिए ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी विमल बस्नेत पहिलो नम्बरमा थिए । तर २०७७ कर्णाली प्रदेशको ट्राफिक प्रमुख रहेका बेला मातहतका टोलीबाट रकम असुलेको आरोप लागेर निलम्बनमै परेका उनी बढुवामा पर्ने सम्भावना न्यून थियो ।

२०५५ मा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी श्यामकृष्ण अधिकारी भने एसएसपी बढुवा सिफारिसमा परेका छन् ।

२०७८ भदौमा बाँकेको एसपी रहेका बेला नेपालगञ्जको मोजाङ मिनी क्यासिनोका एजेन्टसँग मदिरा र मोबाइल उपहार लिएर विवादमा परेका थिए तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएपछि बल्ल मदिरा र मोबाइल फिर्ता गरेका थिए । अधिकारी बढुवा सिफारिसमा पहिलो नम्बरमा परे ।

२०५८ को ब्याचका ७ जना नै बढुवा सिफारिसमा परेनन् । गृह सचिव नेतृत्वको समितिले २०५६ को टोलीबाट तीन जना बढुवाका लागि सिफारिस गरेको छ ।

२०५६ को टोलीबाट क्रमशः हिराबहादुर पाण्डे, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, विनोद सिलवाल र भीमबहादुर दाहाल प्रतिस्पर्धामा थिए ।

सिराहाको एसपी रहेको बेला कारबाहीमा परेका कारण एसपी पाण्डे बढुवा सिफारिसमा पर्ने सम्भावना कम थियो । २०७९ पुसमा मदिरा सेवन गरेर कांग्रेसका सिराहाका नेतालाई आक्रमण गर्छु भनेका कारण उनको जिम्मेवारी खोसिएको थियो ।

त्यसपछि क्रमशः नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी बढुवा सिफारिस गरे, अधिकारी भने छुटे । कृष्ण प्रसाईं, विनोद सिलवाललाई छाडेर २०५६ ब्याचको अन्तिममा रहेका दाहाललाई एसएसपी बुढवाका लागि सिफारिस गरिएको छ ।

जबकी उनीविरुद्ध सवारी ज्यानको मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन नै छ । प्रदेश प्रहरी कार्यालय धरान रहेका बेला २०८० मंसिरमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडीको ठक्करबाट मे १० प १६६९ नम्बरको मोटरसाइकलका चालक अनिल मडीको मृत्यु भएको थियो ।

त्यसबेला जिप्रका झापाले एसपी दाहाललाई हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो । अदालतबाट उनी तारेखमा छुटे, तर मुद्दा विचाराधीन नै छ ।

दुई महिनामै कसरी फेरियो क्षेत्री कासमू ?

चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेकै दिन चार डीएसपीको एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सिफारिस सूचीमा क्रमशः प्रदीप क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन् ।
एसपी क्षेत्री १४ चैतको बढुवामा भने छुटेका थिए ।

८ डीएसपी बढुवाका लागि प्रतिस्पर्धी रहेकामध्ये पहिलो नम्बरमा रहेपनि कार्यसम्पादन मुल्यांकन (कासमू) मा कम अंक भनेर उनलाई छुटाइएको थियो ।

२ महिनापछि भने उनै क्षेत्रीको अंक बढी देखाइएको छ । १४ चैतको बढुवामा आठौं नम्बरमा रहेका विनोद घिमिरेको ९१.२८३३ अंक थियो, जो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् ।

अहिले क्षेत्रीको नम्बर उनको भन्दा बढी अर्थात ९१.५३८३६ राखेर बढुवा सिफारिस गरिएको छ । जबकी यो दुई महिनाको अवधिमा कासमू हेरफेर भएको छैन ।

यसले दुई महिना अगाडि भएको बढुवामाथि प्रश्न उठेको पूर्वएसपी रवीन्द्र रेग्मी बताउँछन् । लामो समय प्रहरीको कर्मचारी प्रशासन शाखामा काम गरेका उनी भन्छन्, ‘अहिले देखिएको अंकअनुसार २ महिना अगाडि घिमिरेको साटो क्षेत्री बढुवा हुनुपर्ने हो, तर त्यसो नभएकाले त्यो बढुवा पारदर्शी छैन भन्ने पुष्टि हुन्छ ।’

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?