+
+

पार्टीभित्र दबाबमा माधव नेपाल

पार्टीको सचिवालय, स्थायी समिति र पोलिटब्यूरो हुँदै केन्द्रीय समितिसम्म पुग्दा माधव नेपालको प्रस्ताव अस्वीकृत भएर केन्द्रीय सदस्य पनि तलबाटै निर्वाचित हुनुपर्ने प्रस्ताव अघि बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते २०:०८

२० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले ‘सहमति’ शब्दलाई जोड दिएका छन् ।

पार्टी अध्यक्ष माधव नेपालले सुरु गरेको सहमति शब्द त्यसपछि बोलेका पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि जोड दिएर उच्चारण गरे ।

अध्यक्ष नेपालले घोषणा भइसकेको महाधिवेशन समयमा नै सम्पन्न हुनेछ भन्ने कुराको सुनिश्चितता दिलाउन पत्रकार सम्मेलन आयोजना गरिएको भनेर स्पष्टीकरण दिएका थिए ।

‘महाधिवेशन समयमा गर्न गइरहेका छौं भन्ने सन्देश दिन यो पत्रकार सम्मेलन गर्न गइरहेका छौं’, अध्यक्ष नेपालले भने, ‘हामी यो सहमतिको महाधिवेशन गर्न गइरहेका छौं । नेपालको राजनीतिमा हाम्रो पार्टीले जुन निर्वाह गरिरहेको भूमिकालाई सशक्त बनाउन चाहन्छौं ।’

अध्यक्ष नेपालसँगै सम्मानित नेता खनाल र महासचिव भुसालले पनि १० औं राष्ट्रिय महाधिवेशन घोषणा भएकै समयमा सम्पन्न हुन्छ भनेर विश्वस्त तुल्याउन खोज्नु पार्टीपंक्तिमा व्याप्त दुविधालाई चिर्नु नै थियो ।

यसअघि गत वर्षको माघ दोस्रो साताका लागि तोकिएको महाधिवेशन यो वर्षको जेठमा गर्ने गरी सारिएको थियो ।

उपनिर्वाचन लगायत कारण सम्पन्न गर्न नसक्ने भन्दै जेठबाट असार तेस्रो साताका लागि सारिएको छ । महाधिवेशनकै लागि एकीकृत समाजवादीले चारवटा दस्तावेज तयार पारेर स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिबाट समेत पारित गरिसकेको छ । तर पनि समयमै महाधिवेशन सम्पन्न हुनेमा पार्टीपंक्ति विश्वस्त हुन सकेको छैन ।

जबकी महाविधेशन पछिको नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच नलुक्ने गरी तयारी चलिरहेको छ । खनाल र नेपालबीच पार्टी नेतृत्वको विषयमा मात्रै होइन, सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा पनि उत्तिकै विवाद देखिएको थियो । जसका कारण कहिले सत्ता समीकरणमा कतापट्टी रहने भन्नेमा र कहिले जारी भइसकेको ‘अन्तर पार्टी निर्देशन’ लाई निष्क्रिय गर्नुपर्ने अवस्था एकीकृत समाजवादीमा देखा परेको थियो ।

अहिले पनि नेपाल र खनाल पक्षबीच सत्ता समीकरणका विषयमा एकमत देखिँदैन । नेपाल वर्तमान सत्ता गठबन्धनसँग नजिक भएर पनि विपक्षीसँग छलफलमा छन् । अर्कातिर खनाल एमाले र माओवादीको गठबन्धनसँग नै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

१७ जेठमा अध्यक्ष नेपाल विपक्षी गठनबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेपछि पार्टीभित्रको असहमति थप सतहमा आयो । त्यसको भोलिपल्टै नेता खनाल भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगे । जबकी खनालले अघिल्लो दिन नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुको कारणबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका थिए ।

सत्ता गठबन्धनमा नै रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको केही समय नबित्दै दुई नेता दुईतिर दौडिएपछि एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने चर्चा चलिरहेको छ । सरकारले संसदमा पेश गरिसकेको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएपछि बजेट अधिवेशन सकिएलगत्तै अध्यादेश ल्याएर पार्टी विभाजनको वातावरण बन्नसक्ने आशंकामा अध्यक्ष नेपाल छन् ।

जसका कारण दबाबमा आएका नेपालले आइतबारको पत्रकार सम्मेलन आयोजना गरेरै सहमतिको महाधिवेशन हुन लागेको भन्दै आफ्ना कदमको एकपछि अर्को बचाउ गरे ।

नेपालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेश प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताए ।

यद्यपि उनले मधेशमा जसपा विभाजनपछि समस्या आएको भन्दै आफूहरू अहिलेसम्म पहिलाको सहमति अनुसार नै सरकारमा रहेको बताए । ‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्’, अध्यक्ष नेपालले भने, ‘अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु । तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’

देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रधानमन्त्रीले भन्नुभयो’, नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालको भनाइ छ ।

जबजबाट ब्याक

नेपाल र खनालबीच पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्नेमा पनि सुरुदेखि नै विवाद थियो । नेपालले गत माघमा आयोजित पार्टीको केन्द्रीय समिति बैठक र त्यसपछि विभिन्न सार्वजनिक मञ्चबाटै ‘जबजको उपादेयता अझै बाँकी रहेकोले त्याग्न नसकिने’ भन्दै ‘जबज समाप्त पार्न खोज्ने विचारलाई किमार्थ ठीक भन्न नसकिने’ बताएका थिए ।

तर पार्टीको १०औ महाधिवेशनका लागि नेपाल स्वयंले तयार पारेको राजनीतिक प्रतिवेदनमा जबजको खुलेरै आलोचना गरेका छन् भने त्यसको सट्टामा ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ भनेर ल्याएका छन् ।

एमालेलाई दक्षिणपन्थी बिसर्जनवादी गुटको संज्ञा दिएका अध्यक्ष नेपालले एकीकृत समाजवादी र एमालेबीचको भिन्नता भनेकै कार्यदिशामा रहेको उल्लेख गरेका छन् । ‘हामीले मार्क्सवाद –लेनिनवादलाई मात्र पार्टीको मार्गदर्शक सिघद्धान्त मान्छौं भने एमालेले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद –लेनिनवाद र जनताको बहुदलीय जनवाद हो भन्छ’, नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेसँगको भिन्नता देखाउन दिएको उदाहरणमा उल्लेख छ ।

आइतबारको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नै यो सर्वसम्मतिबाट अगाडि सारिएको दस्तावेज भनेर समेत स्पष्टीकरण दिए । ‘हामीले चारवटा दस्तावेज प्रस्तुत गरिरहेका छौं– राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम, संगठनात्मक प्रस्ताव र विधान’, उनले अगाडि भने, ‘त्यसका लागि हामीले २७ सदस्यीय मस्यौदा समिति बनाएका थियौं । पार्टीको केन्द्रीय समितिबाट समेत सुझाव आए र सर्वसम्मतिबाट दस्तावेज अगाडि सारिरहेका छौं ।’

महाधिवेशनकै सन्दर्भमा नेपालले राखेका अन्य प्रस्तावहरू अस्वीकृत भएका छन् । अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुने प्रस्ताव राखेका थिए ।

जबकी खनाल पक्षले केन्द्रीय सदस्य पनि तलका कमिटीबाट निर्वाचित भएर आएपछि मात्रै प्रतिनिधि हुन पाउने प्रावधान राख्नु पर्ने पक्षमा उभिए । अन्ततः पार्टीको सचिवालय, स्थायी समिति र पोलिटब्यूरो हुँदै केन्द्रीय समितिसम्म पुग्दा नेपालको प्रस्ताव अस्वीकृत भएर केन्द्रीय सदस्य पनि तलैबाट निर्वाचित हुनुपर्ने प्रस्ताव अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?