२१ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पाँचौ चरण सम्मको खेल पूरा भएको छ।
काठमाडौंको होटल ले हिमालयमा सम्पन्न पाँचौं चरणको खेलमा झापाका राजन सुवेदीले अपराजित रहेका पुरुषोत्तम सिलवाललाई हराए ।
सुवेदीले दोस्रो चरणमा सुश्रुत दाहालबाट पराजय ब्यहोरेका थिए भने बाँकी चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेका छन् । लयमा रहेका सुवेदीले पुरुषोत्तम सहित सुरोज महर्जन, राजीव कार्की र क्षितिज भण्डारीलाई हराउदै चार अंक जोडेका छन्।
यता एक खेल अगावै चार अंक जोडेका पुरुषोत्तम सिलवाल हारका बाबजुद राजन सुवेदी संगसंगै ४/४ अंक जोडेर संयुक्त शीर्षता कायम गरेका छन्।
नयाँ नेपाल च्याम्पियन बन्ने होडमा तीन खेलाडी एआईएम शुश्रुत दाहाल, एफएम क्षितिज भण्डारी र प्रकाशचन्द्र नेपाल ३/३ अंक हासिल गर्दै संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्। १९६१ रेटेड सुश्रुतले दुई जित दुई बराबर, २०८५ रेटेड क्षितिजले तिन जित र १९५१ रेटेड प्रकाशले दुई जित दुई बराबरी खेलेका छन्।
सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडमा छनौट हुन प्रतिस्पर्धा गरिरहेका सुशील चौधरी र राजीव कार्कीद्वयले दुई जित एक बराबर खेल मार्फत साढे २ अंक बनाएका छन्।
काठमाडौंका सीएम मिलन लामा २ अंक, ललितपुरका सुरोज महर्जन र रौतहटका रुपेश जैसवाल समान साढे १ अंक र काठमाडौंका सीएम केशव श्रेष्ठ, प्रेमकृष्ण महर्जन एकएक अंकमा सिमित भएका छन्।
महिलातर्फ पूजा भण्डारी र शान्ति धिमाल अगाडि
नवौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पाँचौं चरणको खेल सकिँदा कास्कीका पूजा भण्डारी र मोरङका शान्ति धिमाल नयाँ वुमन नेपाल च्याम्पियन बन्ने होडमा कडा प्रतिस्पर्धामा छन्। पूजा र शान्तिले सबै खेलमा शत प्रतिशत जित निकाली ५ मा ५ अंक जोडिसकेका छन्।
१२ जना शीर्ष महिला राष्ट्रिय खेलाडीहरु बीच ११ चरणको राउण्ड रोविन खेलमध्ये पाँचौ चरण समाप्त हुँदा काठमाडौंका यू-१६ च्याम्पियन रिया श्रेष्ठ र काठमाडौं कै पूर्व नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी समान चार ४ अंक हासिल गर्दै संयुक्त दोस्रो स्थानमा यथावत रहेका छन् ।
चार जना खेलाडी छनौट हुने हंगेरी ४५ औं चेस ओलम्पियाडको टिकट काट्न घम्साघम्सि गरिरहेका काठमाडौं जिल्लाका बिनिता कपाली, सुशीला गुरुङ र झापाका कृतिसरा अधिकारी समान तिन तिन जित प्राप्त गर्दै ३/३ अंक जोड्न सफल भएका छन्। त्यस्तै पुनम प्रसाईं २ अंकमा छन् भने भक्तपुर जिल्लाका श्रेषा दुवाल, सबिना गुज: र प्रश्ना किबानायो १/१ अंक बनाएर पुछारमा खेलिरहेका छन्।
प्रतिक्रिया 4