+
+

‘फरार’ हुँदा चितवनमा जग्गा कारोबार गर्दै थिए सीबी लामा

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ २१ गते २०:२६

२१ जेठ, काठमाडौं । दुई वटा सहकारीको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप लागेका सीबी (चन्द्रबहादुर) लामालाई तीन महिनाको लामो प्रयासपछि प्रहरीले आइतबार पक्राउ गर्‍यो ।

प्राविधिक पक्षको अनुसन्धानपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान चितवनबाट लामा पक्राउ गर्‍यो । उनीमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिम्भ लिमिटेडको ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । यद्यपि लामाले आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

काभ्रेको तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए । तर २० फागुन २०८० मा सहकारीको रकम अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए ।

फरार भएको तीन महिनापछि प्रहरीले उनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरी वृत्त नयाँ बानेश्वरका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको खोजी गरेका थिए ।

पक्राउ पुर्जी जारी भएपछि काठमाडौं छाडेका लामा सुरुमा धादिङको राजमार्ग क्षेत्रका होटलहरुमा बसेको अनुसन्धानबाट खुलेको छ । अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने, ‘धादिङ सदरमुकामतिर लामाको मुभमेन्ट देखिँदैन । उनी हाइवेका होटलहरुमा बसेको देखिन्छ । त्रिशुली पारी उनी गएकै देखिएन ।’

करिब १०-१२ दिनसम्म उनी धादिङमा पृथ्वी राजमार्ग छेउछाउका नौबिसे, गजुरीलगायतका ठाउँहरुमा बसेको देखिएको छ । त्यसपछि उनी चितवन गएर बसेको खुलेको छ ।

जब प्रहरीले गर्‍यो सीम लोकेट

पक्राउ पुर्जी जारी भएपछि लामाले पहिला बोक्दै आएका सीमकार्ड तथा मोबाइलहरु प्रयोग गरेनन् । लामाले हालसालै प्रयोग गर्ने सीमकार्ड प्रहरीले पत्ता लगाएपछि उनी पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनले एकसाथ ६ वटा सीमकार्ड प्रयोग गर्ने गरेको खुलेको छ ।

सामसुङ कम्पनीका २, नोकिया कम्पनीको १ र एसीई कम्पनीको १ थान गरी चार थान मोबाइल उनीबाट बरामद भएको थियो । चार थान मोबाइलमा प्रयोग भएका ४ वटा सीम र मोबाइलको कभरमा राखिएका २ थान सीम गरी ६ थान सीम उनीबाट बरामद भएको थियो ।

‘लामाले पछिल्लो समय प्रयोग गर्दै आएको मोबाइल नम्बर पत्ता लगाएपछि हामीले लोकेट गरेर पक्रेका हौं’ एक अनुसन्धान अधिकृतले भने, ‘लोकेसन हेर्दा उनी सुरुमा धादिङको हाई–वेका होटलहरुमा बस्ने गरेको देखिएको थियो ।’ पक्राउ परेका लामाले समेत प्रहरी समक्ष यो विषय स्वीकार गरेका छन् ।

प्रहरीले पत्ता नलगाओस् भनेर उनले व्यक्ति अनुसार फरक–फरक सीमकार्डहरुको प्रयोग गर्ने गरेको समेत खुलेको छ । फोन सम्पर्क गरेपछि लामाले मोबाइल समेत अफ गर्ने गरेका थिए ।

चितवनमा बने जग्गा कारोबारी

धादिङबाट चितवन पुगेपछि उनले दुई पटक कोठा सरेर बसेको अनुसन्धानबाट खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

प्रहरीले पक्राउ गर्ने बेलामा उनी भरतपुर विमानस्थलबाट दक्षिणतर्फ भाडामा लिएको फ्ल्याटमा बस्दै आएका थिए । शुक्रबार बिहान भाडाको फ्ल्याटबाट निस्किँदै गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी मासिक १५ हजार रुपैयाँ तिरेर भाडामा बस्दै आएका थिए ।

भरतपुरमा रहँदा उनी कहिले मोटरसाइकलमा र कहिले स्कुटरमा हिँड्थे । प्रहरीले पक्राउ गर्ने बेलामा भने उनी मोटरसाइकलमा निस्कने तयारीमा थिए । मोटरसाइकल र स्कुटर भने साथीको प्रयोग गर्दै आएको खुलेको छ । लामा बिहानै निस्कने र बेलुका मात्रै कोठामा आउने गरेका थिए ।

भरतपुरमा उनले जग्गाको कारोबार गर्न थालेको समेत खुलेको छ । एक अनुसन्धान अधिकृतका अनुसार लामाले भरतपुरकै डिलमाया तामाङको नाममा डिम्बा होल्डिङ प्रालि नामको रियल स्टेट कम्पनी खोलेर घरजग्गाको कारोबार गर्दै आएको खुलेको छ । कारोबारका लागि बैंङ्क खाता समेत डिलमायाको प्रयोग गरेको देखिएको ती अधिकारीले अनलाइनखबरलाई बताए । डिलमाया भने सीबीको आफन्त नभई चिनेजानेका व्यक्ति मात्रै हुन् ।

जग्गा सम्बन्धी काम गर्दा नै डिलमायासँग चिनजान भएपछि मिलेर काम गरौं भन्दै डिलमायालाई विश्वासमा पारेर उनले काम गर्न थालेको अनुसन्धानबाट खुलेको छ ।

तर लामाले भने प्रहरी समक्ष भरतपुरको घरजग्गा कारोबार आफ्नै विगत १० वर्षदेखिको व्यवसाय भएको दाबी गरेका छन् । ‘घरजग्गा कारोबारमार्फत सहकारी पीडितहरुको रकम फिर्ताको प्रयास गर्दै थिएँ’, लामाले प्रहरी समक्ष बयानमा भनेका छन् ।

अदालतमा पेश

कान्तिपुर सहकारी ठगी प्रकरणको मुद्दा यसअघि नै अदालत पुगिसकेकाले लामालाई प्रहरी वृत्त नयाँ बानेश्वरले म्याद थप नगरी बयानका लागि अदालत पेश गरेको थियो । तर सोमबार नभ्याउन भन्दै फिर्ता पठाइदिएको वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए ।

यसअघि कान्तिपुर सहकारीको मुद्दामा पक्राउ परेर हालका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए ।

पक्राउ परेका लामाविरुद्ध अब अदालतमा बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि कारागार चलान हुने आदेश आउने छ ।

लामासहितका व्यक्तिले सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप छ । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयरपूँजी करिब ४० करोड छ ।

कान्तिपुरले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋण मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

कान्तिपुर सहकारीमा सीबी २४ वर्षसम्म अध्यक्ष थिए । काभ्रेको धुलिखेल र पनौती, भक्तपुर साँगा, काठमाडौं फर्पिङ, मकवानपुर चित्लाङ, मोरङ कानेपोखरी, खोटाङ हलेसी लगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको थियो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?