+
+
शीर्ष सहमति :

संघमा मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकारलाई पूर्णता

माओवादीले पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई छाड्ने छ भने एमालेले जनमत पार्टीका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खाली गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते २२:१२

२१ जेठ, काठमाडौं । सत्ता साझेदार शीर्ष नेताहरुबीच संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने र प्रदेश सरकारलाई पूर्णता दिने सहमति जुटेको छ ।

सोमबार भएको शीर्ष नेताहरुको भेटवार्ताबाट संघको मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारहरुलाई पूर्णता दिने सहमति जुटेको हो । सहमति जुटाउन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वान अन वान र सामूहिक भेट गरेका थिए ।

अन्ततः तीनै जना सँगै बसेर अहिलेकै सत्ता समीकरणलाई बलियो बनाएर जान संघ र प्रदेशहरुको सरकारबारे सहमति जुटेको स्रोतले जनायो । प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिएपछि आफू नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन गर्ने र प्रदेश सरकारहरुलाई पूर्णता दिने गृहकार्य थालेका थिए ।

किनकि चौथोपटक विश्वासको मत लिँदा सत्ता समीकरणमै केही परिवर्तन आएको थियो । फेरिएको सत्ता समीकरण जोगाइरहन प्रधानमन्त्री प्रचण्डलाई जनमत, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जसपा नेपाल फुटाएर अशोक राईले बनाएको जसपालाई सरकारमा ल्याउनुपर्ने थियो ।

उपेन्द्र यादवले सरकार छोडेपछि रिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा अशोक राई नेतृत्वको पार्टीबाट मन्त्रीहरु बनिसकेपनि जनमत र नाउपा सरकारमा बाहिरै छन् । उनीहरुलाई समेत सरकारमा ल्याउन सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच पहिला सहमति जुट्न जरुरी थियो ।

किनकि गत २१ फागुनमा सत्ता समीकरण फेरिएलगत्तै सबै मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका थिए । अर्थात् जनमत र नाउपालाई सरकारमा सहभागी गराउन भएकै मन्त्री पहिले फिर्ता बोलाउनुपर्थ्यो ।

तर नेपाली कांग्रेससहित विपक्षी दलहरुबाट भइरहेको संसद्को गतिरोध हटाएर बजेट ल्याउनुपर्ने दबावमा प्रधानमन्त्री थिए । सहमति जुटाएर बजेट ल्याउन प्रचण्डले लगातार विपक्षी र सत्ता साझेदारहरुबीच छलफल गरेका थिए ।

बजेट आएपछि भने प्रधानमन्त्री प्रचण्डले फेरि सत्ता समीकरण टिकाउन मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारलाई पूर्णता दिनेबारे छलफल थालेका थिए । अन्नतः जनमत र नाउपालाई सरकारमा सहभागी गराउन एमाले र माओवादी केन्द्रबीच सहमति जुटेको एक नेताले बताए ।

उनका अनुसार, एमाले र माओवादीबाट अब एक/एक जना मन्त्री फिर्ता हुनेछन् । माओवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रिक्त गर्ने र उक्त मन्त्रालयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ जाने भएकी छन् । नाउपाभित्रै फरक अडान लिएर प्रचण्डलाई साथ दिइरहेकी श्रेष्ठले पनि उक्त मन्त्रालयमा जान लागेको स्वीकारिन् ।

अर्को एक मन्त्रालय एमालेबाट खाली हुनेछ । एमालेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खाली गर्ने तयारी भएको एमाले स्रोतले जनायो । त्यो मन्त्रालय जनमत पार्टीलाई दिने सहमति जुटेको छ ।

जनमत, नाउपा र अशोक राई नेतृत्वको जसपालाई संघीय मन्त्रिपरिषद्मा सहभागी गराउँदा एकीकृत समाजवादीले भने अहिलेकै मन्त्रालय संख्यामा चित्त बुझाउने छन् । यसअघि अध्यक्ष नेपालले एक मन्त्रालय थप गरिनुपर्ने अडान राख्दै आएका थिए ।

तर सोमबारको छलफलबाट संघसँगै प्रदेश सरकारहरुलाई पनि पूर्णता दिने सहमति जुटेको छ । विशेषगरी एकीकृत समाजवादीसँग सहमति जुटेसँगै प्रदेश सरकारहरुले पूर्णता पाउने भएको हो ।

सोमबारको सहमति अनुसार कोशी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना मन्त्री सरकारमा जानेछन् । कोशीमा एकीकृत समाजवादी सत्ता बाहिर छ ।

मधेशमा एकीकृत समाजवादीको दावी बमोजिम दुई वटै मन्त्रालय छोड्न ओली–प्रचण्ड सहमत भएका छन् । त्यहाँ जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् । तर एकीकृत समाजवादी अझै सरकारमै छ र, उसले साथ नदिँदासम्म सरकार बन्न सक्ने अवस्था छैन ।

एकीकृत समाजवादीले मधेशमा नयाँ सरकार बनाउन सघाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी हुने छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । एमाले, माओवादी केन्द्र र नाउपाको एउटा समूह (रञ्जिता निकट) कै समर्थनमा सोडारी मुख्यमन्त्री बनेपनि एमाले सरकारमा सहभागी भएको थिएन ।

माओवादी केन्द्रका एक पदाधिकारी, सोमबार शीर्ष नेताहरुबीच जुटेको सहमतिले सत्ता समीकरणमा देखिएको समस्या तत्काललाई हल भएको बताउँछन् । ‘बजेट पारित गर्ने निर्णय भइसकेको छ । संघ र प्रदेश सरकारले पनि पूर्णता पाउने सहमति जुट्यो’ ती पदाधिकारी भन्छन्, ‘अब सरकारबारे लिएर चिन्ता गर्नु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?