+
+

साढे दुईलाख विरुवा रोप्ने तयारीमा पोखरा महानगर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ८:३५

२२ जेठ, काठमाडौं । पोखरा महानगरपालिका क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने भएको छ । ‘स्वच्छ शहरः हरित सहर’को रूपमा विकास गर्ने उद्देश्यले महानगरले विरुवा रोप्न लागेको हो ।

सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिका लागि महानगरले वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले मेयर धनराज आचार्यलाई मंगलबार प्रतिवेदन बुझाउँदै २ लाख बढी क्षेत्रमा वृक्षारोपण गर्न सकिने बताएको हो ।

प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि.मी सडक तथा राजमार्ग, झन्डै ६९ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका विरुवाहरू लगाइने छ । सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत विरुवाहरू लगाइने छ ।

महानगर क्षेत्रमा २ लाख २६ हजार २६१ विरुवाहरू लगाइनेछ । जस अन्तरगत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ४९० र सडक, नदी तथा खोला किनारमा १ लाख ५२ हजार ७७१ वटा विरुवाहरू लगाउन सकिने कार्यदलका संयोजक डा.भण्डारीले बताउनुभयो । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको कमजोर अवस्था लगायत चुनौतीहरू रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिवेदनमा विरुवा रोप्ने खाडल र विरुवाको आकार, माटो, विरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, विरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाइएको छ ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित स्थानहरुको पहिचान गरिएको मेयर आचार्यले बताए । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै उनले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको बताए ।

रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षारोपण गरिने विरुवाका प्रजातिहरू छनोट गरिएको कार्यदलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?