
काठमाडौँ । मगर संस्कृतिमा आधारित फिल्म ‘शीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । नाइस मिडिया नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्मले मगर समुदायभित्र महिलाले भोग्नुपर्ने सामाजिक आयामको कथा भन्छ ।
आदिवासी जनजाति महिलाले पहिरिने गहनाको नाममा फिल्मको नामाकरण गरिएको छ । झण्डै २ मिनेट लामो ट्रेलरमा विवाह गरेर घरमा गैसकेपछि मगर समुदायकी युवतीले परिवार र संस्कारको नाममा कसरी आफ्ना इच्छा र आकांक्षासँग सम्झौता गर्नुपर्छ भन्ने कथा यसमा छ ।
फिल्मको शीर्ष भूमिकामा विनिता थापा मगर छिन् । गतवर्ष रिलिज भएको उनी अभिनित ‘हल्कारा’ ओस्कार अवार्डमा नेपालबाट सिफारिस भएको थियो । त्यसपछि यो उनको शीर्ष भूमिका रहेको फिल्म हो ।
‘शीरफूल’ गहनालाई विम्वको रुपमा निर्देशकले दर्शाउन खोजेको बुझ्न सकिन्छ । सार्वजनिक ट्रेलरमा सम्बन्धको कथासँगै मगर संस्कृतिका पाटालाई समेत चित्रण गरिएको छ । आधुनिकताले संस्कृतिमा पारेको प्रभावको कथा पनि यसमा समेटिएको छ ।
फिल्ममा रुपा राना, राज थापा, देवराज आले, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लीला गुरुङ, नीता पुन, किरण मगरजस्ता सहायक कलाकारको समेत अभिनय छ । पटकथा राज थापाले लेखेका हुन् ।
आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा फिल्म निर्माण भएको हो ।
प्रतिक्रिया 4