+
+

छिपछिपे मात्र होइन, सनराइज र नमस्ते सहकारीको पैसा पनि सांसदको रिसोर्टमा

बयानका लागि एसपीले फोन गरेर बोलाउँदा गएकी थिइनन् गीता बस्नेत

राप्रपा सांसद गीता बस्नेतका ज्वाइँ नगेन्द्र रिमाल र उनका साथीहरु मिलेर पूर्वी नवलपरासीमा छिपछिपे, चितवनमा सनराइज र बर्दियामा नमस्ते सहकारी खोलेर करोडौं रुपैयाँ अपचलन गरेको खुलेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ जेठ २२ गते १७:००

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत समेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा तीन वटा सहकारीको रकम लगेको खुलेको छ ।

पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको १६ करोड रुपैयाँभन्दा बढी रकमको अपचलनबारे अनुसन्धान गर्दा थप दुई सहकारीको रकम समेत रिसोर्टमा लगेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका डीएसपी वेदराज पौडेलका अनुसार, सहकारी रजिष्ट्रारको कार्यालय, पोखराले दिएको वित्तीय विश्लेषण प्रतिवेदनका आधारमा छिपछिपे सहकारीमाथि अनुसन्धान सुरु भएको थियो ।

वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमा छिपछिपे सहकारीको रकम बर्दियाको कृष्णसार रिसोर्टमा लगानी भएको उल्लेख थियो । जिल्ला अदालत, पूर्वी नवपरासीमा दर्ता अभियोग–पत्रमा सहकारीको ९६ लाख रुपैयाँ रिसोर्टमा लगानी भएको उल्लेख छ ।

सोही अभियोग पत्रमा समावेश प्रतिवादीहरुको बयानमा सांसद बस्नेतको रिसोर्टमा चितवनको सनराइज र बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको रकम पनि लगानी भएको उल्लेख छ ।

रिसोर्टका अर्का सञ्चालक सञ्जीवकुमार महतोका अनुसार, रिसोर्ट स्थापना गर्ने बेला प्रतिव्यक्ति ४५ लाख रुपैयाँको दरले रकम जम्मा गर्ने सहमति भएको थियो । पछि संरचना निर्माण, सजावट, स्वीमिङ पुल व्यवस्थापन लगायतका लागि थप १० करोड रुपैयाँ आवश्यक परेको उनले भनेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा छिपछिपे सहकारीका सचिव तथा कृष्णसार रिसोर्टका सञ्चालक नगेन्द्र रिमाल स्वयंले पनि सांसद बस्नेतको नाम लिएका थिए ।

त्यसक्रममा सांसद बस्नेतका ज्वाइँ नगेन्द्रप्रसाद रिमालसँग कुरा गर्दा उनले आफू व्यवस्थापक र अध्यक्ष रहेको नमस्ते सहकारीबाट रकम ल्याउने प्रस्ताव गरेको उनले खुलाएका छन् ।

रिमाल छिपछिपे सहकारीमा सचिव, नमस्ते र सनराइज सहकारीमा अध्यक्षको भूमिकामा छन् । महतोका अनुसार, रिमालले नमस्ते सहकारीबाट पेश्कीका रुपमा र फर्जी कर्जा बनाएर रकम प्रयोग गर्न सकिन्छ भनेपछि रिसोर्टमा ७ करोड रुपैयाँ लगानी लगिएको थियो ।

‘यो सबै खर्च व्यवस्थापन गर्ने काम रिमाल र गीता बस्नेतकै सल्लाहमा हुने गरेको थियो’ उनले भनेका छन्, ‘रिसोर्टको खातामा सञ्चालकको दस्तखत समेत परिवर्तन गरेर माननीय बस्नेत र रिमालको राखेपछि मलाई अरु कारोबारको विषयमा जानकारी छैन ।’

सनराइज र छिपछिपे सहकारी दुवैमा आवद्ध रिमालका साथी कृष्णप्रसाद ज्ञवालीले पनि प्रहरीसँगको बयानमा सहकारीको रकम सांसद बस्नेतका लागि अपार्टमेन्ट खरिद, रिसोर्ट सञ्चालन र आफूले किनेको केही सामानको भुक्तानी गर्न प्रयोग गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा छिपछिपे सहकारीका सचिव तथा कृष्णसार रिसोर्टका सञ्चालक रिमाल स्वयंले पनि सांसद बस्नेतको नाम लिएका थिए । आफूसहित योगेन्द्र पाण्डे, गीताकुमारी बस्नेत र सञ्जीवकुमार महतोबीच भएको सहमति अनुसार विभिन्न तरिकाले रकमको प्रबन्धक गरेर कृष्णसार रिसोर्ट सञ्चालन गर्ने निर्णय गरिएको उनले भनेका छन् ।

‘२१ कठ्ठा जमिन र रिसोर्टको संरचना तयार गर्ने क्रममा रकमको आवश्यकता भएकाले केही नाफा सहकारीलाई पछि दिने गरी लगानी प्रबन्ध गरिएको हो’, रिमालको स्वीकारोक्ति छ ।

उनले रिसोर्टका सञ्चालकले नाफा कमाउने र सहकारीको रकम फिर्ता गर्ने मनसाय राखेर काम गरेपनि कोरोना महामारी र देशको आर्थिक अवस्था लगायतका कारण रकम फिर्ता गर्न नसकेको दाबी गरेका छन् । सँगै उनले रिसोर्टका सञ्चालकहरुले लगानी झिकेर पेश्की वापत हिनामिना भएको सहकारीको रकम भराइदिने भनेका छन् ।

पूर्वी नवलपरासीमा रहेको छिपछिपे सहकारी र चितवनमा रहेको सनराइज सहकारीको पदाधिकारी एउटै समूह रहेको समेत देखिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका १० प्रतिवादीको बयानपछि सहकारी ठगीमा बस्नेतको संलग्नता थप खुल्दै गएको थियो । त्यहीबेला बस्नेत आफैंले समेत पैसा बुझेको प्रमाण भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

ज्वाइँ नगेन्द्र अध्यक्ष रहेको चितवनको सनराइज सहकारीबाट समेत कम्तीमा ७ करोड रुपैयाँ रिसोर्टमा लगानी गरेको भेटिएको छ । ‘यो विषयमा चितवनबाटै अनुसन्धान होला, नगेन्द्रजी आफैंले सनराइजको ७ करोड रुपैयाँ रिसोर्टमा लगानी भएको भन्नुभएको छ’, पूर्वी नवलपरासी प्रहरीका एक अधिकृतले भने, ‘यद्यपि, १० करोडभन्दा बढी लगानी भएको हाम्रो अनुमान छ ।’

जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी भावेश रिमाल नमस्ते सहकारीका पीडितहरुको दैनिकजसो किटानी जाहेरी आइरहेको बताउँछन् ।

‘अहिले पूर्वी नवलपरासीमा मुद्दा चलिरहेकाले त्यहाँ सकिनेबित्तिकै यहाँ पठाइदिन भनेर पत्राचार गरिसकेका छौं’ उनले अनलाइनखबरसँग भने, ‘यता ल्याएपछि विस्तृतमा अनुसन्धान गर्छौं ।’

पूर्वी नवलपरासीमा रहेको छिपछिपे सहकारी र चितवनमा रहेको सनराइज सहकारीको पदाधिकारी एउटै समूह रहेको समेत देखिएको छ ।

प्रहरीका अनुसार, बस्नेत र उनका ज्वाइँ रिमालको योजनामा सहकारी खोलेर निजी व्यवसायमा लगानी गरेको अनुसन्धानबाट देखिन्छ ।

छिपछिपे सहकारीमा सचिव रहेका बस्नेतका ज्वाइँ नगेन्द्र रिमाल सनराइज सहकारीमा अध्यक्ष छन् । छिपछिपे सहकारीमा अध्यक्ष रहेका योगेन्द्र पाण्डे भने सनराइज सहकारीमा सचिव छन् ।

छिपछिपे सहकारीमा २०७२ देखि २०७९ सम्म सदस्य रहेका ढुण्डीराज गौतम सनराइज सहकारीमा पनि पदाधिकारी छन् । छिपछिपे सहकारीका सदस्य कृष्णप्रसाद ज्ञवाली सनराइज सहकारीमा पनि सदस्य छन् ।

प्रहरी अधिकृतहरुका अनुसार, हालसम्म अधिकांश सहकारी ठगीको छानबिन पदाधिकारी बाहिर गएको छैन । यद्यपि, सहकारीको रकम लगानी भएको कम्पनीमा सञ्चालक भएपछि सांसद् बस्नेतविरुद्ध सोधपुछ र बयान गर्नुपर्ने देखिएको एक अधिकृत बताउँछन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रमुख एसपी नरहरि रेग्मी आफैंले बस्नेतलाई फोन गरेर बयानका लागि आउन आग्रह गरेको तर उनी उपस्थित नभएको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार, प्रहरीले राप्रपाका नेताहरुमार्फत पनि उनलाई आउन पटक पटक आग्रह गरेको थियो ।

‘माननीयजस्तो व्यक्ति भएकाले कानुनी सहयोगी लिएर आफैं आउनुस् र विषयहरुलाई स्पष्ट पारिदिनुस् भनेका थियौं’ एक अनुसन्धान अधिकृतले भने, ‘कारोबार भइसकेको विषय भएकाले प्रमाण नष्ट गर्ने वा उहाँलाई पक्रेर हिरासतमै राखिहाल्नुपर्ने अवस्था थिएन, त्यसैले बोलाएका थियौं ।’

अनुसन्धानका क्रममा सहकारीका पदाधिकारीहरु सुरुमै पक्राउ परिरहेका थिए । ‘माननीयज्यूका ज्वाइँ नगेन्द्र पनि सचिवका हैसियतले सुरुमै पक्राउ पर्नुभयो, त्यसपछि उहाँ अनौठो तरिकाले प्रहरीबाट टाढा हुनुभयो’ ती अधिकृत भन्छन्, ‘यसपछि उनलाई पनि प्रतिवादी बनाउनुपर्ने परिस्थिति बन्दै गयो ।’

सांसद बस्नेतले प्रहरी अनुसन्धानलाई असहयोग गरेपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया थालेर प्रतिनिधिसभालाई समेत जानकारी गराइएको ती अधिकृतले बताए ।

‘अन्तिममा सहकारीको पदाधिकारी नै नभए पनि सहकारीको रकमको उहाँले दुरुपयोग गरेको देखिएपछि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन तयार गर्‍यौं’ उनले भने, ‘प्रतिवेदनका आधारमा अदालतमा मुद्दा पनि दर्ता भएको छ ।’

जिल्ला अदालत पूर्वी नवलपरासीमा यो प्रकरणमा पक्राउ परेका १० जनाको थुनछेक बयान अहिले चलिरहेको छ । फरारको खोजी गरिरहेको प्रहरी बताउँछ ।

बयानपछि अदालतले उनीहरुलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने तीनमध्ये एक आदेश सुनाउनेछ । चितवन र बर्दियामा पनि प्रहरीले यो समूहमाथि सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेकाले आरोपीहरु तत्काल छुट्ने भने छैनन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?