+
+

साढे ६ वर्षपछि मधेशको नेतृत्व गुमाउँदै जसपा

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ जेठ २२ गते २१:४९

२२ जेठ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले सरकार छाडेसंगै मधेशमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) नेतृत्वको सरकार ढल्ने निश्चितजस्तै भएको छ । २०७४ मंसिरको चुनावपछि लगाचार मधेश सरकारमा रहेको जसपा नेपालले मधेश प्रदेशमा बहुमत गुमाएको छ ।

३० वैशाखमा सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो, मंगलबार एकीकृत समाजवादीले पनि फिर्ता लिएको छ ।

मुख्यमन्त्री यादव बुधबार प्रदेशसभबाट विश्वासको मत लिने तयारीमा छन् । तर पूर्वसन्ध्यामा एकीकृत समाजवादी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उनले मधेश प्रदेशसभामा बहुमत पुर्‍याउन नसक्ने निश्चित छ ।

मंगलबार एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा मंगलबार राजिनामा बुझाए । संगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमत्रि सुवेदी भण्डारीलाई बुझाएका छन् ।

मधेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तयार भएको माओवादी केन्द्रका एक सांसदले बताए ।

४ मंसिर २०७९ को चुनावपछि मुख्यमन्त्री चुनिएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए । तर, २३ जेठमा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहितले ७ सांसदले फुटाएपछि कमजोर बन्यो ।

लगत्तै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे ।

केन्द्रमा पाँच सिट मात्र बाँकी रहेको जसपा प्रचण्ड सरकारबाट बाहिरियो । र उसले हरसम्भव मधेशमा रहेको आफ्नो सरकार बचाउन लागिरहे । एकीकृत समाजवादी मधेश सरकारमै यथावत, काँग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आशासहित सरकार बच्नेमा जसपा ढुक्क जस्तै थियो ।

तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाडेपछि विपक्षमा बहुमत पुगेको छ ।

जनमतको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ । अब एकीकृत समाजवादी र अन्य साना दलको साथले जनमत नेतृत्वको सरकार बन्ने पनि करिब तय छ ।

अब बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने श्रम तथा यातायात मन्त्रीबाट राजीनामा दिएकी एकीकृत समाजवादीकी नेतृ बेची लुंगेलीले बताइन् । लोसपालाई समेत समेट्ने ती दलहरुको प्रयास छ ।

अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ । उनी जसपाकै सरकारमा शिक्षा तथा संस्कृति मन्त्री थिए ।

मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारी रहेको निवर्तमान मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले बताए ।

मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले प्रदेशसभाको सामना गर्ने जसपा नेपालका सांसद रामअशिष यादवले बताए ।

‘भोलि मुख्यमन्त्रीजीले विश्वासको मत लिने पूर्व तयारी छ । एकीकृत समाजवादीले सरकार छाड्दै समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीले राजीनामा दिने हाम्रो पार्टीमा अहिलेसम्म कुनै निर्णय भएको छैन’, उनले भने ।

मधेश प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा लालबाबु राउत मुख्यमन्त्री रहे । गठबन्धन फेरबदल र पार्टीको टुटफुट ब्यहोरेपनि मुख्यमन्त्रीबाट लालबाबु हट्नु परेन । त्यस बेला २९ सिटसहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम मधेशको ठूलो पार्टी बनेको थियो ।

२५ सिटको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दोस्रो ठूलो दल थियो । दुई दलबीच एकता भयो र पछि पुनः विभाजन पनि भयो । विभाजन हुँदा उपेन्द्र यादव नेतृत्वको जसपासँग ३९ सांसद थिए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?