+
+

भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते ८:४५

२३ जेठ, काठमाडौं । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ । कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी (सपा)ले ३७ र त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेका छन् । ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी गरेको छ ।

भाजपालाई पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरु हुन् बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड (जदयु)का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडु ।

भाजपाका नेताहरुले यी दुई नेताहरुसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरिसकेका छन् । भारतीय मिडियाहरुका अनुसार उनीहरुसँग ५ जुन (बिहीबार) बैठक बस्ने तय भइसकेको छ ।

टीडीपीसँग १६ र जदयुसँग १२ गरी कुल २८ सिट छ । यो संख्यालाई गठबन्धन सरकार गठनमा निर्णायक मानिएको छ । यदि उनीहरु भाजपा नेतृत्वको एनडीए गठबन्धनमा सामेल नभए सरकार गठनका लागि बहुमत पुग्दैन । किनकी एनडिए गठबन्धनसँग जम्मा २६४ सिट हुन्छ । सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ ।

सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धन विरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए ।

यसैगरी सन् २०२३ मा नितिश कुमारले कांग्रेस सहित सबै विपक्षी दलको बैठक बोलाएर विपक्षी इण्डिया गठबन्धन बनाउन भूमिका खेलेका थिए ।

बिहारमा दशकौंसम्म एनडीए गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेका नितिश कुमारले चुनाव सुरु हुनुभन्दा केही महिना अगाडि मात्रै भाजपासँगको गठबन्धन तोडेका थिए ।

मुख्यमन्त्री बन्न पटक–पटक गठबन्धन तोड्ने र बनाउने गरेको भन्दै धेरैले उनको मजाक उडाएका थिए ।

यसपटकको लोक सभा चुनावमा नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु)ले बिहारमा १२ सिट जितेको छ । भाजपाले पनि समान १२ सिट नै जितेको छ ।

जनता दल युनाइटेडले १४ र भाजपाले १७ उम्मेदवार चुनावी मैदानमा उतारेका थिए । चुनावी नतिजामा भाजपाको तुलनामा जनता दल युनाइटेडको प्रदर्शन राम्रो देखिएको छ । यद्यपि सन् २०१९ सँग तुलना गर्ने हो भने भाजपालाई पाँच र जनता दल युनाइटेडले चार सिट गुमाएका छन् ।

त्यसैले भाजपा बिहारमा नितिश कुमारलाई समर्थन नगरी नहुने स्थितिमा देखिएको छ । तर उनले पटक–पटक गठबन्धन फेर्ने गरेकाले उनलाई शंकाको दृष्टिले भने हेर्ने गरिएको छ ।

नायडुको शानदार कमब्याक

सन् २०१९ मा तीन सिट जितेको तेलगु देशम पार्टी (टीडीपी)ले आन्ध्रप्रदेशमा पछिल्लो पटक १९ सिट जितेर शानदार कमब्याक गरेको छ । यसैगरी विधानसभा निर्वाचनमा पनि टीडीपीले १३५ सिट जितेको छ । यो सफलताको श्रेय चन्द्रबाबु नायडुलाई दिइएको छ ।

सन् १९९० को दशकमा गठबन्धन युगमा एचडी देवेगौडा र इन्दर कुमार गुजराललाई मुख्यमन्त्री बनाउन पनि नायडुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नायडु सबै राजनीतिक दलका लागि असल मित्र सरह रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

उनका छोरा नारा लोकेशले पार्टीका वरिष्ठ नेताहरुसँग एनडीए गठबन्धनमै रहने बताइसकेका छन् । यद्यपि अन्तिम निर्णय भने पार्टी अध्यक्ष नायडुले नै गर्ने छन् ।

यद्यपि नायडुले सामाजिक सन्जाल एक्समा गठबन्धनसँग मिलेर प्रदेश पुनर्निर्माण गर्ने र गौरव कायम राख्ने बताइसकेका छन् ।

भारतमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले पार्टी मुख्यालय परिसरमा विजय सभालाई सम्बोधन गर्दै बिहार र आन्ध्रप्रदेशमा भाजपा गठबन्धनलाई जिताउने श्रेय नितिश कुमार र नायडुलाई जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?