+
+

विश्वासको मत लिनुअघि नै मधेशका मुख्यमन्त्रीलाई हटाउने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:१५

२३ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनु अगाडि नै नयाँ सरकार गठनको आह्वान गर्न विपक्षी दलहरूले प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

आज बिहान कांग्रेस, माओवादी केन्द्र सहितका दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न भनेका हुन् । प्रदेश प्रमुख सुवेदीले भने यस विषयमा परामर्श गरेर निर्णय लिने बताएको भेटमा सहभागी एक नेताले बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् । तर विपक्षी दलहरूले भने मुख्यमन्त्री यादवले विश्वासको मत लिने ३० दिनको म्याद गुजारिसकेको दाबी गर्दै प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आह्वान गर्न अनुरोध गरेका छन् ।

मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य गर्दै आएका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलका नेताहरूले आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री यादवको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल गत वैशाख २३ गते केन्द्रमा विभाजन भएको थियो । त्यसबाट फुटेको अशोककुमार राई नेतृत्वको जसपालाई २४ वैशाखमा निर्वाचन आयोगले मान्यता दिएको थियो । वैशाखको महिना ३१ को भएकाले जेठ २२ राति १२ बजेसम्म ३० दिनको समय मुख्यमन्त्री यादवले गुजारेको विपक्षी गठबन्धनको तर्क छ ।

जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह विश्वासको मत लिनुपर्ने म्याद मुख्यमन्त्रीले गुजारिसकेकाले उनी स्वतः पदमुक्त भएको तर्क गर्दै अब नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने बताउँछन् । ‘गएराति १२ बजे उहाँ पदमुक्त भइसक्नु भयो । तर अहिलेसम्म पदमा रहनु गैरसंवैधानिक हो,’ साह भन्छन्, ‘यो विषयमा प्रदेश प्रमुखले आफ्नो अधिकार र स्वविवेक प्रयोग गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’

जसपा नेपालका प्रदेश सांसद राजुप्रसाद गुप्ता भने पार्टी विभाजनविरुद्ध सर्वोच्चमा परेको रिटमा तत्काल केही नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएकाले पार्टी विभाजन अनुसार नभई एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको दिनको हिसाबले विश्वासको मत लिन लागेको बताए । एमाले र माओवादी केन्द्रले गत वैशाख ३० गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएका थिए ।

केन्द्रमा जसपा नेपाल फुटे पनि मधेश प्रदेशमा भने फुटिसकेको छैन । प्रदेशमा औपचारिक रूपमा पार्टी फुट्न सम्बन्धित दलका सांसदहरूलाई कुन दल रोज्ने भन्ने मौका दिइन्छ । उनीहरूले दल रोजिसकेपछि मात्र विभाजन भएको मानिन्छ । मधेशमा यो प्रक्रिया पूरा हुन बाँकी छ ।

मधेश प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने उल्लेख छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले सभामुखको निर्देशन बमोजिम आफूहरूले सूचना जारी गरेको बताए । ‘बैठकको मिति तोक्ने सभामुखको अधिकारको कुरा हो, उताबाट जे भनेर आयो, हामीले त्यही अनुसार गरेका हौं,’ ठाकुरले अनलाइनखबरसँग भने ।

अधिवक्ता सुदीप कोइराला संविधानमा विश्वासको मत लिने म्याद गुजारेमा मुख्यमन्त्रीको पद के हुने भन्ने स्पष्ट व्यवस्था नभएकाले विपक्षी दलहरूले भनेजस्तो मुख्यमन्त्री पदमुक्त नभइसकेको बताउँछन् । यस्तो अवस्थामा प्रदेश प्रमुखले स्वविवेक प्रयोग गर्नुपर्ने उनको मत छ । ‘३० दिन भित्र विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव पेस नगरे मुख्यमन्त्रीको पद के हुने भन्ने प्रष्ट व्यवस्था संविधानमा छैन । त्यसले यो अवस्थामा प्रदेश प्रमुखले नै स्वविवेक प्रयोग गर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?