+
+

पशुपतिमा धूप–अक्षता गरेर सरकार ढल्दैन : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १५:०९

२३ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार ढल्ने आशंका नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले प्रतिपक्षी दलहरूले सरकार ढल्ने आशंका गरेको भन्दै त्यस्तो आशंका नगर्न आग्रह गरेका हुन् ।

बर्तौला अगाडि बोलेका कांग्रेस महामन्त्री गगन थापाले सरकार स्थिर नहुँदा बजेटमा आएका कार्यक्रमको अपनत्व कसले लिन्छ भन्नेमा संशय रहेको बताएका थिए । बजेटको धेरै विरोध गर्दा निश्चित समयपछि आफैँले बोक्नुपर्ने हो कि भनेर टिप्पणी गरेका थिए ।

‘यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं यति उथलपुथल भएको छ यो संसदमा ६/८ महिनापछि आफैंले काँध हाल्नुपर्ने हो कि फेरि ! आफ्नै बजेट गलपासो हुने हो कि फेरि !’ महामन्त्री थापाले भनेका थिए ।

जवाफमा एमाले प्रमुख सचेतक बर्तौलाले सांसदहरूलाई सैद्धान्तिक रूपमा आफूलाई लागेको विषय राख्न पार्टीले भनेको बताए । सैद्धान्तिक रूपमा राखेका सुझावका आधारमा बजेट नै पास हुँदैन कि, सरकार ढल्छ कि भन्ने आशंका नगर्न आग्रह गरे ।

‘म भन्न चाहन्छु– यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन,’ बर्तौलाले अगाडि थपेका छन्, ‘… माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप–अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ । सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ । त्यहाँसम्म पुग्ने परिस्थिति छैन ।’

वर्तमान सत्ता समीकरण बलियो डोरीबाट बाँधिएको, एउटा विश्वासका साथ अगाडि बढ्ने संकल्प लिएर अगाडि बढिरहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?