+
+

गगन थापाको प्रश्न : बजेटको माईबाप को ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ जेठ २३ गते १५:०९

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले गठबन्धन फेरिरहँदा बजेटको स्वामित्व नै कसैले नलिने अवस्था बनेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिंदै उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेले स्वामित्व नलिने संकेत देखाएको बताए ।

‘यो गठबन्धनको मुख्य घटक नेकपा एमालेका जर्साबहरु, कर्साबहरुले यहाँ आएर के भन्नुभयो भन्ने बारेमा मेरो केही टिप्पणी छैन । तर यसको प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन । यो बजेटसँग हाम्रो रङ मिल्दैन भनिसकेपछाडि यसको स्वामित्व कसले कसरी लिन्छ भन्ने बारेमा धेरै अलमल रहेन’, उनले भने ।

बजेटमा अर्थमन्त्री वर्षमान पुनले गरेका अनुमान मिलेन भने त्यतिबेला एमालेले ठीक थिएन भनेकै थियौं नि भनेर पन्छिने जोखिम रहेको थापाले बताए ।

गत वर्ष कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट उत्कृष्ट रहेको, उत्पादन र रोजगारीलाई ध्यान दिएको टिप्पणी गरेको थापाले स्मरण गरे ।

‘२०८०/०८१ को बजेटको माईबाप कोही नरहेको धेरै पछि आएर मात्र थाहा भयो । तर २०८१/०८२ को बजेटको माइबाप कोही नहुने त सुरुमै थाहा भयो’ थापाले भने ।

बजेटमाथि टिप्पणी गर्न अलमल भएको भन्दै कांग्रेस महामन्त्री थापाले धेरै आलोचना गर्दा पछि आफैंले जिम्मा लिने अवस्था पनि आउन सक्ने भन्दै ब्यंग्य गरे । ‘यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौं भने यति उथलपुथल भएको छ यो संसदमा ६/८ महिनापछि आफैंले काँध हाल्नुपर्ने हो कि फेरि ! आफ्नै बजेट गलपासो हुने हो कि फेरि !’, उनले भने ।

चालु आर्थिक वर्षको बजेट आउँदा कांग्रेस सरकारका थियो, एमाले प्रमुख प्रतिपक्षमा थियो । तर गत फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि कांग्रेस सरकारबाट बाहिरिएको थियो । आउँदो वर्षसम्म फेरि सत्ता समीकरण फेरिन सक्ने आशंका गर्दै थापाले अर्थमन्त्रीलाई सामान्य प्रश्न मात्र सोध्ने बताए ।

अर्थमन्त्रीले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यसको आधार नभेटिएको थापाले बताए । विकास साझेदारहरुले ४ ४.५ प्रतिशत भनिरहेको ठाउँमा ६ प्रतिशत दाबी अस्वाभाविक भएको उनको भनाइ छ ।

राजश्व संकलनको लक्ष्य पनि चुनौतीपूर्ण रहेको भन्दै उनले प्रशासनिक सुधार गरेको आधारमा मात्रै अहिलेको भन्दा १ खर्ब राजस्व संकलन बढ्नेमा आशावादी हुन नसकिने बताए ।

विदेशी सहायता र अनुदानको लक्ष्य पनि हासिल नहुने भन्दै उनले ऋण परिचालनको के योजना छ भन्नेबारे अर्थमन्त्रीको जवाफ मागे ।

पुँजीगत खर्च नहुने समस्याका लागि के कस्ता सुधार हुँदैछन् भनेर पनि उनले प्रश्न गरे । संघीय सरकारले साना आयोजनामा बजेट राखेको, स्थानीय तह र प्रदेशको अनुदान रकम घटाएको भन्दै उनले संघीयताबारे अर्थमन्त्रीको धारणा जान्न मन लागेको बताए ।

विद्युतीय गाडीमा कर बढाउनुको आधार र सरकारी अध्ययन पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको माग छ । नेपालले अबको दश वर्ष के गर्ने भन्ने योजना अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको आग्रह छ ।

यो वर्ष बजेटमा लेखिएको विषय के कार्यन्वयन भए, के कार्यान्वयन भएन भनेर भन्ने अवस्था रहन्छ कि रहँदैन भनेर गम्भीर हुनुपर्ने महामन्त्री थापाले दाेहोर्‍याए । जे ल्याए पनि बहुमतमा पारित गर्ने पद्धति अन्त्य गरेर बजेटमाथि ब्यापक छलफल गर्ने, अध्ययन गर्ने, भएका अध्ययनमाथि छलफल चलाउने र राष्ट्रिय लक्ष्य निर्धारण गर्नुपर्ने उनले बताए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?