+
+

रोजगार मेलाले श्रमिक र रोजगारदाता बीचको खाडल पुर्नेछ : श्रममन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १६:५७

२३ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिक बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् ।

बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरिएको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा्लय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ (सीएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा बुधबारदेखि मेलाको सुरुवात गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताए ।

यसखालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

‘यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,’ उनले भने ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले यस मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए ।

यस मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने उनले बताए ।

लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) भएको छ । मेला २३ र २४ जेठ दुई दिनसम्म चल्नेछ ।

मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सिप, क्षमताका आधारमामाग संकलन गर्न सहयोग पुग्ने बताइएको छ । मेलामा सहभागिताका लागि ४१ स्टल राखिएका छन् । १७ जेठमा कोशी प्रदेशबाट सुरु भएको श्रमाधान रोजगार मेला वागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० जेठमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?