+
+
कर्णालीको नीति तथा कार्यक्रम : :

जनतासँग मुख्यमन्त्रीदेखि निरोगी कर्णालीसम्म 

यज्ञ खत्री यज्ञ खत्री
२०८१ जेठ २३ गते २०:४३

२३ जेठ, सुर्खेत। कर्णालीमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनतासँग मुख्यमन्त्री कार्यक्रमदेखि निरोगी कर्णाली यसैमा केन्द्रित स्वास्थ्य प्रणालीसम्मका योजना ल्याइएको छ । सरकारले ‘स्वस्थ माटो स्वस्थ जीवन’ भन्ने नाराका साथ माटो परीक्षणलाई व्यापकता दिने पनि घोषणा गरेको छ ।

स्थानीय स्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधिका लागि ‘एक पालिका एक कृषक पाठशाला’ सञ्चालन गर्ने सरकारको नीति छ ।

कृषकको पहुँच बढाउन प्राङ्गारिक मल र जैविक विषादी उत्पादन ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिइने पनि प्रदेश सरकारको नीति छ । नीति तथा कार्यक्रममा अधिकांश योजना चालु आर्थिक वर्षकै दोहोरिएको छ भने केही पुराना कार्यक्रम परिमार्जन गरिएको छ ।

यसअघि लोकप्रिय मानिएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिएको छ । तर,उक्त कार्यक्रमलाई थप परिमार्जन गरेर नयाँ कार्यविधिका साथ सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

त्यस्तै चालु आवमा १० हजार जनालाई रोजगारी दिने भन्दै निकै महत्वका साथ ल्याइएको कर्णाली समृद्धि परियोजनालाई परिमार्जन गरिएको छ ।

यसपटक १० हजारलाई रोजगारी दिने घोषणा गरिएको छैन । उक्त परियोजना मार्फत भूमिहीन, सीमान्तकृत तथा विपन्न वर्ग र भूकम्प प्रभावित जिल्लाका कृषकलाई लक्षित गरी खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा काम गर्ने घोषणा गरिएको छ ।

सरकारले सीप सिकेका युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न ‘वस्तु विकास प्रशिक्षण केन्द्र’को स्थापना गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ । नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ ।

कृषकका लागि घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने, प्रदेश राजधानी सुर्खेत प्रवेश गर्ने प्रमुख नाकामा कृषि क्वारेनटाइन राखिने, भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा सीप विकास तथा पुनर्निर्माणलाई निरन्तरता दिइने नीति, कार्यक्रममा उल्लेख गरिएको छ ।

सङ्कटग्रस्त क्षेत्र घोषित बस्तीलाई सुरक्षित स्थानमा सारेर व्यवस्थित बस्ती विकास गर्ने सरकारको नीति छ । यस्तै सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ घोषणा गरिएको छ ।

‘एक पालिका एक कृषक पाठशाला’

कर्णालीलाई  अर्गानिक प्रदेशको रूपमा विकास गर्ने र प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने प्रदेश प्रमुख परियारले बताए । अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि भन्ने नारा सहित सुरुवात गरिएको प्रदेशको अर्गानिक कृषि अभियानलाई सफल पार्न कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालनको घोषणा गरिएको छ ।

सुर्खेत प्रवेश गर्ने प्रमुख नाका बबईमा कृषि क्वारेनटाइन राख्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सरकारले ‘स्वस्थ माटो, स्वस्थ जीवन’ भन्ने नाराका साथ माटो परीक्षण नतिजाको आधारमा कृषि चून प्रयोग गरेर माटो स्वस्थ पार्ने घोषणा पनि गरेको छ ।

त्यस्तै स्थानीय स्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादनका लागि ‘एक पालिका एक कृषक पाठशाला’ सञ्चालन गर्ने, प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिने प्रदेश सरकारको घोषणा छ ।

सरकारले कृषकहरूका लागि घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने समेत सरकारले घोषणा गरेको छ । त्यस्तै प्राङ्गारिक कृषि उत्पादन, प्रविधि प्रसार र पोषण सुधारको लागि स्थानीय तह मार्फत उत्पादन सामग्री सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्यटन, उद्योग र खानीबाट समृद्धि

सरकारले पर्यटन, उद्योग र खानीबाट प्रदेशको समृद्धि हासिल गर्न ‘पर्यटन, उद्योग र खानीः समृद्धि सम्भव छ, कर्णालीमा गरौँ लगानी’ नामक कार्यक्रम घोषणा गरेको छ ।

सोही कार्यक्रम मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको विकास, सम्भाव्य खानीको अन्वेषण, उत्खनन गर्ने बताएको छ । नवप्रवर्तन र स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि सार्वजनिक र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले उच्च माग भएका उत्पादनको विकास  गर्न वस्तु विकास प्रशिक्षण कक्ष, कोसेली घर र लघु औद्योगिक ग्राम स्थापना गर्ने समेत नीति लिएको छ । यस्तो उत्पादनको बजारीकरण, निर्यात प्रवद्र्धन र सार्वजनिक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गर्ने प्रदेश सरकारको घोषणा छ ।

‘नवप्रवर्तनकारीलाई प्रेरणाः उद्यमशीलताको जगेर्ना’ भन्ने नारा सहित नवप्रवर्तन गर्ने उद्यमीलाई बीउ पुँजी, ब्याज अनुदान, प्रविधि सहयोग र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ । त्यस्तै कर्णाली समृद्धि परियोजना मार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम पनि सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

निरोगी कर्णाली अभियान

प्रदेश सरकारले ‘निरोगी कर्णालीः यसैमा केन्द्रित स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ कर्णालीवासीको स्वास्थ्य सेवा सुधार्ने योजना अगाडि सारेको छ । स्वास्थ्य सेवालाई एकीकृत, सरल, सुलभ, गुणस्तरीय र प्रभावकारी बनाइने प्रदेश सरकारको घोषणा छ ।

कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गर्ने, प्रदेश र जिल्ला अस्पतालमा ज्येष्ठ नागरिक र अशक्त, अपाङ्गता भएकाहरूका लागि छुट्टै वार्डको व्यवस्था मिलाइने पनि जनाइएको छ ।

दुर्गम हिमाली जिल्लाका स्थानीय तहमा आवधिक विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने, सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउनुका साथै प्रदेश मातहतका राष्ट्रसेवक कर्मचारी र उनीहरूका परिवारको स्वास्थ्य बिमा अनिवार्य गरिने विषय पनि समेटिएको छ ।

अटिजम, मानसिक तथा मनोसामाजिक अवस्थाको पहिचान, व्यवस्थापन र पुनः स्थापना सम्बन्धी कार्यक्रम र क्यान्सरबाट जोगाउनको लागि प्रदेशभर बृहत् स्क्रिनिङ शिविर सञ्चालन गरिने भएको छ ।

प्रदेश अस्पताललाई विशिष्टिकृत प्रेषण तथा शिक्षण अस्पताल बनाउन सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार र जनशक्तिको विकास गर्ने, प्रदेश अस्पतालमै  विशेषज्ञ सहितको आपत्कालीन ट्रमा इकाइ सञ्चालन गर्ने, सिकलसेल एनिमिया परीक्षणको व्यवस्था गर्ने र भूकम्प प्रभावित नागरिकको मनोसामाजिक परामर्श तथा उपचारको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने सरकारmले नीति तथा कार्यक्रम समावेश गरेको छ ।

प्रदेश आयुर्वेद औषधालयलाई वैकल्पिक औषधि उत्पादनको मुख्य केन्द्र बनाइने परियारले बताए । स्वास्थ्यमा सुधार ल्याई ‘कर्णाली स्वस्थ नागरिक’ अभियान चलाइने कार्यक्रम ल्याइने छ ।

मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम

प्रदेश सरकारले सार्वजनिक विद्यालयको शिक्षण सिकाइ प्रभावकारी बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम घोषणा गरेको छ । त्यस्तै स्थानीय तहको सहकार्यमा सूचना प्रविधिमा आधारित नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने, आवासीय विद्यालयलाई प्रभावकारी बनाउने र हिमाली क्षेत्रका आवासीय विद्यालयको पूर्वाधार विकास र व्यवस्थापनमा जोड दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्यालयमा हप्तामा एक दिन किताबरहित शुक्रबार, जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणको रूपमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । सार्वजनिक विद्यालयमा व्यावसायिक शिक्षा अध्ययन गरेका विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने समेत घोषणा गरिएको छ ।

सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ । साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने परियारले बताए ।

यस अधि पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरु गरेको ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ नामक कार्यक्रमलाई परिमार्जन गरेर सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तर्क्रिया तथा छलफल मार्फत जनताको माग र समस्या सम्बोधन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने परियारले बताए ।  बालविवाह, छाउपडी प्रथा, छुवाछुतको अन्त्यका लागि सामाजिक सशक्तिकरण कार्यक्रम चलाइने छ भने राउटे समुदायको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिने छ ।

त्यस्तै १० औं राष्ट्रिय खेलकुद सम्पन्न गरिने र उक्त प्रतियोगितामा कर्णालीबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाइने छ । कर्णालीको भाषा, संस्कृतिलाई संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी कानुन बनाइने सरकारले नीति ल्याएको छ ।

यस्तै सुर्खेत विमानस्थलको विस्तार, आन्तरिक हवाई उडानका लागि पहल गरिने छ भने सुरक्षाको लागि राजधानीमा सिसिटिभी क्यामेरा जडान गरिने सरकारले योजना ल्याएको छ । यी कार्यक्रम यसअघि पनि नीति, कार्यक्रम तथा बजेटमा सम्बोधन हुँदै आएका कार्यक्रमहरू हुन् ।

मुख्यमन्त्री यामलाल कँडेलले विशेष गरी सुशासनलाई जोड दिएका छन् । साना आयोजना कार्यान्वयनका लागि स्थानीय तहमा हस्तान्तरण गरिने र प्रदेश सरकारले ठुला र रणनीति योजनामा ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् कर्णाली प्रदेशको नीति तथा कार्यक्रम :

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?