+
+

रविको नाममा थापा–सिटौलाबीच नोकझोक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:३८

२४ जेठ, विराटनगर । कोशी प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाबीच नोकझोक भएको छ । नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा दुई नेताबीच नोकझोक भएको हो ।

बुधबार नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची थियो । तर बैठकमा बोल्ने क्रममा थापाले गृहमन्त्री रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाए । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेले स्तरहीन अभिव्यक्ति दिएको गुनासो गरे ।

रोष्टमबाट थापाले गृहमन्त्रीप्रति रोष प्रकट गर्दैगर्दा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला आफ्नो आसनबाट उठेर विषयभन्दा बाहिर नजान आग्रह गर्दै सभामुखको ध्यानाकर्षण गराए ।

बुधबारको बैठकको अन्तिम वक्ताको रुपमा आएका थापाले विषयवस्तु (नीति तथा कार्यक्रम)भन्दा बाहिर गएर बोलेको भन्दै राप्रपा दलका सिटौलाले भने, ‘सन्दर्भभन्दा बाहिर गयो, सन्दर्भ भित्र बसेर कुरा गर्दा सभाको गरिमा चुलिन्छ भन्ने लाग्दछ सभामुख महोदय ।’

सिटौलाले बीचमा उठेर बोलेपछि थापा रिसाए, ‘यो बोल्ने थलो हो, बोल्न पाइन्छ, बोल्न पाइँदैन भन्ने के छ ? विचार राख्न पाइन्छ ।’ थापाले आक्रोश व्यक्त गर्दैगर्दा सिटौलाले फेरि जवाफ फर्काए, ‘सन्दर्भमा असहमति छ ।’

त्यसपछि थापा झन् रिसाए । सिटौलातर्फ औंलो सोझ्याउँदै थापा कड्किए, ‘तपाईं को हो रोक्ने मलाई ? मेरो आवाज थुन्ने को हो तपाई ? तपाईलाई त्यो अधिकार छ ?’

स्थिति असहज बनेपछि सभामुखले विवाद नगर्न आग्रह गरे । ‘विवाद नगरौं माननीयज्यूहरु,’ उनले सिटौलालाई बस्न र थापालाई बोल्न आग्रह गरे । सभामुखको आग्रहपछि सिटौला आफ्नो आसनमा बसे ।

तर थापाको रिस साम्य भएको थिएन । सिटौलालाई ‘हैसियतमा बस्न’ भन्दै उनले नीति तथा कार्यक्रममाथि धारणा राखेर बिदा भए ।

थापा–सिटौला सम्बन्ध

सिटौला र थापाबीच नोकझोकको कारण पुरानो सम्बन्ध पनि हो । दुवैले नेपाली कांग्रेस भित्र कृष्णप्रसाद सिटौलाको समूहबाट राजनीति गरेका थिए । समूह भित्र पेलिएपछि भक्ति सिटौला राप्रपा प्रवेश गरे ।

गत भदौमा कोशीमा सरकार निर्माणका लागि राप्रपा निर्णयक थियो । त्यसबेला दुई पटक मुख्यमन्त्री बनेका उद्धव थापाले भक्ति सिटौलासँग सम्बन्ध सुधारको प्रयास गर्न खोजे । विश्वासको मत दिनका लागि आग्रह गरे । तर सिटौला तयार भएनन् । राप्रपाले सहयोग नगर्दा थापा दुवै पटक मुख्यमन्त्री पदबाट मुक्त भए ।

‘सरकार गठनका क्रममा गरेको असहयोगका कारण पनि उहाँ सिटौलाप्रति रुष्ट हुनुहुन्थ्यो, बैठकमा बोल्नेक्रममा सिटौलाले असहमति जनाएपछि उहाँलाई चित्त बुझेन,’ थापा निकट एक नेताले भने, ‘पुरानो असन्तुष्टि हिजो व्यक्त भयो ।’

बुधबार पाँच घण्टा चलेको नीति तथा कार्यक्रम माथिको छलफलमा २५ सांसदले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?