+

मनकुमारले स्वीट्जरल्याण्डमा हुने तीन ट्रेल रेस दौडने

२०८१ जेठ  २४ गते १२:५९ २०८१ जेठ २४ गते १२:५९
मनकुमारले स्वीट्जरल्याण्डमा हुने तीन ट्रेल रेस दौडने

२४ जेठ, काठमाडौं । नेपाली अल्ट्रा ट्रेल धावक मनकुमार रोका मगरले स्वीट्जरल्याण्डमा आयोजना हुने तीन ट्रेल रेसमा भाग लिने भएका छन् ।

रोल्पाको थबाङ गाउँपालिका-१ का २१ वर्षीय मनकुमारले स्वीटजरल्याण्डमा जुलाईदेखि सेप्टेम्बरसम्म हुने तीन फरक रेस दौडनेछन् ।

उनले आगामी जुलाई ६ र ७ मा हुने ट्रेल भर्बिएर सेन्ट बर्नार्ड, अगष्ट १० मा हुने सिरे जिनाल र सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा प्रतिस्पर्धा गर्नेछन् । ट्रेल भर्बिएर सेन्ट बर्नार्ड र वाइल्ड स्ट्रबेल क्रान्स मोन्टाना युटिएमबी रेस हो ।

‘पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा दौडने अवसर पाउँदैछु । म एकदमै उत्सहित छु’, उनले भने, ‘त्यहाँ गएर आफ्नो बेस्ट दिएर नेपाललाई चिनाउने लक्ष्य छ ।’

मनकुमारले पूर्ण रुपमा ट्रेल रनिङ गर्न थालेको धेरै भएको छैन । तर उनले एक दुई वर्ष पनि नबित्दै अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने अवसर पाए ।

अप्रिलमा नेपालमा आयोजित चौथो मञ्जुश्री ट्रेल रेस र मुस्ताङ रेसको उपाधि जितेपछि मनकुमार ट्रेल रेसमा नयाँ स्टारको रुपमा चिनिएका थिए ।

अप्रिलमा मुस्ताङमा भएको मुस्ताङ ट्रेल रेसका क्रममा भेटिएका स्वीटजरल्याण्डका नागरिक सर्जमार्फत मनकुमारले स्वीट्जरल्याण्डमा हुने रेसमा सहभागी हुने अवसर मिलाउने काम गरेका हुन् ।

‘त्यो बेला स्वीट्ल्याण्डबाटै आएका सर्जसँग कुरा भएको थियो । उनले मेरो कोचसँग सल्लाह गरेर खबर गर्छु भनेका थिए । उनीहरुबीच कुरा भएपछि मलाई बोलाउनू भनुभयो’, मनकुमारले भने ।

मैले मञ्जुश्री र मुस्ताङ रेसको उपाधि जितेको सुनाएपछि सर्जले आफ्ना प्रशिक्षक टार्किस एनकोएलाई मनकुमारको बारेमा सुनाएका थिए ।

त्यसपछि उनै टार्किसले मनकुमारलाई तीन रेस दौडने व्यवस्था मिलाएका हुन् । ‘मैले धेरै ट्रेल रेसहरुमा भाग लिइसकेँ । आफ्नै देशमा समेत धेरै नचिन्ने मलाई स्वीट्जरल्याण्डको विदेशीले प्रतिभा चिनेर बोलायो । एकदमै खुशी छु’, मनकुमारले भने ।

स्वीटजरल्याण्डमा उनले खाने, बस्ने सबै खर्च टार्किसले नै बन्दोबस्त गर्नेछन् । टार्किस ट्रेल रनिङको कोच र ट्रेनर पनि हुन् ।

विद्यालय शिक्षा सकेपछि सैनिक सेवामा आवद्ध हुने उद्देश्य राखेका मनकुमार भर्ना हुन नसकेपछि दु:खी भएका थिए । अहिले ट्रेल रनिङबाटै देशको नाम चिनाउने स्थानमा पुग्दा उनी प्रसन्न छन् ।

‘यता रेसमा राम्रो हुन लेखेको रैछ त्यही भएर लाहुरे नभएको हो कि जस्तो लाग्छ’, मनकुमार भन्छन्, ‘लाहुरे भएको भए पल्टनको सानो सिपाही, अरुको अन्डरमा काम गर्ने थोरैले चिन्थे होला । अहिले देश विदेशमा चिनेर रेसको लागि बोलाउनुभयो ।’

आफ्नो बारे समाचार प्रकाशन भएपछि स्पेनमा रहेका समीर थापाले पनि फोन गरेर आगामी रेसहरुमा सहयोग गर्ने आश्वासन दिएको मनकुमारले सुनाए ।

स्वीट्जरल्याण्डमा दौडने भएपछि अहिले उनी उतैबाट पठाएको ट्रेनिङ सेड्युल अनुसार तयारी गरिरहेका छन् । त्यसै अनुसार उनी दैनिक ट्रेनिङ गर्छन् ।

‘रोड ट्रेनिङ, माटोमा ट्रेनिङ, हिल ट्रेनिङ, ग्राउण्ड ट्रेनिङ र नर्मल ट्रेनिङ सबै तालिका अनुसार गरिरहेको छु’, उनी भन्छन् ।

हप्तामा उनी शनिबारबाहेक हरेक दिन ट्रेनिङ गर्छन् । मनकुमार जुलाई १ मा स्वीट्जरल्याण्ड जानेछन् ।

ट्रेल रेस नेपाली अल्ट्रा ट्रेल धावक मनकुमार रोका मगर स्वीट्जरल्याण्ड
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय