
काठमाडौं । फुटबल क्लब ‘एफसी चितवन’ ले नेपालमा फुटबल खेलका विभिन्न आयामबारे सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभालाई हुर्काउने र दिगो भविष्यको निर्माणका लागि गर्नुपर्ने आवश्यक पहलहरूका बारेमा अन्तरक्रिया आयोजना गरिएको एफसी चितवनले जनाएको छ ।
अन्तरक्रियामा ५ सयभन्दा बढी खेलाडी, विद्यार्थी र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए।
छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, संघसंस्था, निजी संस्था र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए ।
साथै विभिन्न सरोकारवालाहरू बीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए ।
अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयका बारेमा विज्ञहरूले आआफ्नो प्रस्तुति दिएका थिए ।
आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी-खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो ।
अन्तरक्रियामा अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी संघका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो ।
अन्तरक्रियासँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4