पारिवारिक चिकित्सा एक प्रकारको मनोवैज्ञानिक परामर्श हो । जसले परिवारमा हुने मनोवैज्ञानिक स्वास्थ्य समस्याको हल गर्ने हरसम्भव प्रयास गर्छ ।
यो यस्तो थेरापी हो, जसले परिवारका सदस्यबीच मनमुटाव वा मानसिक समस्या भएका सदस्यलाई त्यस समस्याबाट माथि उठ्न मद्दत गर्छ । पारिवारिक संघर्षलाई सुल्झाउन, मानसिकरुपले सबल बनाउन, परिवारको प्रत्येक सदस्यबीच राम्रो संवाद गराउन लागि पनि यो थेरापी गरिन्छ ।
कसले दिन्छ सेवा ?
पारिवारिक परामर्श सामान्यतया मनोविज्ञानको स्नातक र स्नाकोत्तर डिग्री तथा मान्यतापत्र प्राप्त चिकित्सक वा मनोविद्ले दिनसक्छन् । उनीहरुसँग इच्छुक सदस्यहरूले पारिवारिक उपचार खोजिरहेका छन् भने यो थेरापी लिनसक्छन् ।
तपाईंको परिवारलाई थेरापीको आवश्यक छ ?
पारिवारिक चिकित्सा ती परिवारलाई आवश्यक छ, जसको परिवारमा कुनै सदस्य दुःख, तनाव, संघर्ष वा क्रोधका कारण मानसिक समस्या झेलिरहेको छ ।
पारिवारिक उपचार कुनै पनि समस्याको बारेमा हुनसक्छ । जस्तै, वैवाहिक सम्बन्धको खटपट, आर्थिक संकट, बालबालिकामा यौन शोषणपछि बिग्रिंदै गएको मानसिक समस्या, बच्चा र आमाबाबुबीचको झगडा, बच्चामा कुटपिट, परिवारमा कसैको असामायिक निधनको आघात, नशालु पदार्थको लत वा परिवारमा कुनै सदस्यमा गम्भीर मानसिक रोग ।
परिवारमा गम्भीर मानसिक रोग जस्तै, सिंजोफ्रेनियाको सामना गर्न यो आवश्यक छ । किनकि यो समस्या हुँदा व्यक्ति एकोहोरिने, रातभर नसुत्ने, खाना नखाने, डराएर एउटै कुनामा बस्ने र भ्रममा जिउने हुन्छन् । जसकारण उनीहरुलाई घरमै नियन्त्रण गर्न नसकिने हुँदा चिकित्सा तथा पारिवारिक चिकित्सा आवश्यक पर्छ ।
पारिवारिक थेरापीको तयारी
पारिवारिक थेरापीका लागि चिकित्सकद्वारा रेफरल लिनुपर्छ । त्यसअघि यो थेरापी लिइसकेको परिवारको प्रतिक्रिया र चिकित्सकको दक्षता जानेर मात्र लिनु उपयुक्त हुन्छ । धेरैजसोले मनमा चिकित्सकबारे शंका भएपनि सोध्न हिच्किचाउँछन् । र, कतिपय अवस्थामा के सोध्ने भन्ने दुविधा पनि हुनसक्छ । तर पारिवारिक थेरापी होस् वा अन्य कुनै । चिकित्सकको विवरण लिनु आवश्यक र जायज छ ।
के सोध्ने त ?
शैक्षिक योग्यता र अनुभव : चिकित्सकको शैक्षिक योग्यता र पृष्ठभूमि के हो ? पेशागत संगठनको लाइसेन्स छ ? पारिवारिक परामर्शसम्बन्धी कुनै विशेष प्रशिक्षण लिइएको छ ? र, मनोचिकित्साको अनुभव के छ ?
स्थान र उपलब्धता : चिकित्सकको कार्यालय कहाँ छ ? कुन कार्यालय कुन समयमा भेट्न सकिन्छ ? पारिवारिक मनोचिकित्सामा अनुभव के छ ? थेरापीको सत्र कति हुन्छ ?
शुल्क : प्रत्येक सत्रको लागि कति शुल्क लाग्छ ?
पारिवारिक उपचार सत्र
पारिवारिक उपचार सत्रहरू सामान्यतया परिवारका सदस्यहरूसँगै लिइन्छ । यो सामान्यतया ५० देखि ६० मिनेटको लागि हुन्छ । पारिवारिक परामर्श वा चिकित्सा १० देखि १२ सत्र हुन्छ । तर अवस्था हेरेर सत्र लम्बिने वा छोटिने हुनसक्छ ।
यो सत्रको लक्ष्य भनेको भाव अभिव्यक्त गर्ने तरिका, कुनै समस्याबाट लड्ने क्षमता र अर्थपूर्ण तरिकाले खुलेर संवाद गर्ने तरिका सिकाउनु हो ।
त्यस्तै, परिवार चिकित्सा सत्रमा पारिवारिक जीवनलाई प्रभावित पार्ने जरालाई पत्ता लगाई परामर्शद्वारा उखेल्ने काम हुन्छ । कतिपय अवस्थामा समस्याको जरा व्यक्त नगर्ने समयसम्म पहिचान हुनसक्दैन । यो पहिचानको लागि प्रत्येक सदस्य, नियम र व्यक्तिगत व्यवहारको हाउभाउ, कमजोरी र पारिवारिक इतिहास विशलेषण गरिन्छ ।
यो परामर्श सत्रले पारिवारिक सम्बन्धको दूरीलाई घटाएर गहिरो बनाउन मद्दत गर्छ । यसले थेरापी समाप्त भइसकेपछि पनि जीवनभर तनावपूर्ण समय सामना गर्न मद्दत गर्छ । साथै, कसैको गल्ती भए क्रोध र प्रतिशोधको भावना नसाँधी माफी दिने शक्ति दिन पनि सिकाउँछ ।
निष्कर्ष
पारिवारिक थेरापी वा परामर्शले परिवारमा भएको कलहलाई पूरै समाधान गर्दैन । यसको काम भनेको भावनात्मकरुपमा परिवारका सदस्यहरूलाई बुझ्न मद्दत गर्न सक्छ । यसले चुनौतीपूर्ण परिस्थितिहरूमा अझ सफलतापूर्वक डट्न र सद्भावको भावना विकास गर्न मद्दत गर्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4