+

१६ वा १८ घण्टे फास्टिङ : निम्त्याउन सक्छ विभिन्न स्वास्थ्य समस्या

२०८१ जेठ  २५ गते ७:०० २०८१ जेठ २५ गते ७:००
१६ वा १८ घण्टे फास्टिङ : निम्त्याउन सक्छ विभिन्न स्वास्थ्य समस्या

काठमाडौं । पछिल्लो समय मोटोपन नियन्त्रण गर्न र विभिन्न रोगबाट मुक्त हुन ‘इन्टरमिटेन्ट फास्टिङ’ बस्ने चलन छ । जस्तो कि १६ घण्टे, १८ घण्टे उपवास ।

यस्तो फास्टिङमा समयलाई आठ र १६ घण्टामा विभाजन गरिन्छ । अर्थात् ६ घण्टा वा आठ घण्टामा खाना खाने, बाँकी १६ वा १८ घण्टा उपवास बस्ने । इन्टरमिटेन्ट फास्टिङ बस्नेहरूले सामान्यतया दिउँसो १२ बजेदेखि ७-८ बजेसम्म खानपान गर्छन्, त्यसपछि पूर्ण उपवास बस्छन् ।

केही प्रारम्भिक अध्ययनहरूले दाबी गरेका थिए यस प्रकारको उपवासले एकदेखि दुई महिनाभित्र वजन घटाउँछ । साथै रक्तचाप र मधुमेह पनि कम हुन्छ । यद्यपि, यसको दीर्घकालीन साइड-इफेक्ट पनि हुने अमेरिकन हार्ट एसोसिएसनले हालै गरेको अध्ययनले बताएको छ ।

१०-१५ वर्षसम्म गरिएको अध्ययनमा संलग्न २० हजार व्यक्तिको स्वास्थ्य अनुगमन गरी तथ्यांक संकलन गरिएको थियो । यसमा उपवास बस्ने र उपवास नबस्नेहरूको समूह बनाइएको थियो । वर्षौंदेखि निरन्तर उपवास बस्ने मानिसमा विशेषगरी हृदयघात र यससँग सम्बन्धित कारणले मृत्यु हुने सम्भावना ९० प्रतिशत बढी देखिएको थियो । यस अध्ययनअनुसार उपवासले छोटो अवधिको लागि फाइदा पुर्‍याएपनि दीर्घकालीन रुपमा असर गरेको देखियो ।

पहिलेका अध्ययनहरू छोटो अवधिको प्रभावमा आधारित थिए र हृदयघात वा मृत्युको अध्ययन समावेश थिएन । खाने बानीमा समयको पालना गर्नु मुटुका लागि खतरनाक हुनसक्ने अध्ययनले पत्ता लगाएको छ ।

पोषणको दृष्टिकोणबाट ‘इन्टरमिटेन्ट फास्टिङ’

डा. सुधाश्री अधिकारी, पोषणविद्

पछिल्लो समय इन्टरमिटेन्ट फास्टिङ फेसन जस्तो भएको छ । नेपालको सन्दर्भमा इन्टरमिटेन्ट फास्टिङ हाम्रो पुर्खाहरूले पनि गर्थे । बेलुकाको खाना ७ बजेभित्र खाइसक्थे र बिहानको खाना ८ बजेपछि खान्थे यस्तोमा १२ देखि १४ घण्टाको फास्टिङ त हुन्थ्यो नै । अहिले बेलुकाको खाना नै ढिलो खाने अनि खाना खाइसकेपछि पनि सुत्ने बेला विभिन्न स्न्याक्स खाने बानी हुन्छ । त्यसले गर्दा यो फास्टिङ नयाँ लागेको हुनसक्छ ।

पहिले पुर्खाहरूले जस्तो बेलुकाको खाना छिटो खाने र बिहानको खाना ८ बजेपछि खाँदा १२ देखि १४ घण्टे फास्टिङ त हुन्छ नै, त्यसलाई बिस्तारै बढाएर १६ घण्टा पुर्‍याउन सकिन्छ । एउटाले तौल कम गर्न १६ घण्टे फास्टिङ गर्‍यो भने अर्कोले पनि त्यही लहलहैमा लागेर फास्टिङ गर्ने १६ घण्टा केही नखाने अनि ८ घण्टा चाहिने भन्दा धेरै खाने गरियो भने फाइदाजनक नहुन सक्छ ।

१८ वर्षमुनिका बालबालिकालाई धेरै ऊर्जा चाहिने भएकाले उनीहरूले यस्तो उपवास नबस्नु नै राम्रो हुन्छ । साथै गर्भवती महिलाले पनि अन्य सामान्य व्यक्तिको तुलनामा समय-समयमा खानुपर्ने भएकाले उनीहरूका लागि यो उपयोगी नहुन सक्छ ।

१६ घण्टे उपवास बसेर आठ घण्टामा माछामासुबाट प्राप्त हुने प्रोटिन धेरै मात्रामा सेवन गर्दा मुटुको समस्या र मिर्गौलाको समस्या देखिन सक्छ । १६ घण्टा उपवास बसेर आठ घण्टामा खाने खाना सन्तुलित हुनुपर्छ । १६ घण्टा भोकै बस्नुछ, त्यसैले धेरै मात्रामा खानुपर्छ भन्ने सोचियो र खाइयो भने उपवासले फाइदा गर्नुको साटो हानि गर्न सक्छ ।

१६ घण्टे फास्टिङ सबैको लागि उपयुक्त हुँदैन

१६ घण्टे फास्टिङबाट तौल नियन्त्रण, कोलेस्टेरोल र उच्च रक्तचाप नियन्त्रण हुन्छ भनेर विभिन्न अध्ययनले बताएको छ । तर इन्टरमिटेन्ट फास्टिङ सबैको लागि उपयुक्त नहुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् ।

‘कसैको लागि यो फास्टिङ उपयोगी भयो भन्दैमा सबैको लागि यो उपयोगी नहुन सक्छ । कसैको शरीरमा यो हानिकारक हुनसक्छ भने कसैका लागि लाभदायक पनि,’ उनी भन्छन्, ‘जस्तो- मधुमेहको समस्या भएको व्यक्ति, मुटुको औषधि सेवन गरिरहेका व्यक्ति, गर्भवती महिला र ६० वर्षमाथिका व्यक्तिहरूले भने यस्तो फास्टिङ बस्नु हुँदैन ।’

यस्तो फास्टिङले केही फाइदा त हुन्छ तर यसलाई लामो समयसम्म पालना गर्न सकिंदैन । त्यसैले उपवास छोडेर पहिलेको डाइटमा फर्किएपछि तौल झन् बढ्न सक्छ । साथै १६ घण्टा उपवास बसेर ८ घण्टा खाने समयमा धेरै खाना खाइयो भने त्यसले पनि खासै फाइदा गर्दैन । त्यसैले डाक्टर तथा पोषणविद्को सल्लाह लिएर मात्र यस्तो फास्टिङ गर्नु उपयुक्त हुने ठाकुर बताउँछन् ।

१६ घण्टे फास्टिङले ग्यास्ट्रिकको समस्या

१६ घण्टा गरिने इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर यससँगै  लामो समयसम्म  फास्टिङ गर्दा पेटमा भइरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रक्रिया असर पुर्‍याउँछ । त्यसैले ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्या देखा पर्न सक्ने पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यप बताउँछन् ।

‘मधुमेह, तौल घटाउन र उच्च रक्तचाप नियन्त्रणमा यसको फाइदा दिएको देखिन्छ । तर ग्यास्ट्रिकका बिरामीहरूलाई यसले फाइदाभन्दा बढी हानि गर्छ,’ उनी भन्छन् ।

कसैलाई अल्सर, पेटको आन्द्राबाट रक्तस्राव भइरहेको छ भने पनि त्यति लाभ दिंदैन । कसैलाई ग्यास्ट्रिक भएको नै थाहा नहुन सक्छ, जसले यस्तो फास्टिङ बस्दा थप स्वास्थ्य समस्या आउन सक्छ । डा. कश्यप भन्छन्, ‘ग्यास्ट्रिक नभएका व्यक्तिलाई ग्यास्ट्रिक गराउन सक्छ भने भएको व्यक्तिलाई झनै बढी जटिलता थप्न सक्ने देखिन्छ । सकेसम्म यस्तो गर्नुअघि आफ्नो स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहमा सही तरिकाले फास्टिङ गर्नु राम्रो हुन्छ ।’

सकेसम्म ग्यास्ट्रिक भएको व्यक्तिले १६ घण्टा फास्टिङ र व्रत नबसेको राम्रो हो । अल्सर भएको व्यक्ति, क्यान्सर भएको र ग्यास्ट्रिक भएका व्यक्तिलाई यस्तो फास्टिङ हानिकारक हुनसक्ने कश्यप बताउँछन् ।

खाना खाने समय नमिल्दा समस्या निम्तिन सक्छ

डा. ऋषिकुमार काफ्ले, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ

यदि हामीले ५०-६० वर्षअघिका नेपालीहरूको खानपानशैली हेर्‍यौं भने इन्टरमिटेन्ट फास्टिङ गरेको नै पाउँछौं । बेलुकाको खाना ७ बजेभन्दा अघि बिहानको खाना ९-१० बजेतिर खाने चलन थियो । यसो गर्दा फास्टिङ १६ वा १८ घण्टे नभएर १२ देखि १४ घण्टाको हुने गर्थ्यो । त्यो बेला मान्छेहरूमा धेरै स्वास्थ्य समस्या पनि देखा परेको पाइँदैन थियो ।

अहिलेको  इन्टरमिटेन्ट फास्टिङमा भने मान्छेहरू १६-१८ घण्टासम्म खाली पेट बस्छन्, जसले गर्दा विभिन्न समस्या निम्ताएको हो । इन्टरमिटेन्ट फास्टिङले रोग निम्ताएको हैन, हामीले खाना खाने समय परिवर्तन गरेकाले समस्या निम्तिएको हो ।

अमेरिकन हार्ट एसोसिएसनले गरेको एउटा अध्ययनले इन्टरमिटेन्ट फास्टिङ मुटुको लागि हानिकारक भनेको छ । यस्तोमा कालान्तरमा यसले मिर्गौलालाई पनि असर नगर्ला भन्न सकिंदैन । किनभने मिर्गौलाको समस्या देखिन समय लाग्छ ।

यदि लामो खाली पेट नबसी पुर्खाहरूले जस्तो फास्टिङ गरेर बिहानको नास्ता, दिउँसोको खाना र बेलुकाको खाना मिलाएर खायौं भने र सही तरिकाले फास्टिङ गर्‍यौं भने त्यो लाभदायक हुनसक्छ ।

उपवास खानपानशैली स्वास्थ्य १६ घण्टे फास्टिङ
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?