
२४ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले संकलन गरेको फोहोर बेच्ने भएको छ । महानगरले टेकु संकलन केन्द्र र बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको फोहोर बेच्ने तयारी गरेको हो ।
महानगरले दोस्रो पटक २१ जेठमा बन्चरेडाँडा ल्यान्डफिल साइटको फोहोरका लागि टेन्डर आह्वान समेत गरेको छ । ल्यान्डफिल साइटमा दैनिक बिसर्जन हुने फोहोरमैलाबाट पुनः प्रयोग र पुनः चक्रीय प्रयोग हुने फोहोरमैला बिक्री प्रयोजनका निमित्त भन्दै महानगरले टेन्डर आह्वान गरेको हो ।
कवाडी कर, मृत जीवजन्तु कर र भ्याटबाहेक गरी एक वर्ष अवधिका लागि २२ करोड ४८ लाख ७८ हजार रुपैयाँमा टेन्डर आह्वान गरिएको छ । ३५ दिन अगाडि महानगरले टेन्डर आह्वान गरे पनि नपरेपछि फेरि आह्वान गर्नु परेको थियो । ठेक्काका लागि महानगरले २ करोड ५५ लाख रुपैयाँ धरौटी पनि माग गरेको छ ।
‘अहिले बन्चरेडाँडाबाट अनौपचारिक रूपमा फोहोरको वर्गीकरण गरेर लैजानेहरू छन् । उनीहरूले महानगरमा कुनै शुल्क बुझाउँदैनन् । त्यसो हुँदा मूल्यवान फोहोर मात्रै वर्गीकरण भइरहेको छ भने थोरै पैसा आउने फोहोर यत्तिकै छ । फेरि यसमा महानगरलाई कुनै आम्दानी छैन,’ महानगरा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने ।
अब बन्चरेडाँडा ल्यान्डफिलमा ठेक्का लिनेले मात्रै फोहोर छुट्याएर लान पाउने श्रेष्ठले बताए । ‘ल्यान्डफिल साइटको पुनः प्रयोगजन्य र प्रशोेधन गरेर लैजान मिल्ने सबै फोहोर ठेक्का पाउने कम्पनीले नै लैजान्छ । अन्य व्यक्ति वा संस्थाले बन्चरेडाँडा ल्यान्डफिल साइटको फोहोर लैजान पाइँदैन,’ श्रेष्ठले भने ।
३५ दिनभित्र अर्थात् २४ असारसम्म ठेक्का परेपछि सम्झौता हुने उनले बताए ।
श्रेष्ठका अनुसार टेकु प्रशोधन केन्द्रको फोहोर भने चालु आर्थिक वर्ष असारसम्मका लागि वैशाखमा ७ लाख रुपैयाँमा ठेक्का दिइएको छ ।
‘बन्चरेडाँडाकै जसरी फोहोर टेकु ट्रान्सफर सेन्टरबाट पनि बेच्न लागिएको हो तर यो तीन महिनाका लागि मात्रै हो । नमुनाका रूपमा गरेका हौं । सफल भयौं भने आगामी आवमा सोही अनुसार काम गर्छौं,’ श्रेष्ठले भने ।
प्रतिक्रिया 4