+

कोशीको युवा टिमको लिग खेल्नु नै उपलब्धि

२०८१ जेठ  २४ गते २०:०६ २०८१ जेठ २४ गते २०:०६
कोशीको युवा टिमको लिग खेल्नु नै उपलब्धि

२४ जेठ, काठमाडौं । दशरथ रंगशाला कर्भड हलमा आठौं महिला तथा पुरुष भलिबल एनभीए लिग चलिरहेको छ ।

पुरुषतर्फ नेपाल पुलिस, एपीएफ र आर्मी, हेल्प नेपाल, बुढानीलकण्ठ, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेश गरी ८ टिम सहभागी छन् । २०८० चैतमा भएको आठौं आरबीबी भलिबल च्याम्पियनसिपमा शीर्ष ८ मा परेका टिमले यस पटक लिग खेलेका हुन् ।

हालसम्म छ चरणको खेल हुँदा बुढानीलकण्ठ भलिबल क्लब र कोशी प्रदेश भलिबल टिमले भने एउटा पनि खेल जित्न सकेका छैनन् ।

पहिलो पटक लिग खेलेको कोशीमा युवा खेलाडीको बाहुल्य छ । उसले १७ देखि २४ वर्षसम्मका खेलाडीलाई मिलाएर टिम बनाएको छ ।

‘हामी पहिलो पटक लिग खेल्न आएका हौं । सिभिल खेलाडी एकै ठाउँमा राख्न पनि सकिन्न, को को कता कता भएका हुन्छन् । खेलको समयमा एक हप्ताको प्रशिक्षणमा हामी टिम लिएर हिँडिरहेका हुन्छौं’, प्रशिक्षक दिनेश राईले भने, ‘हाम्रो लागि यो लिग खेल्नु नै ठूलो कुरा हो ।’

पहिलो सहभागिता भएकाले अनुभव लिने र केही खेल जित्ने कोशीको लक्ष्य थियो । खेलाडी रोशन श्रेष्ठले टिममा खेलाडीहरुबीच संयोजनसमेत मिलिनसकेको बताए । ‘हामी क्लोज क्याम्पमा सबै खेलाडी बसेका थिएनौं । अहिले टिममा संयोजन (कम्बिनेसन) नै मिलिरहेको छैन’, उनले भने ।

कोशीको टिमका खेलाडीले ठूलो खेलको अनुभव लिएका छैनन् । कोशीका कप्तान विष्णु बस्नेतले यसअघि हेल्प नेपालबाट खेल्थे । उनीबाहेक अर्का खेलाडी बुढानीलकण्ठ टिमबाट खेलिरहेका थिए । यस टिममा कोशी प्रदेशको बन्द प्रशिक्षणमा बसेका ३ खेलाडी छन् ।

‘हामी पाँचौं÷छैटौं हुन्छौं भन्ने लक्ष्य थियो तर अब भोलि एउटा खेल बाँकी छ । त्यसबाट थाहा हुन्छ । हामी सातौं हुन्छौं कि आठौं’, प्रशिक्षक दिनेश राईले भने ।

अर्को पटक भने लिग जित्ने लक्ष्यसहित आउने कोशीको योजना छ । ‘हामी पनि उपाधि जित्ने लक्ष्यसहित अर्को पटक भने विदेशी खेलाडीसमेत ल्याउने गरी हाम्रो संघले तयारी गरिरहेको छ ।’

युवा खेलाडीको टिमले अनुभव नहुँदा पहिलो सेटमा जित निकाले पनि पछिल्ला सेटहरुमा जित्न सकेका छैनन् । बिहीबार एपीएफसँग छैटौं खेलमा पहिलो सेट कोशीले २५–२२ ले जित्यो । त्यसपछि लगातार ३ सेटमा क्रमशः १२, १४ र १९ अंक भन्दा जोड्न सक्दा एपीएफले खेल जित्यो ।

प्रशिक्षण र अनुभव नभएको टिम

कोशीको टिमले यस वर्ष लामो प्रशिक्षण गर्न पाएनन् । झापाको दमकमा एक् हप्ताको प्रशिक्षण चलाउन खोज्दा खेलाडी नआएको प्रशिक्षक दिनेश राईले बताए । ‘लिगमा छनोट भएपछि खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा उपलब्ध हुन नसक्नु र प्रशिक्षण नगर्नु नै कमजोरी भयो’, उनले भने ।

खेलाडी प्रशिक्षणमा नआएका कारण टिममा संयोजन मिलाउन नसकेको खेलाडी रोशन श्रेष्ठ बताउँछन् ।

यस पटक कोशीले प्रदेशबाहिरको खेलाडी राखेको छैन । ‘प्रदेशकै खेलाडी लिएर पहिलो पटक लिग खेल्न आएका थियौं । खेलाडीले कति गर्न सक्छन् भन्ने परीक्षण जस्तो पनि भयो’, प्रशिक्षक राईले भने ।

तस्वीरहरू: चन्द्रबहादुर आले /अनलाइनखबर

एनभीए लिग कोशी दशरथ रंगशाला
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय