+
+

फौजदारी अपराधमा प्रहरी नै : बलात्कारदेखि हत्यासम्म

फौजदारी अपराधको कसुर गरेमा सर्वसाधारणलाई हुने कारबाहीको १० प्रतिशत बढी सजाय प्रहरीलाई हुने गर्छ । स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि तिनै व्यक्तिबाटै गम्भीर फौजदारी अपराधका घटना दोहोरिरहेका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ २५ गते ९:३०

२५ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी अहिले प्रहरी वृत्त स्वयम्भुको हिरासतमा छन् । काठमाडौं उपत्यकाका ३ जिल्लाभित्रका जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने युनिटका इन्स्पेक्टर शिवाकोटीमाथि नै अहिले जघन्य अपराधको आरोप लागेको छ ।

१३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि बुधबार साँझ नियन्त्रणमा लिएर शिवाकोटीमाथि अनुसन्धान अघि बढाइएको छ । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामूलक अभियान चलाइरहेका बेला इन्स्पेक्टर शिवाकोटीले आफूमाथि यौन दुव्र्यवहार र कुटपिट हुने गरेको बालिकाले बताएकी थिइन् ।

त्यसपछि काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली शिवाकोटी बसेको घरमा पुगेको थियो । पीडित किशोरीलई उद्धार गरेर बाल सुरक्षा गृहमा पठाइयो भने इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । शिवाकोटीविरुद्ध कानुन बमोजिम फौजदारी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।

शिवाकोटी मात्रै होइन, यतिखेर प्रहरी नायव निरीक्षक (सई) सुदीप पोखरेल पनि एक सातादेखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । लागुऔषध प्रयोगकर्ता रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

‘गाँजादेखि, चरेश, ब्राउन सुगर, ट्याब्लेटसमेत प्रयोग गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो’, परिसर ललितपुरका एक अनुसन्धान अधिकृतले भने, ‘अहिलेसम्मको अनुसन्धानले उनी प्रयोगकर्ता मात्रै रहेको खुलेको छ ।’

लागुऔषध कारोबारी तथा प्रयोगकर्ताविरुद्ध भने प्रहरीले आक्रामक पुलिसिङ गरिरहेको छ । १७ वैशाखदेखि करिब २ साताको अवधिमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर तराईका विभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेको थियो ।

संगठन लागुऔषधविरुद्ध आक्रमक भएर प्रस्तुत भइरहँदा संघीय राजधानीमै प्रहरी भने लागुऔषधको कुलतमा फसेको पाइएपछि पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।

यो भन्दा अघि ५ चैत २०८० मा रातोपुलमा अमेरिकी डलर साटिदिने भन्दै ७ लाख १५ हजार लुटिएको घटनाको मुख्य योजनाकार नै प्रहरी हवल्दार चक्रबहादुर शाही रहेको खुलेको थियो । प्रहरी वृत्त नयाँ बानेश्वरमा सादा पोशाकको रुपमा कार्यरत हवल्दारको योजनामा प्रमोद श्रेष्ठ नाम गरेका युवालाई दिउँसै लुटिएको थियो ।

हवल्दारले आफू सीआईबीको प्रहरी भन्दै हातमा हत्कडी लगाएर धम्क्याउँदै रकम लुटपाट गरेका थिए । लुटपाटमा संलग्न शाहीसँगै विकास लुइँटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो । पछि उनी धरौटीमा छुटेका थिए ।

हालसालै भएका तीन फरक प्रकृतिका अपराध (लागु औधष, डाँका चोरी र बाल यौन दुरुपयोग) को कसुरमा प्रहरीको संलग्नता देखिन्छ । कुनै एउटा प्रहरीको अपराधले सिंगो प्रहरी संगठन नै बद्नाम हुने भएकाले कठोर भएर प्रहरी प्रधान कार्यालयले कारबाही गर्दै आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको अवधिमा ३८६ प्रहरी फौजदारी कसुरको आरोपमा करबाहीमा परेका छन् ।

प्रहरी हेडक्वाटरले अपराधविरुद्ध ‘जिरो टोलरेन्स’को नीति लिएर काम गरिहरेको र फौजदारी अपराधमा प्रहरी जोडिए कानून बमोजिम निर्मम भएर कारबाही गर्दै आएको डीआईजी कार्कीले बताए । ‘प्रहरी भनेको आम नागरिकको आशा, अपेक्षा र भरोसा हो । त्यसमा तुसारापात गर्ने छुट कसैलाई छैन’, उनले भने ।

त्यस्त त कार्कीले भनेजस्तै आमनागरिक र राष्ट्र सेवक तथा प्रहरीले फौजदारी अपराध गर्नुमा फरक छ । कानुन कार्यान्वयनको मुख्य दायित्व बोकेको प्रहरी तथा राष्ट्र सेवक नै फौजदारी अपराधमा मुछिनुलाई गम्भीर विषय मानेर कानुन पनि सोही अनुसार नै बनाइएको हुन्छ ।

प्रहरीले कुनै फौजदारी अपराधको कसुर गरेमा अन्य सर्वसाधारणलाई हुने कारबाहीको १० प्रतिशत बढी सजाय हुने व्यवस्था छ । ‘यो व्यवस्था राख्नु भनेकै तिमीलाई चाहिँ अपराध गर्ने छुट छैन है भन्ने सन्देश हो’, फौजदारी कानुनका वरिष्ठ अधिवक्ता डा रञ्जितभक्त प्रधानांग भन्छन्, ‘नागरिकको सेवा र सुरक्षा गर्ने भनेर राज्यले लगानी गरेको व्यक्तिबाटै अपराध हुनु झनै गम्भीर हो ।’

निलम्बनदेखि बर्खास्तीसम्म

शिवाकोटी मात्रै होइन यौन आरोप लागेपछि जेल चलानदेखि जागिरसम्म गएका घटना प्रहरीमा छन् । १ जेठ २०८० मा आफ्नै कार्यालयकी महिला सहायक हवल्दारलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि एसएसपी योगबहादुर पालले जागिरबाटै हात धुनु परेको थियो ।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित संघीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुव्र्यवहार गरेका थिए । बिदा लिएर घर जान लागकी ती हवल्दारलाई एसएसपी पालले सञ्चार सेटमै आफूकहाँ भेट्न पठाइदिनु भन्दै निर्देशन दिएका थिए ।

एसएसपीको निर्देशन आएपछि क्वाटरमा भेट्न पुगेकी ती महिला हवल्दारलाई पालले यौन प्रस्ताव गरेका थिए । ‘तिमी मलाई मन प¥यो । आज गुड फ्राइडे मनाऔं’ भनेको भन्दै पीडित महिला हवल्दारले प्रदेश प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

डीआईजी सेरेन्द्र मैनालीको कमाण्डमा समिति गठन गरेर एसएसपी पालमाथि छानबिन गरिएको थियो । जसक्रममा एसएसपी पालले यौन दुव्र्यहार गरेको पुष्टि भएपछि बर्खास्तका लागि सिफारिस गरिएको थियो ।

तर त्यघि नै १० असोज २०८० मा उनले राजिनामा दिएका थिए । बर्खास्त हुँदा अवकाशपछि पाइने पेनसन समेत नपाउने भएपछि हतारमा एसएसपी पालले राजिनामा स्वीकृत गराएका थिए ।

आफू मातहतकै महिला प्रहरी कर्मचारीलाई कार्यकक्षमै बलात्कारको प्रयास गरेको आरोपमा अर्का प्रहरी इन्सपेक्टर अपूर्व ढुंगाना जेल जीवन बिताइरहेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाको प्रमुख रहेका बेला महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा ५ असोज २०७९ मा उनी पक्राउ परेका थिए ।  पछि १५ कात्तिक २०७९ मा धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उनी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं उपत्यकाभित्रै सेवाग्राही महिलामाथि त बलात्कार नै भएकोसम्म आरोप डीएसपी राजकुमार खिउजुलाई लागेको थियो । प्रहरी वृत्त चापागाउँको डीएसपी रहेका बेला आफूमाथि बलात्कार भएको दाबी गर्दै एक महिलाले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । बलात्कारको जाहेरी परेपछि २१ फागुन २०७६ मा डीएसपी खिउजुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरी रिपोर्ट बनाउन भनेर प्रहरी वृत्त चापागाउँमा सोधपुछ गर्न गएकी ती महिलालाई डीएसपी खिउजुले दबाब र प्रभावमा पारेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको भन्दै मुद्दा चलाइएको थियो । बलात्कार मुद्दामा पुर्पक्षका लागि उनी १ वर्ष जेल बसेपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको ९ वैशाख २०७८ को इजलासले उनलाई सफाई दिएको थियो । त्यसपछि सरकारी पक्ष उच्च अदालत गएकोमा यो मुद्दा उच्चमा विचाराधीन छ ।

पछिल्लो ५ वर्षको नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने बाल यौन दुरुपयोग र बलात्कारसम्बन्धी कसुरमा १० जना प्रहरी अधिकारीहरुविरुद्ध कारबाही भएको छ । त्यसमध्ये बाल यौन दुराचारमा ५ र बलात्कारसम्बन्धी कसुरमा ५ जना छन् ।

गम्भीर फौजदारी अभियोग लागेको पाइएपछि मुद्दा चलाएर उनीहरु विरुद्ध कारबाही गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।

५ वर्षमा ३८६ प्रहरीविरुद्ध फौजदारी कसुरमा कारबाही

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको अवधिमा ३८६ प्रहरी फौजदारी कसुरको आरोपमा करबाहीमा परेका छन् । हेडक्वाटरको तथ्यांकअनुसार सबैभन्दा बढी सवारी ज्यानको कसुरमा ४९ प्रहरी अधिकारीविरुद्ध कारबाही गरिएको छ । पछिल्लो पटक एसपी (हाल एसएसपी बढुवामा सिफारिस)  भीमबहादुर दाहालविरुद्ध सवारी ज्यानको मुद्दा चलेको थियो ।

प्रदेश प्रहरी कार्यालय धरान रहेका बेला २०८० मंसिरमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडीको ठक्करबाट मे १० प १६६९ नम्बरको मोटरसाइकलका चालक अनिल मडीको मृत्यु भएको थियो ।

त्यसबेला जिला प्रहरी कार्यालय झापाले एसपी दाहाललाई हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो । अदालतबाट उनी तारेखमा छुटे, तर मुद्दा विचाराधीन नै छ ।

लागुऔषधसम्बन्धी कसुरमा संलग्न भई कारबाही भोग्ने प्रहरीको संख्या ४७ छ । अहिले लागु औषधको कसुरमा हिरासतमा रहेका सई पोखरेलभन्दा अघि ललितपुरकै परिसरकै इन्सपेक्टर रुद्र शाही लागुऔषधसहित ११ असार २०७७ मा पक्राउ परेका थिए ।

समाज भड्किलो बन्दै गइरहेको, लगाएका, खाएका चिजहरु पनि सञ्जालमा प्रदर्शन गर्नुपर्ने देखासिखीको ‘प्रदर्शनवाद’ विकृत प्रहरीभित्रै देखिँदा आर्थिक अपराधमा प्रहरीहरु जोडिएको विषय प्रवक्ता कार्की स्वीकार्छन् ।

इन्सपेक्टर शाही आफैंले लकडाउनको समयमा समेत तराईमा गएर लागुऔषध ल्याएर काठमाडौं उपत्यकामा बेच्ने गरेको खुलेपछि ब्युरोको टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी पुर्पक्षमा जेल चलान भइसकेका छन् ।

प्रहरी जोडिएको तस्रो ठूलो फौजदारी अपराध ‘घुस, रिसवत तथा भ्रष्टाचार’ हो । पछिल्लो पाँच आर्थिक वर्षको अहिलेसम्म घुस तथा भ्रष्टाचारमा जोडिएका ४३ प्रहरीलाई कारबाही गरिएको छ । पछिल्लो पटक २० चैत २०८० मा भ्रष्टाचार काण्डमै डीएसपी ठगबहादुर केसीलाई अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख भएको बेला केसीले ११ पुस २०७९ मा ३५ तोला सुन नियन्त्रणमा लिएर फिर्ता नगरेको आरोपमा सीआईबीले पक्राउ गरेको थियो ।

सुन फिर्ताका लागि रकम समेत लिएर भ्रष्टाचार गरेको देखिएको भन्दै प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न पठाएको थियो । अख्तियारले १३ भदौ २०८० मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यसैगरी चोरीमा २८, ज्यानसम्बन्धी कसुरमा २७, बहु विवाह सम्बन्धी कसुरमा २३, आर्थिक लाभ लिएको कसुरमा २३ नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा १९ जनाविरुद्ध बारबाही गरिएको प्रहरीको तथ्यांक छ ।

अपहरण तथा शरीर बन्धकको कसुरमा १२, जुवा सम्बन्धी कसुरमा ११, थुनुवा वा कैदी भएकोसम्बन्धी कसुरमा १०, संगठित अपराधको कसुरमा १०, सरकारी छाप कीर्ते कसुरमा ५, हाहतियार तथा खरखजनासम्बन्धी कसुरमा ५, बलात्कार सम्बन्धी कसुरमा ५, बाल यौन दुरुपयोग सम्बन्धी कसुरमा ५, बाल विवाहसम्बन्धी कसुरमा ३ । अन्य कसुरमा ६१ गरी ३८६ जना प्रहरीलाई कारबाही तथ्यांक हेडक्वाटरको छ ।

प्रदर्शनवादको असर, नैतिक शिक्षाको खाँचो

प्रहरी पनि समाजकै प्रतिबिम्ब भएकाले फौजदारी अपराधमा जोडिने गरेको तर्क प्रहरी कर्मचारीहरुले गर्दै आएका छन् । प्रहरी जोडिएका आर्थिक अपराधको पाटोमा भने प्रदर्शनवादको असर देखिएको प्रहरी कर्मचारीहरुको बुझाइ छ ।

समाज भड्किलो बन्दै गइरहेको, लगाएका, खाएका चिजहरु पनि सञ्जालमा प्रदर्शन गर्नुपर्ने देखासिखीको ‘प्रदर्शनवाद’ विकृत प्रहरीभित्रै देखिँदा आर्थिक अपराधमा प्रहरीहरु जोडिएको विषय प्रवक्ता कार्की स्वीकार्छन् ।

प्रहरी संगठनको वृत्ति विकास शाखामा लामो समय बसेर काम गरेका एक अधिकृत नैतिक स्खलन प्रहरीमा पनि देखिन थालेको बताउँछन् । ‘जसरी पनि आर्थिक आर्जन गर्नुपर्ने सोचाइ छ । आर्थिक रुपमा धेरै चिन्तित देखिन्छ । तर नैतिकता, सदाचार, प्रतिष्ठाजस्ता विषय अहिले गौण बन्ने गरेका छन्’, ती अधिकृतका भन्छन्, ‘त्यसैको बाइप्रोडक्ट अहिले राष्ट्रसवेकहरु आफैं आर्थिक अपराधमा मुछिएका छन् ।’

उनका अनुसार स्टाफ कलेज (नेपाल प्रशासनिक प्रशिक्षण प्रष्ठिान)ले केही समयअघि मात्रै १ हजार जना राष्ट्र सेवकहरुमा (चार वटै सुरक्षा निकाय र निजामति समेत) गरेको कहाँ, कुन ठाउँका पोस्टिङमा जान चाहनुहन्छ भनेर सर्वेक्षणमा अधिकांशको रोजाइ कमाइ हुने भनिएका ठाउँमा देखिएको थियो । जसकारण आर्थिक आर्जनलाई केन्द्रमा राख्दा आर्थिक अपराधका घटनामा राष्ट्र सवेकहरु मुछिन थालेको उनले सुनाए ।

प्रहरी कर्मचारी नै फौजदारी अपराधको घटनामा मुछिनुबारे फौजदारी अपराधका जानकार प्रधानांगको बुझाइ भने अझै फरक छ । अपराधको शैली र अनुसन्धान पद्धतिबारे प्रहरी जानकार भएकाले अपराधमा संलग्न हुने गरेको उनले सुनाए ।

‘प्रहरीलाई अपराध गर्ने शैली पनि थाहा छ, अनुसन्धान गर्ने पद्धति पनि थाहा छ । अपराध गरे पनि कसैले थाहा पाउँदैनन् सहजै बचिहाल्छु भन्ने सोच उनीहरुमा देखिन्छ’, प्रधानांगले अनलाइनखबरसँग भने, ‘फौजदारी अपराधमा मुछिएका जति प्रहरी हुन्छन्, तिनीहरुको विवरण हेर्नुभयो भने अधिकांश सादा पोशाकमा बसेर अपराध अनुसन्धान गरेकै भेटिन्छन् ।’

नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल प्रहरी संगठनभित्रै नैतिक शिक्षाको खाँचो भएको बताउँछन् । ‘कानुन हुँदा पनि अपराध भइरहेको छ भनेपछि त्यो पर्याप्त छैन भन्ने बुझिन्छ । त्यसैले नैतिक शिक्षामा जोड दिनुको विकल्प छैन’, पूर्वएआईजी पोखरेलले भने, ‘एउटा बच्चा हुर्किँदै उसले घर, समाजबाट कस्तो नैतिक शिक्षा पायो, स्कुलबाट कस्तो शिक्षा पायो र प्रहरी संगठनमा आएपछि उसको स्कुलिङ कस्तो छ भन्ने कुराले अपराधमा ठूलो अर्थ राख्छ ।’

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?