+
+
साताको सेयर बजार :

साल्ट ट्रेडिङले उचाल्यो व्यापार समूह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १७:००

यो साता सेयर बजारमा व्यापार समूह सबैभन्दा धेरै १०.३६ प्रतिशत बढ्यो । यो समूह यति ठूलो अंकमा बढ्नुको मुख्य कारण साल्ट ट्रेडिङको मूल्य बढ्नु हो ।

व्यापार समूहमा २ कम्पनी मात्रै सूचीकृत छन् – साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार । विशाल बजारको पूँजीकृत रकम १ अर्ब ८८ करोड मात्रै छ भने साल्ट ट्रेडिङको १५ अर्ब ७७ करोड छ । त्यसकारण साल्ट ट्रेडिङले नै यो समूहलाई डोहोर्‍याउँछ ।

साल्ट ट्रेडिङको मूल्य उच्च दरमा बढ्दा यो समूहले यो साता सबैभन्दा राम्रो प्रदर्शन गर्‍यो । गत साता यस कम्पनीको मूल्य प्रतिकित्ता ४४१२ रुपैयाँ रहेकोमा यो साता ४९१९ पुग्यो अर्थात् ११.४९ प्रतिशत बढ्यो ।

विशाल बजारको मूल्य पनि २ प्रतिशत बढेपछि यो साता व्यापार समूह चम्किएको छ । कम्पनीको यसै साता ४ लाख १८ हजार ३२६ कित्ता बोनस सेयर सूचीकृत भयो । सेयर थपिएपछि कारोबारसँगै मूल्य पनि बढेको छ ।

कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण सुधारोन्मुख देखिनुले पनि मूल्य बढ्नमा टेवा पुर्‍याएको छ । सो वित्तीय विवरणअनुसार खुद नाफा ३९ प्रतिशत बढेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६० पैसा छ ।

परिसूचकमा न्यून उतारचढाव
साताका अधिकांश दिन परिसूचक नेप्सेको उतारचढाव एकल अंकमै रह्यो । अन्ततः यो साता एकल अंककै वृद्धि भएको छ । गत साताको तुलनामा यो साता नेप्से ८ अंक बढ्यो । गत साता २०६९ अंकमा बन्द भएको बजार यो साता २०७७ अंकमा बन्द भयो ।

पहिलो दिन आइतबार १३.५१ अंक बढेको बजार सोमबार ३.९७ अंक घट्यो । मंगलबार ६.२२ अंक बढेको बजार बुधबार ५.५८ र बिहीबार १.९३ अंक घट्यो । अंकमा सामान्य उतारचढाव देखिएको बजारमा कारोबार रकम भने उल्लेख्य छ ।

आइतबार ४ अर्ब ३१ करोड, सोमबार ४ अर्ब, मंगलबार ४ अर्ब ८ करोड, बुधबार ३ अर्ब ९९ करोड, बिहीबार ४ अर्ब ३८ करोडको कारोबार भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?