+
+

बुबा राष्ट्रिय सभा सदस्य, छोरा मुख्यमन्त्री

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ जेठ २५ गते १५:१३

२५ जेठ, जनकपुरधाम । शुक्रबार बिहान मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भए ।

जनमत पार्टीका सांसद सिंह नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

सिंह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का बासिन्दा हुन् । ४२ वर्षीय सिंह आमा उषादेवी र बुबा शेखरकुमार सिंहका तीनमध्ये माइलो छोरा हुन् ।

शेखरकुमार सिंह राष्ट्रिय सभा सदस्य छन् । उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । अहिले उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । शेखर गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीदेखि नै राजनीतिमा सक्रिय छन् ।

मुख्यमन्त्री सिंहले दोस्रो संविधान सभाको निर्वाचनको बेला राजनीतिक यात्रा सुरु गरेका थिए । त्यतिबेला उनी शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको सप्तरी जिल्ला अध्यक्ष भएका थिए ।

पछि पार्टी एकता हुँदा बनेको राष्ट्रिय जनता पार्टी (राजपा) बाट २०७४ को स्थानीय चुनावमा सिंह तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष चुनिए ।

स्थानीय तहको २०७९ को चुनावमा पुनः अध्यक्षमा प्रतिस्पर्धा गरेका सिंह पराजित भए ।

त्यसपछि प्रदेश सभा चुनाव २०७९ को केही दिन अघि जनमत पार्टीमा प्रवेश गरे ।

सिके राउत प्रतिनिधि सभा सदस्यमा सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बन्दा सिंह प्रदेशतर्फ २ (क) मा उम्मेदवार बने । र फराकिलो मतान्तरले तत्कालीन मधेश प्रदेशका अर्थमन्त्रीसमेत रहेका जसपा नेपालका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गरे ।

सिंहले १६ हजार ७३४ मत प्राप्त गरी विजयी हुँदा साहले ८ हजार २९२ मत पाएका थिए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?