+
+

बेथानचोकमा अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको गढीको पहिचान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते ८:०३

२६ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको महत्वपूर्ण गढीको पहिचान गरिएको छ ।

त्रिवि नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी सहप्रा.डा. सन्ध्या खनाल पराजुलीको नेतृत्वमा भएको अध्ययनबाट सो क्षेत्र उपत्यकामा युद्ध रोक्नका लागि निर्माण गरिएको महत्वपूर्ण सहायक गढी रहेको भेटिएको हो ।

यो गढीमा गोरखाली सेना र सेनवंशी सेनाबीच युद्ध भएको र तामाङ सेनाहरू सो युद्धमा सहभागी भएको भेटिएको छ ।

शुक्रबार गाउँपालिकाको वडा नं ५ मा रहेको कपेर महांकाल गढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरूले यो गढी सामरिक र रणनीतिक रूपमा महत्वपूर्ण रहेको दाबी गरेका छन् ।

बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रबार सोही गढी क्षेत्रमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरुले सो गढीमा सेन वंशी सेना र गोर्खाली सेनाबीच ठूलो युद्ध भएको र अंग्रेजलाई उपत्यकामा रोक्नका लागि तयार पारिएको रणनीतिक महत्वको गढी भएको दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले यो रणनीतिक महत्वको गढी हुन सक्ने स्थानीय किंवदन्ती रहेकोमा यसलाई व्यवस्थित अध्ययनबाट पुष्टि गर्न यो अध्ययन गराइएको जानकारी दिए ।

उनले हालसम्म चर्चामा नरहेको यो गढीको ऐतिहासिक महत्व पुष्टि भएपछि अब यसलाई संरक्षण गर्दै यसलाई सबैको पहिचानमा पुर्‍याउन गाउँपालिका तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै इतिहासविद् प्रा.डा. दिनेशराज पन्तले काठमाडौं उपत्यकामा मध्यकालदेखि नै पटकपटक पूर्वबाट आक्रमण हुने गरेको भन्दै पूर्वपट्टिको त्यो गढी वास्तवमै रणनीतिक महत्वको गढी रहेको बताए ।

यदि यस्तै गढी किल्लाहरू नभएको भए पृथ्वीनारायण शाहको पुनः एकीकरण सम्भव नभएको भन्दै कपेर महांकाल गढीको महत्व उपत्यकामा अंग्रेज सेनालाई प्रवेश गर्न नदिनको लागि तयारी अवस्थामा राखिएको सहायक गढी रहेको उनको भनाइ छ ।

प्रा.डा. मदनकुमार रिमालले अवस्थिति र भूगोलको आधारमा हेर्दा हरिहरपुर गढी दपेटेको खण्डमा अंग्रेज सेनालाई रोक्नका लागि यो व्यवस्थित गढीको निर्माण गरिएको देखिएको बताए ।

नेपाल उपत्यकामा भएका आधिकांश आक्रमणहरु पूर्वतर्फबाट हुने गरेकोले पूर्वतर्फ बलिया र महत्वपूर्ण गढीहरुको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको उनको भनाइ छ ।

यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुन सक्ने उनको अनुमान छ । सोही व्यवस्थित गढीलाई पछि अंग्रेज सेनाहरुले सेन सेनालाई जितेर हरिहरपुरको सहायक गढीको रुपमा विकास गरेको हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै, कपेर महांकाल हुँदै थाम डाँडा पुगेर दक्षिणपूर्वी भेगमा उपत्यकाले व्यापार गर्ने व्यापार मार्ग चल्ने गरेको पनि अध्ययनको क्रममा भेटिएको छ ।

हाल बेथानचोक गाउँपालिका वडा नं ५ र १ बाट काठमाडौं उपत्यकाका विभिन्न राज्यले दक्षिणतर्फ व्यापार गर्ने गरेको संकेत भेटिएको हो ।

साविक च्यासिङखर्क गाविस कपेर महांकाल डाँडा हुँदै थामडाँडा निस्किएर दक्षिणतर्फ भारतसम्म जाने परम्परागत बाटो रहेको स्थानीय किंवदन्ती भेटिन्छ ।

डिआर रेग्मीद्वारा लिखित मिडिएबल नेपालले पनि यो क्षेत्र हुँदै व्यापारिक मार्ग दक्षिणतर्फ जाने गरेको संकेत गरेका छन् ।

बेथानचोकको वडा नं १, वडा नं ५ र वडा नं ६ बाट दक्षिणतर्फको व्यापारका लागि जाने गरिएको स्थानीय किंवदन्ती र इतिहास भेटिन्छ । पालिकाको वडा नं १ बाट फापरबारी हुँदै गौरपुग्ने बाटो पनि रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?