+
+

मन्त्रालय भागबण्डा मिलाउन मोदीलाई सकस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते ८:०४

२७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो ।

लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् । यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । नेहरु १९५२, १९५७ र १९६२ मा भएका आम निर्वाचन जित्दै तीनपटक प्रधानमन्त्री बनेका थिए ।

लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि मोदी जेठ २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहण पछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् । शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।

कोको बन्दैछन् मन्त्री ?

भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय आफैंसँग राखेको छ ।

गठबन्धनका अन्य दलहरुलाई नागरिक उड्डयन, कोइला, इस्पात लगायतका आकर्षक मन्त्रालय जिम्मा दिने तयारी छ । सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने भनिए पनि भागबण्डा सार्वजनिक भएको छैन । को–को मन्त्री बन्दैछन् भन्ने पनि अहिलेसम्म खुलाइएको छैन ।

सम्भावित मन्त्रीहरुको सूचीमा जितनराम माझी, राजनाथ सिंह, जयन्त चौधरी, अनुप्रिया पटेल, नितिन गडकरी, सुदेश महतो, एसडी कुमार स्वामी, प्रह्लाद जोशी, जयन्त चौधरी, राममोहन नायडु, पी चन्द्रशेखर लगायत रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

मन्त्री पदको भागबण्डा मिलाउन राति अबेरसम्म अमित शाहको निवासमा भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुको बैठक बसेको थियो । अघिल्ला दिनहरुमा पनि लगातार बैठक र छलफल भइरहेको थियो । तर सहमति जुटेको छैन ।

भारतमा कति हुन्छन् मन्त्री ?

भारतको संविधानमा भएको व्यवस्था अनुसार लोक सभाको कूल सदस्य संख्या (५४३) को १५ प्रतिशत अर्थात् ८१ जनाभन्दा धेरै मन्त्री बनाउन पाइँदैन ।

मोदीले सन् २०१४ मा सुरुमा ४६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । त्यसमा २४ जना क्याबिनेट मन्त्री, १० जना राज्यमन्त्री स्वतन्त्र प्रभार र १२ राज्यमन्त्री थिए । सन् २०१९ मा मोदीसहित ५८ मन्त्रीले शपथ ग्रहण गरेका थिए । तर दुवै कार्यकालमा मन्त्रिपरिषद विस्तार गरेर क्रमशः ७१ र ७२ पुगेको थियो ।

यसपटक भागबण्डा मिल्न बाँकी रहेकाले मोदीले सुरुमा ३० देखि ४० जनासम्मको मात्र मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड पनि नयाँदिल्ली जाँदै

मोदीको शपथ ग्रहण समारोहलाई लक्षित गरी भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि मोदीको शपथ ग्रहण समारोहमा निम्तो दिइएको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाँदैछन् ।

श्रीलंका, मालदिभ्स, बंगलादेश, मोरिसस, भुटान लगायतका देशका सरकार तथा राष्ट्रप्रमु्खहरु पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २०१४ मा मोदीको शपथ ग्रहण समारोहमा सार्क सदस्य राष्ट्रका नेताहरु सहभागी थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?