+

घाइते पाकिस्तान, रहस्यमय पिच र उत्साहित भारत

२०८१ जेठ  २७ गते ८:२९ २०८१ जेठ २७ गते ८:२९
घाइते पाकिस्तान, रहस्यमय पिच र उत्साहित भारत

२७ जेठ, वेस्टबरी । पाकिस्तानले टी–ट्वान्टी विश्वकप २०२४ मा आइतबार भारतको सामना गर्दा यो टिम रहनेछ, घाइते स्थितिमा । घाइते नहोस् पनि किन, अमेरिकाविरुद्ध बेहोरेको हारलाई पाकिस्तानी क्रिकेटले पचाउन सकेको छैन । अनि टिम आफैं आपतमा धकेलिएको छ ।

समूह ‘ए’ को खेलमा अमेरिकाले डलासमा पाकिस्तानलाई सुपर–ओभरमा हराएको थियो । अमेरिकाको यो लगातार दोस्रो जित रह्यो । अब पाकिस्तानी कप्तान बाबर आजमले एक अर्को हार सामना गर्न सक्दैन ।

नत्र पाकिस्तानको सुपर–एटको सम्भावना असाध्यै कमजोर हुनेछ । सन् २०२२ को टी–ट्वान्टी विश्वकप फाइनलमा बाबरको टिम इंग्ल्यान्डसँग हारेको थियो । त्यसयया पाकिस्तानका लागि केही पनि राम्रो भएको छैन ।

टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान शृंखलाबद्ध रूपमा अफगानिस्तान, प्रमुख खेलाडी विनाको न्युजिल्यान्ड, आयरल्यान्ड र इंग्ल्यान्डसँग हारेको हार्‍यै छ । बिहीबारको खेलमा त पाकिस्तान अमेरिकासँगै स्तब्ध नै भयो ।

पाकिस्तानभित्र अहिले आफ्नो क्रिकेट टिमको चर्को आलोचनाको लहर चलिरहेको छ । पाकिस्तानका पूर्व फास्ट बलर वकार युनिसले ‘एक्स’ मा लेखेका छन्, ‘अमेरिकाविरुद्ध पाकिस्तान मैदानमा उकुसमुकुस देखियो ।’

पाकिस्तानको विकेट लिएपछि अमेरिकाकाे खेलाडीहरू ।

अर्का फास्ट बलर सोएब मल्लिक भन्छन्, ‘दुर्भाग्यले पाकिस्तान त्यस खेलमा कहिल्यै जितको हकदार देखिएन ।’ डर छ, पाकिस्तानका खराब दिन सकिने छाँट छैन । भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल न्युयोर्कको ३४ हजार दर्शक क्षमताको रंगशालामा हुनेछ ।

यो रंगशालाको पिच आफैंमा रहस्यमय छ । बलले कति बेला कहाँतिर ‘बाउन्स’ लिन्छ, पत्तो छैन । फेरि उत्साहित भारतसँग धारिलो बलिङ आक्रमण छ, जसप्रित बुमराह र मोहम्मद सिराजका रूपमा ।

जिम्बावेका पूर्व कप्तान एन्डी फ्लावरले त्यो पिचको खुबै आलोचना गरेका छन् । उनको भनाइ थियो, यो पिच ब्याटरका लागि डरलाग्दो छ । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटका लागि यो पिच उपयुक्त छैन । यो पिचले ब्याटरलाई चोटग्रस्त बनाउन सक्छ ।’

यसमा भारतका पूर्व खेलाडी संजय मन्जरेकर पनि सहमत छन् । उनी मान्छन्, ‘यो पिचमा केही न केही खराबी छ ।’ अनिअगाडि भन्छन्, ‘हुन सक्छ, यो पिच ढंगले बनेकै छैन । अथवा हुन सक्छ, यो पिचमा त्यो तत्त्व छ, जसमाथि कुनै नियन्त्रण भन्ने नै छैन । ब्याटरले खेल्न नखोजेको पनि देखिन्छ, तर चुकेका छन ।’

यसै पिचमा श्रीलंका दक्षिण अफ्रिकाविरुद्ध ७७ रन बनाएर अलआउट भएको थियो । अनि भारतले आयरल्यान्डलाई यही पिचमा ९६ रनमा समेटेको थियो ।

पाकिस्तानको माथिल्लो ब्याटिङ क्रममा बाबरले फेरिएकपलट मोहम्मद रिजवानको साथ पाएका छन् । तर पाकिस्तानी टिमको समस्या झनेको मध्यक्रमको ब्याटिङ हो । मध्यत्रमका पाकिस्तानी ब्याटर फिक्का फिक्का देखिएका छन् ।

अनि पाकिस्तानी बलिङ आक्रमणमा रंगहीन छ । न त ह्यारिस रउफ न त मोहम्मद आमिर सटिम देखिएका छन् । अहिलेसम्मको स्थितिमा पाकिस्तानको तुलनामा भारत एक पाइला अगाडि देखिन्छ । तर यो झिनो अन्तर मात्रै हो ।

रोहित शर्मा र विराट कोहलीको भारतले यसै पिचमा आयरल्यान्डलाई हराउन अगाडि बंगलादेशसँगै मैत्रीपूर्ण खेल पनि खेलेको थियो । आयरल्यान्डविरुद्धको त्यस खेलमा रोहित घाइते भएका थिए ।

‘पिच राम्रोसँग हेरेर मात्र टिम कस्तो हुनेछ, त्यो निर्णय हुनेछ,’ कप्तान रोहितले भनेका छन्, ‘हामी टिममा सन्तुलन चाहन्छौं । यदी पिचले सिमरलाई मदत गर्छ भने हामीले त्यही अनुसार टिम बनाउने छौं । त्यसैले सबै खाले फेरबदलको सम्भावना खुल्ला छ ।’

 

टी–ट्वान्टी विश्वकप २०२४ भारत पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय