+
+

कोशी सरकार गठनविरुद्धको मुद्दा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते ११:३६

२७ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलास परेको छ ।

कार्कीले एक महिनाअघि २७ वैशाखमा सर्वाेच्च अदालतमा रिट दायर गरेका  थिए । यसअघि संयुक्त इजलासमा सुनुवाई भएको रिट आजबाट पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

पूर्ण इजलासमा आज कोशी सरकार गठन विरुद्धको मुद्दा मात्रै छ । गत बुधबार न्यायाधीश  तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

बुधबार रिटमा प्रतिवादी बनाइएका मुख्यमन्त्री हिक्मतकुमार कार्की पक्षका कानुन व्यवसायीले भने संवैधानिक इजलासको माग गरेका थिए । संवैधानिक इजलासमा जाने वा नजाने भन्ने निर्णय आजको इजलासले गर्नेछ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असाेज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले अल्पमतमा परेको ३० दिनसम्म विश्वासको मत नलिएपछि २७ वैशाखमा प्रदेश प्रमुखले ५२ जना सांसदको समर्थनमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सोही दिन केदार कार्कीले प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव बदर, हिक्मत कार्कीले नियुक्ति बदर र मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित रिट दायर गरेका थिए ।

२८ वैशाखमा सर्वोच्च अदालतले विपक्षीसँग जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो । १६ जेठमा पेसी चढे पनि रिट हेर्न भ्याइएन् । २३ जेठमा पूर्ण इजलासमा पठाउने आदेश भएको थियो ।

कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै केदार कार्की एमालेको समर्थनमा २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । २१ फागुन २०८० मा केन्द्रीय सत्तासमीकरण फेरिएपछि अल्पतमा परेका कार्कीले राजीनामा पनि दिएनन् ।

विश्वासकाे मत पनि लिएनन् । विश्वासकाे मत नलिएपछि संविधानको धरा १६८ को उपधारा ५ अनुसार नै प्रदेश प्रमुखले अर्काे सरकार आह्वान गरी हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?