+
+

पटिहानीमा १ करोड २० लाख लागतमा तयार भयो स्टोन पार्क

सुवास पण्डित सुवास पण्डित
२०८१ जेठ २७ गते १६:१३

२७ जेठ, चितवन । पश्चिम चितवनको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको पटिहानीमा स्टोन पार्क सञ्चालनमा आएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा १८ कट्ठा जमिनमा पार्क निर्माण गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीमा तयार भएको स्टोन पार्कको महानगर प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् । वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार वडा कार्यालयको ५० लाख, महानगरपालिकाको ३० लाख र नारायणी नदी व्यवस्थापन आयोजनाको ४० लाख रुपैयाँको लागतमा ढुंगैढुंगाको पार्क निर्माण गरिएको हो ।

पटिहानीमा अम्ब्रेला स्ट्रिट बनाएर चर्चामा आएका वडाध्यक्ष महतोले पटिहानीमा पर्यटकहरुको भ्रमण अवधि बढाउन र साँच्चै नै घुम्ने गन्तव्यहरु बढाउन स्टोन पार्क थपिएको बताए ।

उनका अनुसार अम्ब्रेला स्ट्रिटदेखि स्टोन पार्कसम्म पर्यटकहरु हिँडेरै घुम्न जान सक्ने गरी पूर्वाधारको विकास गरिनेछ ।

स्टोन पार्कमा ढुंगाको वाटर फाउन्टेन, सेल्फी प्वाइन्ट, राप्ती नदी भ्यू प्वाइन्ट, भ्यू टावर, विभिन्न आकर्षक ढुंगाका आइल्याण्ड, विभिन्न कला संस्कृति झल्किने आकृतिहरु तयार गरिएका छन् ।

स्थानीय बोटे समुदायको बसोबासस्थल र राप्ती नदीको तटीय क्षेत्र तथा सुवारी खोलाको किनारमा स्टोन पार्क रहेको छ । पार्कमा ढुंगैढुंगा बिछ्याएर आकर्षक बनाइएको छ ।

पार्कमा बनेका आइल्याण्डहरुको संरक्षणको जिम्मा पटिहानीका सबै जसो ठूला होटलहरूलाई तोकेर नै दिइएको वडाध्यक्ष महतोले बताए ।

‘विगतमा असाध्यै खोला लाग्ने, फालिएको जमिन हो, नदी उकास गरेर राम्रो बनाइएको हरियाली सुन्दर ठाउँमा पार्क छ, नजिकै बोटे समुदायको बाक्लो बसोबास छ, पक्कै पनि यो पार्क पटिहानीको अर्को पर्यटकीय गन्तव्यका रुपमा विकास हुन्छ’, वडाध्यक्ष महतोले भने ।

पटिहानी क्षेत्रका सबै ठूला होटलहरूले यही पार्क भित्रबाट पयर्टकहरूलाई डुंगा चढाएर राति नदीमा शयर गराउने गर्छन् । सोही कारण पनि पटिहानी आउने प्रायः पर्यटकले स्टोन पार्क टेक्ने विश्वास लिएको वडाध्यक्ष महतोले जानकारी दिए ।

उनले पार्क छिर्ने गेटका भित्ताहरूमा स्थानीय थारु र बोटे समुदायका संस्कृति र परम्परा झल्किने सुन्दर आकृतिहरु कोर्ने काम बाँकी नै रहेको बताए ।

पार्कमा खुला व्यायमशाला, बालबच्चाहरुको लागि खेल्ने खेलाउने विभिन्न सामग्रीहरु आगामी आर्थिक वर्षमा राख्ने योजना छ । यस्तै, मूर्तिकारहरुको एक कार्यशाला राखेर विभिन्न जीव जनावरका मूर्तिहरु तयार गर्ने काम पनि गरिने वडाध्यक्ष महतोले जानकारी दिए ।

राप्ती नदीमा माछा मारेर जीविका चलाउने बोटे समुदायको आयआर्जन र रोजगारीमा स्टोन पार्कले महत्वपूर्ण योगदान दिने विश्वास आफूले लिएको वडाध्यक्ष महतोले बताए ।

पार्क खुलेसँगै तीन जना बोटे समुदायका ब्यक्तिहरुलाई रोजगारी दिइएको छ । पार्कभन्दा बाहिर पनि बोटे समुदायका ब्यक्तिहरुले साना साना पसल तथा कटेजहरु सञ्चालन गर्न थालिसकेका छन् ।

नदीमा माछा मार्ने पेशा गर्ने बोटेहरुलाई आत्मनिर्भर र रोजगारी प्रदान गर्न पार्कले महत्वपूर्ण योगदान गर्ने विश्वास आफूले लिएको वडाध्यक्ष महतो बताउँछन् । पार्कको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय राप्ती बोटे महिला समूहले लिने छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट टिकट स्वीकृत गराएपछि पार्कमा छिर्न २० रुपैयाँ शुल्क तिनुपर्ने वडाध्यक्ष महतोले बताए ।

स्टोन पार्कलाई अम्ब्रेला स्ट्रिटसँग जोड्न बीचमा पटिहानी इको पार्क बनाउने र त्यसको लागि ३ करोड रुपैयाँको लागतमा पिकनिक स्पट, नदीबाट जमिन संरक्षण लगायतका कामहरु भइरहेको वडाध्यक्ष महतोले जानकारी दिए ।

२५ करोडको लागतमा इको पार्क बनाउने योजना छ । सुवारी खोलामा हिउँदमा पौडी खेल्न मिल्ने गरी पानीको तलाउसमेत बनाउने योजना छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पटिहानीको पर्यटन क्षेत्रको विकासका लागि महानगरले केन्द्र सरकार, प्रदेश सरकार तथा आफ्नै स्रोतबाट समेत लगानी गर्दै आएको बताइन् ।

भरतपुर भ्रमण बर्षमा महानगरमा यस्ता पर्यटकीय पूर्वाधारहरु थप्दै लैजाने योजना रहेको पनि उनले सुनाइन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?