+
+

सुनकोसी–मरिण डाइभर्सनमा तोकिएभन्दा बढी खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १८:५२

२७ जेठ, काठमाडौं । राष्ट्रिय गौरवको ‘सुनकोसी–मरिण डाइभर्सन आयोजना’ ले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएभन्दा बढी रकम खर्च गरेको छ ।

चालु आवका लागि आयोजनालाई विनियोजन गरेको रकम नपुगेर अर्थ मन्त्रालयले थप १ अर्ब ४० करोड रुपैयाँ निकासा दिएको छ ।

यो आयोजनाको सुरुङको गत २६ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘ब्रेक थ्रु’ गरेका थिए ।

चालु आव परियोजनाका लागि २ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । थप १ अर्ब ४० करोडसमेत गरी आयोजनाले चालू आव ४ अर्ब १० करोड खर्च गर्ने भएको हो ।

सिन्धुली खुर्कोटबाट १३.३ किलोमिटर लामो सुरुङ खनेर मरिण खोलामा सुनकोसीको पानी डाइभर्सन गर्ने गरी यो परियोजना निर्माण भइरहेको छ ।

सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुली कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ ।

मरिणखोला हुँदै सुनकोशीको पानी बागमती नदीमा मिसिने छ र तराईका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुग्ने छ ।

बागमतीमा सञ्चालित बागमती सिँचाइ आयोजनाबाट सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य छ ।

आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुने

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ मा आयोजना शिलान्यास गरेका थिए । २८ असोज २०७९ बाट आयोजनाको सुरुङ निर्माण थालिएको थियो ।

सुरुङ निर्माण सकिए पनि बाँध तथा विद्युतगृहमा भने अपेक्षित प्रगति भएको छैन । ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) बाट सुरुङ खनिएको भेरी बबई डाइभर्सन आयोजनाको नियति यो आयोजनाले पनि भोग्ने देखिएको छ ।

भेरी बबई आयोजनाको सुरुङ पनि निर्धारित समयभन्दा छिटो निर्माण भए पनि बाँध निर्माण अहिलेसम्म सम्पन्न नहुँदा आयोजना अलपत्र छ ।

बाँध निर्माण गर्न नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । असोज २०८४ मा आयोजना पूर्णरूपमा सक्ने लक्ष्य छ ।

आगामी आवका लागि यो परियोजनालाई ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?