+
+

अमेरिकाबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ २७ गते १९:५२

२७ जेठ, काठमाडौं। ४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिन्छ ।

भन्सारका कर्मचारीले शंकास्पद देखेपछि वासिङ मेसिन खोलेर हेर्दा फल्स बटन बनाएर २० किलो गाँजा लुकाएको फेला पर्छ । गाँजा भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई खबर गर्छ ।

ब्यूरोको टोलीले वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंबाट मुद्दा दायर गरेको छ । १० किलो भन्दा बढी गाँजा ओसारपसार गरेको भन्दै उनीहरुविरुद्ध दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

सुखल दम्पतीले करिब २ वर्षअघि सुशान्त इम्पेक्स नामक दर्ता गरेर विदेश सामान पठाउने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेका दम्पतीले उक्त गाँजा आफूहरुले नमगाएको दाबी गरेका छन् । गत २ चैत २०८० मा सुखलसँग चिनजान भएका विशाल जैसवालले आफूहरुको कम्पनीमार्फत वासिङ मेसिन मगाएको र त्यसभित्र गाँजा भेटिएको भनाइ सुखल दम्पतीको छ ।

सबै खर्च ब्यहोर्ने भन्दै विशालले अर्डर गरेपछि वासिङ मेसिन अमेरिकाबाट आफूहरुको कम्पनीको नाममा आएको उनीहरुको भनाइ छ । नार्थन आर मिचेलीको नाममा अमेरिकामा रहेको किस बैंकको खाता मार्फत रकम भुक्तानी गरेर वासिङ मेसिन खरिद गरेर पठाइएको अनुसन्धानबाट खुलेको छ ।

उक्त वासिङ मेसिन मगाउने व्यक्तिले सुरुमै १ लाख ५५ हजार शान्तिको प्रभु बैंकको खातामा जम्मा गरेको प्रहरीले भेटेको छ । सोही रकमबाट भन्सार शुल्क वापत भन्सार एजेन्ट सागर अर्यालको खातामा रकम हालिएको दम्पतीको बयान छ ।

भन्सार एजेन्टलाई रकम बुझाएपछि वासिङ मेसिन लिन पुगेका बेला शान्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनकै बयानका आधारमा श्रीमान सुखललाई चन्द्रागिरीबाट ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

गाँजा भएको थाहा थिएन : भन्सार एजेन्ट

दुई वर्षअघि भन्सार एजेन्टको लाइसेन्स लिएका सागर अर्यालको खातामा उनीहरुले १ लाख ४२ हजार ५०० रुपैयाँ पठाएको पाइएको ब्यूरोका एक अधिकृतले बताए ।

नवराज उपाध्याय नामका अर्का भन्सार एजेन्टमार्फत सागरको नम्बर मागेर सुखलले वासिङ मेसिनबारे कुराकानी गरेको अनुसन्धानबाट खुलेको छ । अमेरिकादेखि आएको उक्त सामानको कागजात अर्यालको ह्वाट्स एपमा पठाएको अनुसन्धानबाट खुलेको छ ।

वासिङ मेसिन १४० किलो भएको कागजातबाट खुलेपछि त्यसको भन्सार शुल्क वापतको रकम आफ्नो बैंक खातामा हाल्न लगाएको अर्यालले स्वीकार गरेका छन् ।

रकम आफ्नो बैंक खातामा आएपछि अर्यालले आफू बाहिर भएको भन्दै भन्सार कार्यालयमै रहेका अर्का एजेन्ट गोविन्द हुमागाईंलाई उक्त काम लगाएको अनुसन्धानबाट खुलेको छ ।

समान क्लियरेन्सका लागि पठाएपछि मात्रै वासिङ मेसिनभित्र गाँजा रहेको आफूले जानकारी पाएको एजेन्ट अर्यालको दाबी छ । विदेशी विनिमय फारम, एअर–वे बिललगायतका कागजातहरु उल्लेख गरेर पठाएको सामान गोदामबाट निकालेर हेर्दा मात्रै गाँजा भएको जानकारी पाएको अर्यालको दाबी छ ।

‘सुरुमा मलाई गाँजाको बारेमा केही भनिएको थिएन । वासिङ मेसिन मात्रै भनिएको थियो । त्यसको भन्सार शुल्क वापतको रकम मेरो खातामा आएको सत्य हो । तर गाँजाको बारेमा भने म अनविज्ञ छु’ भन्सार एजेन्ट अर्यालले प्रहरीसँगको बयानमा भनेका छन् ।

सुखल दम्पतीले भने १ लाख ४१ हजार ५०० दिँदा पनि नपुगेको भन्दै एजेन्टलाई ४० हजार रुपैयाँ थप गर्न लगाएको बताएका छन् । अर्यालले भने ४० हजार नभई २० हजार रुपैयाँ थप मागेको स्वीकारेका छन् ।

भन्सार एजेन्टलाई वासिङ मेसिनभित्र गाँजा रहेको थाहा नभएको पाइएकाले मुद्दा नचलाइएको ब्यूरोका एसपी कार्कीको भनाई छ ।

१ वर्षमा ८ पटक आयो अमेरिकाबाट गाँजा

२०८० सालको एक वर्ष अवधिमा अमेरिकाबाट कुरियर कम्पनी तथा हुलाकमार्फत गरी ८ पटक नेपालमा गाँजा ल्याएको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्यांक छ । ८ साउन २०८० मा १ किलो २०० ग्राम गाँजा अमेरिकाबाट नेपाल ल्याइएको थियो ।

त्यसपछि २०८० को भदौ १९ गते २४ गते दुई पटक र २५ गते गरी ४ पटक अमेरिकाबाट नेपालमा गाँजा भित्रिएको छ । यो चार पटकमा ल्याइएको गाजाको तौल साढे ५ किलो हाराहारी छ ।

२७ मंसिर २०८० मा अमेरिकाबाट पठाएको ५२ किलो ३२ ग्राम गाँजा ब्यूरोको टोलीले बरामद गरेको थियो । हुलाक तथा कुरिअरमार्फत विदेशबाट आएको गाँजाको परिणाममध्ये यो नै अहिलेसम्मको धेरै हो ।

त्यसको भोलिपल्ट २८ मंसिर २०८० मा अमेरिकाबाट आएको ९०० सय ग्राम गाँजा बरामद भएको थियो । त्यसपछि पछिल्लो पटक ४ चैतमा वासिङ मेसिनभित्र आएको २० किलो गाजा प्रहरीले बरामद गरेको हो ।

अमेरिका बाहेक क्यानडा, नेदरल्याण्डस् र बेलायतबाट पनि कुरियर तथा हुलाकमार्फत नेपालमा गाजा आएको छ । बरामद गाजाको गन्तव्य भने नेपाल नभएर भारत देखिएको ब्यूरोका एसपी कार्कीले बताए ।

नेपाललाई ट्रान्जिट बनाएर तस्करले नयाँ शैलीको प्रयोग गरेर गाजाको तस्करी गरेको उनको भनाइ छ । अमेरिकादेखि गाजा मगाउनुको मुख्य कारण भने गुणस्तर देखिएको ब्यूरोका अधिकारीहरु बताउँछन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?