+

नेकोसले क्यान अध्यक्षको राजीनामा माग्दै खेलकुद मन्त्रीलाई बुझायो ज्ञापन पत्र

२०८१ जेठ  २७ गते २०:११ २०८१ जेठ २७ गते २०:११
नेकोसले क्यान अध्यक्षको राजीनामा माग्दै खेलकुद मन्त्रीलाई बुझायो ज्ञापन पत्र

२७ जेठ, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपाल क्रिकेट संघ (क्यान) मा बेथिति भइरहेको भन्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।

नेपाली क्रिकेटमा भइरहेको पछिल्लो घटनाक्रमको विषयमा नेकोसले आइतबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

आइतबारै पत्रकार सम्मेलन पनि गर्दै नेकोसले क्यान अध्यक्ष चन्दको राजीनामा माग गरेको छ ।

नेकोसका महासचिव विप्लव घोषले क्यान अध्यक्ष चन्द नेपाली टिमको कोटामै अमेरिका गएको भन्दै उनी तत्काल स्वदेश फर्केर छानबिनमा सहयोग गर्नुपर्ने बताए ।

‘क्यान अध्यक्ष चन्दलाई तुरुन्त पदबाट हटाउनुपर्छ । छानबिन गर्नुपर्छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो बटमलाइन हो,’ घोषले पत्रकार सम्मेलनमा भने ।

चन्दले राजीनामा नदिए तत्काल नेपाल फर्काएर कारबाही अगाडि बढाउन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत मागसमेत गरेको छ ।

नेकोसले क्यानका पदाधिकारीका कारण नेपाली क्रिकेट फेरि निलम्बनतर्फ अग्रसर भइरहेको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीमाथि कारबाही गर्नसमेत माग गरेको छ ।

यस्तै क्यान अध्यक्ष नै विश्वकप खेल्ने २५ जनाको टोलीमा १५ खेलाडीबाहेक १० सपोर्टिङ स्टाफभित्र रहेर जानुले अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको नेकोस महासचिव घोषले बताए ।

घोषले अहिले क्रिकेटमा भइरहेको अनियमितता लगायत १० बुँदे ज्ञापन पत्र युवा तथा खेलकुद मन्त्री श्रेष्ठलाई बुझाएको जानकारी दिए । ‘विभिन्न अनियमितता कुरा उठाएर खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छौँ,’ घोषले भने, ‘मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ ।’

क्यान नेकोस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय