+
+

नेपाल भित्रियो मनसुन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:४४

२८ जेठ, काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो ।

हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

पश्चिमसम्म फैलिन अझै केही दिन लाग्ने

मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताए ।

कोशी प्रदेशका जिल्लाहरुमा केही दिनयता दिनहुँ वर्षा हुँदै आएको थियो । तर काठमाडौं उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा अत्यधिक गर्मी छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो ।

यस्तो अवस्था अझै केही दिन जारी रहने सम्भावना रहेको मौसमविद अधिकारीले बताए । ‘रोचक त के छ भने पूर्वी नेपालमा मनसुन भित्रिँदा पश्चिमतिर तातो हावाको लहर छ,’ अधिकारीले भने, ‘अझै केही दिनसम्म पश्चिमतिर गर्मी नै हुने सम्भावना छ ।’

सरदरभन्दा बढी वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले  पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ ।

‘अल–निनो’को ठिक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । गत वर्ष अलनिनोको प्रभाव थियो । त्यसैले नेपालमा कम वर्षा हुने र बढी गर्मी हुने भनेर जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण मिलेको थियो ।

यस वर्ष भने ‘ला–निनो’को प्रभाव छ । सास्कोफका अनुसार चार महिनाको मनसुन अवधिमा सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर)मा ‘ला–निनो’को अवस्था हुने सास्कोफको निष्कर्ष छ ।

दक्षिणपूर्वी वायुसहितको प्रणाली पूर्वी नेपालबाट प्रवेश गर्छ र पानी पर्न सुरु हुन्छ । यो मनसुनी प्रणाली मध्य भूभाग हुँदै पश्चिमसम्म फैलिन्छ । पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन पनि बाहिरिएको मानिन्छ ।

सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको अवधिमा परेको वर्षाको तथ्याङ्कको आधारमा औसत वर्षाको मात्रा निकालिन्छ । ११० प्रतिशतभन्दा बढी वर्षा भएमा औसतभन्दा बढी भएको मानिन्छ । ठाउँअनुसार औसत वर्षाको मात्रा फरक–फरक हुनसक्छ ।

मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?