+
+

समीक्षा यात्रामा रास्वपालाई सुझाव : सरकारमा जान हुन्थेन

रास्वपा महामन्त्री मुकुल ढकालले झापाबाट थालेको समीक्षा यात्रा डोल्पा पुगेर सकिँदैछ, जहाँ अधिकांशले सरकारमा जानु साटो पार्टी संगठन बलियो बनाउन लागेको भए हुने भनी सुझाव दिएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ जेठ २९ गते १२:१२
टीकापुरमा आयोजित समीक्षा कार्यक्रममा सुझाव दिंदै समर्थक ।

२९ जेठ, काठमाडौं । इलाम-२ को उपचुनावमा सोचेजति मत नपाएपछि रास्वपाले गम्भीर समीक्षा गर्ने निर्णय लिएको थियो । सचिवालय बैठकले हालसम्म पार्टीले अंगालेको कार्यनीतिमा कार्यकर्ता तथा शुभेच्छुकको सुझाव लिने योजना बनाएको थियो ।

त्यसै बमोजिम जिल्ला दौडाहा चल्यो, जहाँ पार्टीका कुरा सुनाउन नभई शुभेच्छुकका चासो, जिज्ञासा, सुझाव, राय, सल्लाह सुन्ने गरी महामन्त्री मुकुल ढकाललाई पठाइएको थियो । सोही बमोजिम ३२ जिल्लाका ४८ स्थानमा नागरिकका गुनासा, सुझाव सुनेर महामन्त्री ढकालले मंगलबार समीक्षा यात्रा सक्दैछन् । झापाबाट सुरु भएको समीक्षा यात्रा डोल्पा पुगेर सकिंदैछ ।

जेठ ६ देखि असार ५ सम्मका लागि समीक्षा यात्राको अवधि तय गरिएको छ । महामन्त्री ढकालका अनुसार मंगलबार डोल्पाका मतदाताको कुरा सुनिसके पछि प्रतिवेदन लेखन सुरु हुनेछ । ५ असारसम्म प्रतिवेदन तयार हुने र सचिवालय बैठकमा पेस गर्ने उनले जानकारी गराए ।

रास्वपाले समीक्षा यात्राका लागि चार उद्देश्य तय गरेको थियो । ‘कहाँ गल्ती गर्‍यौं ? कहाँ सही गर्‍यौं । के गर्न हुन्न ? अब के गर्नुपर्छ ?’ लगायतमा पार्टी सदस्य, शुभेच्छुक, मतदाताको सुझाव संकलनको उद्देश्य राखिएको छ । संवादका क्रममा पार्टीको नीति, सबल र दुर्बल पक्षको पहिचान गर्ने रास्वपाले जनाएको छ ।

नागरिकका समस्या, सांगठनिक संरचना र पार्टीले गरेका निर्णयको समीक्षा यात्राका क्रममा मतदाताले सुझाव दिएका छन् ।

रास्वपा स्थापनाको दुई वर्ष र सरकारमा सहभागीताको सय दिनको समीक्षा पनि नागरिकबाट लिने उद्देश्य रास्वपाले बनाएको छ ।

समीक्षा यात्राका लागि एकभन्दा बढी क्षेत्र भएका जिल्लालाई प्राथमिकतामा राखिएको छ । महामन्त्री ढकालको यात्रामा सम्बन्धित जिल्लाका केन्द्रीय, प्रदेश पदाधिकारी, स्थानीय नेताहरू सहभागी हुँदै आएका छन् ।

महामन्त्री ढकालसँगै केही जिल्लामा समीक्षा यात्रामा सहभागी भएका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारमा गएकोप्रति शुभेच्छुकको गुनासो रहेको सुनाए । ‘सरकारमा जान हुन्थेन भन्ने सुझावहरू अलि धेरै छन् । बरु पार्टी सुदृढीकरणमा काम लागेको भए हुन्थ्यो भन्ने छ,’ बुर्लाकोटीले भने, ‘सरकारमा जाने हुँदा पार्टी सवलीकरणमा असर पुगेको सुझाव दिनुभएको छ ।’

मधेशमा दुई खाले विचार व्यक्त भएको प्रदेश महामन्त्री मनिष कुमार साहले जानकारी दिए । केहीले सरकारमा नगएको भए हुने थियो भन्ने सुझाव र कतिपयले जानु ठीक हो भनी मत राखेको उनले सुनाए ।

समीक्षा यात्राका क्रममा कैलालीको धनगढीमा आयोजित कार्यक्रममा सुझा दिदै एक जना समर्थक ।

२१ फागुनमा नयाँ सत्ता समीकरण बनेपछि रास्वपाले आफूले चाहेका मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाका चार मन्त्री सरकारमा छन् । रास्वपा सरकारमा सहभागी भएको सय दिन पुग्न लागेको छ ।

रास्वपाका नेताहरुका अनुसार सरकार रहेर अपेक्षा अनुसार प्रभावकारी हुन नसकेको भन्दै मन्त्रीहरुलाई खरो उत्रन शुभेच्छुकबाट सुझाव आएको छ ।

बुर्लाकोटी भन्छन्,‘मन्त्रीहरुले गर्ने कार्यमा चुकेकै भन्ने त छैन । अरु दलका मन्त्रीले बराबर गरेर भएन । रास्वपा सरकारमा गइसकेपछि अलि देखिने काम गर्नुपर्‍यो भन्नुभएको छ ।’

चार जनामा सहमहामन्त्री सुमना श्रेष्ठलाई पनि मन्त्रीमा समावेश गरेकोमा शुभेच्छुकहरू बढी खुसी देखिएको बुर्लाकोटीले बताए ।

रास्वपाको समीक्षा यात्रामा पुराना दलहरूले हरेक क्षेत्रमा राजनीति छिराएर नियुक्ति दिएकाले काम गर्न सहज नभएको चर्चा भएको छ । कर्मचारीतन्त्र र मिडियाले साथ नदिएको गुनासो आएको सुदूरपश्चिमका महामन्त्री पारस ‘बाहुन’ले दाबी गरे ।

‘कर्मचारीहरु विभिन्न पार्टी आवद्द भएकाले मन्त्रालयमा सहयोग नभएको हो कि भन्ने आशंका छ । रास्वपाले गरेका उपलब्धि र राम्रा कामको मिडियाले साथ नदिंदा जनताकहाँ नपुगेको कुराहरु गर्नुभएको छ,’ पारस बाहुनले तर्क गरे ।

रास्वपामा सभापति लामिछानेले गृह मन्त्रालय सम्हालेर सरकारमा गएसँगै सहकारीको रकम अपचलनको मुद्दा जोडतोडले उठेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समितिको माग गरेर संसद अवरुद्द गरेपनि रास्वपामा सभापति लामिछानेले गृह मन्त्रालय सम्हालेर सरकारमा गएसँगै सहकारीको रकम अपचलनको मुद्दा जोडतोडले उठेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गरेर संसद अवरुद्ध गरेपछि सत्ता पक्ष समिति बनाउन तयार भएको छ ।

समीक्षा यात्राका क्रममा रोल्पा पुगेको रास्वपा महामन्त्री मुकुल ढकालको टोली ।

तीन महिनाको अवधि पाएको सात सदस्यीय छानबिन समितिले आफ्नो कार्य थालनी गरिसकेको छ । उक्त मुद्दाले रास्वपाको समीक्षा यात्रामा चर्चा पाएको छ ।

सहकारीमा पार्टी नेतृत्वलाई झुठो आरोप लागेको र पार्टीले यसलाई चिर्न रणनीति बनाउन चुकेको शुभेच्छुकहरुको तर्क रहेको बुर्लाकोटीले सुनाए ।

यस प्रकरणमा पार्टी संरचनालाई समयमा प्रशिक्षित गराउन नसकेको गुनासो र शंका व्यक्त भएका छन् । अन्य दलहरुसँग आरोप प्रत्यारोप र जुध्ने कार्यमा नलाग्न पार्टी शुभेच्छुकहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।

समीक्षा यात्रा सुदूरपूर्व देखि सुदूरपश्चिम हुँदै कर्णालीको डोल्पाबाट सकिँदैछ । कोशीमा झापाको दमक, विर्तामोड र काकडभिट्टा, इलामको फिक्कल, मोरङको विराटनगर, सुन्दरहरैचा, उर्लाबारी, उदयपुरको कटारी र गाईघाट, सुनसरीको धरान र इटहरीमा लगायतका स्थानमा शुभेच्छुकका सल्लाह र गुनासा संकलन गरिएको छ ।

मधेश प्रदेशमा सिराहाको लहान, धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर र बर्दिवास, सर्लाहीको लालबन्दी, रौतहट, बाराको कलैया, पर्साको वीरगञ्जलगायतका स्थानमा समीक्षा संवाद गरिएको छ ।

बागमतीमा चितवनको भरतपुर र रत्ननगरमा मकवानपुरको थाहा नगरपालिकामा शुभेच्छुकका सुझाव लिइएको छ ।

बागलुङको बुर्तिबाङ, म्याग्दीको बेनी, पर्वतको कुश्मा, कास्कीको पोखरा, तनहुँको शुक्लागण्डकी, डुम्रे, गोरखामा गोरखा बजार लगायतमा कार्यक्रम राखेर समीक्षा गरिएको छ ।

दाङको घोराही, रोल्पाको थवाङ र सुनिल स्मृति गाउँपालिका, बाँकेको कोहलपुर, सुर्खेतको विरेन्द्रनगर र जाजरकोटमा सोमबार संवाद सकिने छ । डोल्पामा मंगलबार सुझाव लिएसँगै समीक्षा यात्रा सकिने रास्वपाले जनाएको छ ।

कर्णाली प्रदेश अघि सुदूरपश्चिका कञ्चनपुर, कैलाली, र डडेलधुराका शुभेच्छुकहरुको राय संकलन गरिएको थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?