+
+

गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते ८:३९

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ लिएर आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । आज उनै फणीन्द्र मन्त्री नियुक्त भएर सपथ गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने नेताहरुले बताइरहेका छन् ।

देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । फणीन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् ।
माओवादी चुनाव चिह्नबाट प्रधानमन्त्री प्रचण्डसँगै चुनाव लडेको देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका थिए भने माओवादीले फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गर्ने बताइरहेको छ । तर, फ्लोर क्रस गरेवापत फणीन्द्रले मन्त्री पाउने भएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्‍याउने बताउँदै आएका मनाङेलाई सुरेन्द्रराजले नै दोस्रो पटक भौतिक मन्त्री बनाउँदै छन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए ।

विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका हुन् ।

राप्रपा अनिर्णित बन्दा संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्ने रणनीति बनाएका पाण्डेलाई रोक्दै सभामुखकोसमेत मत प्रयोग गरेर उपधारा २ अनुसार नै एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए । खगराजले दाबी पेश गर्दा साथ दिएका मनाङे दोस्रो पटक पनि भौतिक पूर्वाधारमै दोहोरिएका थिए ।

सभामुखले बलमिच्याइँ गरेको भन्दै दुई पटकसम्म अदालत पुगेको कांग्रेसका पाण्डेलाई सर्वोच्चले ठूलो दलको नेताको हैसियतमा नै मुख्यमन्त्री नियुक्त गर्न आदेश गर्‍यो र खगराज पदमुक्त भएपछि पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२७ सांसदसहित मुख्यमन्त्री भएका पाण्डेले राप्रपाका २, नेसपाका फणिन्द्र र स्वतन्त्र सांसद मनाङेलाई आफ्नो पक्षमा पार्दै विश्वासको मत जित्न सफल भएका हुन् । विपक्षमा एमालेका २२, माओवादीका सभामुख र फणिन्द्रबाहेक ६ जना गरी २८ मत पर्‍यो । आफ्नो मतले बहुमत पुग्ने देखेपछि सुरेन्द्रकै पक्षमा उभिएका मनाङे भौतिक मन्त्रालयमै तेस्रो पटक दोहोरिँदै छन् भने यसअघि ३ पटक खेलकुदमन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?