+
+

निकास रोक्नेबाट जरिवाना तिराएर नक्साल ढुंगेधारा पुनरुत्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १२:४२

२९ जेठ, काठमाडौं । नन्दीकेशर बगैंचा परिसरमा रहेको नक्साल ढुंगेधारा (गाः हिटी) पुनरुत्थानमा समस्या पहिचान चरण सकिएको छ ।

पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचना पुनर्निर्माण गर्ने यसका तीन मुख्य समस्या थिए ।

समस्या पहिचान गर्ने क्रम असोज २०८० बाट सुरु भएको थियो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार यसबाट ढुंगेधारा संरचनासँगै जलसम्पदा पुनरुत्थान हुनेछ ।

उनका अनुसार हिटि पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन । यसका समस्या पत्ता लगाउनु थियो । हिटि संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्था विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा तीन वटा घरले निकास थुनेको पत्ता लाग्यो ।

‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ,’ श्रेष्ठले भने ।

मेयरका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए ।

‘निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो,’ शाक्यले योजना सुनाए ।

२०३९ सालमै उल्लेख

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौैं उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण’ मा उल्लेख छ ।

यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाः हिटि भएकाले बेला बेला निकास बन्द भई पानी जम्ने गर्दछ । ढुंगेधाराको पानीको मुहान सुकेको छ ।’

यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ ।

यो विवरणले ४० वर्षदेखि पानीको निकास बन्द भएको देखाउँछ । वडा नम्बर १ का सचिव सर्वज्ञराज पौडेल स्थलगत अवस्था सुनाउँदै भन्छन्, ‘ढुंगेधारा भइकन पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ थियो ।’

पुरातत्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए वा नभएको उल्लेख गरिएको छैन ।

धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमुनाका रूपमा रहेको यो गाः हिटि (ढुंगेधारा) का रूपमा मात्र नभई उमामहेश्वर एवम् प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पूण्यस्थलका रूपमा कायम रहँदै आएको थियो’ भनिएको छ ।

विवरणमा धार्मिक स्थलका रूपमा कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्ने चाहिँ उल्लेख छैन ।

विवरणमा स्मारकको महत्त्वका विषयमा लेखिएको छ, ‘ढुंगेधाराका मुखलगायत चतुर्मुखी शिवलिङ्ग, चतुव्र्यूह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवम् गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्त्व भएकाले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण छ ।’

हिटिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ ।

ढुंगेधारा पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकार भन्छन्, ‘धनबज्र बज्राचार्यले ढुंगेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै ६७८ सालमा स्थापना भएको बताएका छन् ।’

उनका अनुसार पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो । मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन । अहिले काम भएको हो ।

यसपटक सफाइ गर्ने क्रममा पहिले जेट मेसिन प्रयोग भएको थियो । यसबाट परिणाम नआएपछि मानवीय स्रोत प्रयोग गरेर निकास खोलिएको सचिवालय सदस्य शाक्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?