+
+

गुल्मीको सिरकोटमा बाँझो जग्गामा सामूहिक किबी खेती

अनिल खत्री अनिल खत्री
२०८१ जेठ ३० गते ८:१२

३० जेठ, गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिकामा २३ जना कृषकहरु मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किबी खेती गरेका छन् ।

गाउँपालिकाको वडानम्बर १ मा रहेको सिरकोटमा वर्षौदेखि बाँझो रहेको जग्गामा उनीहरुले व्यवसायिक किबी खेती सुरु गरेका हुन् ।

बाँझो रहेको ५४० रोपनी क्षेत्रफलमा ६ हजार ७०० बिरुवा रोपेर व्यवसायिक रुपमा किबी खेती सुरु गरिएको उन्नतिशील कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले बताए ।

अध्ययन र अवलोकन गर्दा किबी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने थाहा पाएपछि सिरकोटमा आफूहरूले समूह नै बनाएर व्यवसायिक खेती सुरु गरेको उनले बताए ।

समूहकै अर्का कृषक कृष्ण न्यौपानेले खाडीमाभन्दा नेपालको झाडीमै आम्दानी गर्न सकिने बताउँदै सम्भावना खोज्ने क्रममा व्यवसायिक किबी खेती सुरु गरेको बताए ।

आफूहरुले सुरु गरेको फर्ममा पानीको भने अभाव रहेको उनीहरुको भनाइ छ । तर, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार त्यहाँ अहिले सिँचाइका लागि २८ लाखको योजनाको काम भइरहेको छ ।

किबी खेतीबाट राम्रो अम्दामी हुन थालेपछि यहाँका किसानहरू यसतर्फ आर्कषित भएको प्रमुख भण्डारीको भनाइ छ ।

गुल्मीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको किबीले उत्पादन दिन सुरु गरेको छ ।

किबी खेती सुरु गरिएको पाखो ।

जिल्लामा पहिलोटक २०६४ सालमा भार्सेमा किबी खेती सुरु गरिएको थियो । त्यसबेला त्यहाँका कृषकले संखुवासभाबाट किबीका बिरुवा ल्याएर खेती सुरु गरेका थिए ।

जिल्लामा उत्पादन भएको किबी बिक्रीका लागि बजारीकरणको पनि समस्या छैन् । प्रतिकेजी २५० देखि ३०० रुपैयाँसम्म कृषकले किबी बिक्री गर्ने गरेका छन् ।

कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा किबी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किबी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुने गर्दछ ।

गुल्मीको भार्से किबीका लागि उपयुक्त मानिने भए पनि अहिले जिल्लका सबै ठाउँमा यसको खेति व्यवसायिक रुपमै विस्तार भएको छ ।

धेरै फल्ने र अरु खेती नहुँने ठाउँमा पनि किबीले राम्रो उत्पादन दिन्छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटरभन्दा माथिको भू-भागमा किबी खेती हुने गर्दछ ।

जिल्लामा एक हजार दुई सय मिटर माथिका भू–भाग धेरै रहेकाले किबी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?