+
+

दुबईको बाढीबाट नेपालले के सिक्ने ?

मणिरत्न शाक्य मणिरत्न शाक्य
२०८१ जेठ ३० गते ९:०६
दुबईको बाढीमा डुबेको सडक ।

मरुभूमिमा भीषण वर्षा र बाढीको प्रकोप सुन्दा अनौठो लाग्न सक्छ । तर दुबईमा घटेको यस्तै घटनाले विश्वलाई चकित पारेको छ । गएको १६ अप्रिलमा आएको भारी वर्षा र आँधीबहेरीले दुबईको व्यस्त विमानस्थल, मेट्रोस्टेसन, व्यापारिक केन्द्रको साथै सहर जलमग्न भई जनजीवन आक्रान्त बनेको थियो । यसले त्यहाँ केही मानिसको ज्यान समेत गएको खबर छ भने अकल्पनीय रूपमा देखापरेको यस घटना विश्वभर चासोको विषय भएको छ ।

१५ अप्रिल साँझपख खाडी मुलुकका विभिन्न भाग र संंयुक्त अरब इमिरेट्सका दुबईसहितका विभिन्न स्थानमा सुरु भएको थियो । यो वर्षा अर्काे दिन पनि निरन्तर रूपमा जारी रहेको थियो । जसले गर्दा १६ अप्रिल दुबईमा एकदिनको वर्षा मापन त्यहाँ डेढ वर्षमा हुने बराबर भएको उल्लेख छ । दुबईमा यति धेरै वर्षा सन् १९४९ मा संंयुक्त अरब इमिरेट्समा मौसमी अवलोकन कार्य सुरु गरेपछि ७५ वर्षमा देखिएको ऐतिहासिक घटना भएको उल्लेख छ ।

दुबई जस्तो मरुभूमिमा यत्रो वर्षको अन्तरालपछि यत्ति वर्षा कसरी भयो ? यो अध्ययनको विषय भएको छ । वैज्ञानिकहरू यसको कारण पत्ता लगाउन तल्लीन छन् । दुबईमा बाढीको प्रकोप त्यो बेला देखापर्‍यो जुन बेला त्यहाँ कृत्रिम वर्षा गरिएको थियो । तर वैज्ञानिकहरू भीषण वर्षा र बाढी कृत्रिम वर्षाको परिणाम हुन नसक्ने बताउँछन् ।

अक्सफोर्ड विश्वविद्यालयका जलवायु विज्ञान विषयका प्राध्यापक रिचार्ड वाशिङ्गटन दुबईमा जुन किसिमबाट वर्षा भयो त्यो मानिसको हातमा नभएको बताउँछन् । कृत्रिम वर्षा गर्ने प्रक्रियाले आँधीबेहरी ल्याउने क्षमता नराख्ने उनको भनाइ छ । तसर्थ यसको पछाडि अन्य प्राकृतिक प्रकृया हुन सक्ने अन्य वैज्ञानिकहरूको पनि तर्क रहेको छ ।

इम्पेरियल कलेज लण्डनका जलवायु परिवर्तन सम्बन्धी विज्ञ फेडेरिक ओटटो यो मानिसले सिर्जना गरेको हरितगृह ग्यास उत्सर्जनको प्रभाव हुन सक्ने बताउँछन् । अर्काे शब्दमा भन्ने हो भने यो जलवायु परिवर्तनको जल्दोबल्दो उदाहरणको रूपमा लिन सकिने उनी बताउँछन् ।

यसै सन्दर्भ मौसमविदहरू लामो समयको अन्तरालपछि देखापरेको यस्तो मौसमी गतिविधि निश्चित रूपमा जलवायु परिवर्तनले निम्त्याएको परिणाम हुन सक्ने बताउँदै यस्तो ऐतिहासिक घटना निम्त्याउने मौसमी प्रक्रियाको सही पहिचान तथा विश्लेषण हुनु आवश्यक भएको बताउँछन् ।

संयुक्त अरब इमिरेट्सको नेशनल सेन्टर अफ मेटेरियोलोजी कार्यालयका वरिष्ठ मौसमविद इसरा अलनक्वीका अनुसार दुबईमा बाढी आउनुपूर्व खाडी मुलुकका भूभाग तथा यसको आसपासको समुद्री सतह अधिक मात्रामा तातेको थियो । यसले संंवाहन प्रक्रिया मजबुत भई खाडी मुलुक आसपास रहेका ओमानको खाडी, अरब सागर लगायत हिन्द महासागरबाट प्रशस्त मात्रामा जलवाष्पीकरण भई बादल निर्माण भइरहेको थियो ।

अस्टे«लियन नेशनल युनिभर्सिटीका प्राध्यापक मार्क हाउदेन ग्लोबल वार्मिङ्गको कारण विश्वमा भू तथा समुद्री सतह सामान्य अवस्थामा भन्दा बढी तातो हुनुको साथै वाष्पीकरणको गति तेजिलो भइरहेको बताउँछन् । यस्तो बेला वायुमण्डलले अरु बेला भन्दा बढी जलवाष्प समेट्न सक्ने उनको भनाइ छ । र यो बादल बोझिलो बन्ने प्राकृतिक प्रक्रियाको रूपमा लिन सकिन्छ ।

वरिष्ठ मौसमीविद इसरा अलनक्वीका अनुसार संवहन प्रक्रियाले प्रष्ट जलवाष्प बोकेको बादल आकाश माथि-माथि उड्न खोजीरहेकाबेला माथिबाट चिसो वायुको दबावका कारण बादल उठ्न सकिरहेको थिएन ।

आकाशको माथिल्लो भागमा चिसो हावाको बहाव एक किसिमको सिलिङ्ग जस्तै निर्माण भई बादलमाथि उठ्ने प्रक्रियामा अवरोध खडा गरेको थियो । यसको प्रमुख कारण उत्तरी भेगतिर रहेको ध्रुवीय जेटस्ट्रिमको सक्रियता अर्थात् चिसो तेजिलो वायुको प्रभाव हो । यसले बादल तल-तलै गुम्सिएर रहन बाध्य भई मौसम धुम्मिएको थियो ।

ध्रुवीय जेटस्ट्रिमले यस्तो मौसम गतिविधि निम्त्याए पनि समयानुसार यही जेटस्ट्रिममा आएको बदलावले मौसममा फेरबदल आएको अनुमान गर्न सकिन्छ । नागबेली आकारमा उत्तर दक्षिण ढल्कदै बहने जेटस्ट्रिमले उत्तरको चीसो हावा तलतिर फैलाउँदै तलको तातो हावा माथि उठ्न मद्दत गर्छ । जसले गर्दा उत्तरको चिसो हावा तल सर्दै तातो हावासंँग मिसिन पुग्छ ।

यसले वायुमण्डलमा ताप बाँडचँुड हुन थाल्छ । समयानुसार देखापर्ने यस्तो गतिविधिले त्यहाँको मौसममा व्यापक फेरबदल हुन थाल्छ । यो बेला संवहन प्रकियाको कारण बादल माथि उठ्न खोजिरहेको बेला बादल झन्झ-न् माथि उठ्न थाल्छ र यो मेघगर्जन सहित अाँधीबेहरी निम्त्याउने बादल सृजनाको कारण बन्छ ।

दुबईमा भारी वर्षापछि आएको बाढीमा डुबेका गाडी ।

संयुक्त अरब इमिरेट्स लगायत खाडी मुलुकका विभिन्न स्थानमा स्थानीय रूपमा एकातिर यस्तो मौसमी गतिविधि देखा परिरहेको थियो भने अर्काेतिर ओमानको खाडी र अरब सागरबाट अाँधीबेहरी खाडी मुलुकतिर बढीरहेको थियो । गत १४ अप्रिलमा यस आँधीले ओमानमा भारी वर्षा गराएको थियो । अति आक्रमक रूपले अगाडि बढीरहेको यस आँधीबेहरी ओमानबाट सयुक्त अरब इमिरेटस् छिरेको थियो ।

समुद्री क्षेत्रबाट वेगले चलेको यस आँधीबेहरी संयुक्त अरब इमिरेट्सको आकाशमा त्यहाँ स्थानीय रूपमा देखापरेको मौसमी गतिविधिसँग मिसिन पुगेको थियो । जसले गर्दा एकातिर आँधीको वेग र अर्काेतिर स्थानीय रूपमा देखापरेका संंवहन प्रकृयाको संयुक्त प्रभावले त्यहाँको वायुमण्डलको माथिल्लो भागमा सिलिङ्ग जस्तै निर्माण भइरहेको हावाको छेकबार तोड्न सफल भएको थियो ।

यसले संयुक्त अरब इमिरेटस् लगायत अन्य भागमा भीषण वर्षा र आँधीबेहरी आएको थियो । त्यही बेला कृत्रिम वर्षाले बादल बर्सिन सहज भएको बताउँदै यसले दुबई लगायत अन्य स्थानमा बाढी आएको ठहर गर्न सकिन्छ ।

दुबईमा भीषण वर्षा र बाढी आउनुमा मौसमको महत्वपूर्ण भूमिका रहे पनि त्यहाँको शहरीकरणको ढाँचा र बनावटमा ढल तथा निकासको राम्रो प्रबन्ध नहुँदा समस्या सिर्जना भएको थियो ।

घटना दुबईमा भए पनि नेपालले यसबाट ठूलो पाठ सिक्न सक्छ । किनकि नेपाल पनि जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिको अति जोखिम मुलुकको सूचीमा छ । यहाँ बर्सेनि हुने जलवायुजन्य घटनाले विपदको रुप लिंदै आएको छ ।

नेपालको विशिष्ट भौगोलिक अवस्थाका कारण जलवायुजन्य प्रकोपबाट सिर्जना हुने अझ ठूला विपदको स्थिति कुनै पनि बेला व्यहोर्नुपर्ने हुनसक्छ । तसर्थ प्रविधि र दक्ष जनशक्तिको अभाव खेपिरहेको तालुकदार निकायलाई तत्काल चुस्त र सुविधा सम्पन्न बनाइनु पर्दछ । मौसमी गतिविधिको पर्याप्त तथ्यांक संकलन, सूक्ष्म विश्लेषण, योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा गर्नुपर्ने छ । साथै धेरै खोला, खोल्सी खोलानालाहरुको नियमित सरसफाइ गरी पानी निकासको उचित प्रबन्ध मिलाउन पनि जरुरी छ ।

(जल तथा मौसम विज्ञान विभागका पूर्वउपमहानिर्देशक श्रेष्ठ हाल प्राध्यापन गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?