+
+

विराटनगर महानगरको प्रगति विवरण : १०० बढी सर्प समातियो, नाला सफाइ जारी छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते ९:२९

३० जेठ, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक सुनुवाईका क्रममा उनले सार्वजनिक गरेको प्रगति विवरणमा एक सयभन्दा बढी सर्प समातेकोदेखि सडकको नाला सफाइ गरिरहेको उल्लेख छ ।

करिब दुई वर्षको अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरेको, ४० किलोमिटर नयाँ ग्राभेल गरको र १५२ वटा कल्भर्ट निर्माण गरेको उनको प्रतिवेदनमा छ ।

सीमित स्रोत र साधनको बाबजुद विकास निर्माणको काम गरिरहेको बताएका कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिए ।

विराटनगरका १९ वटै वडामा एक अर्ब १५ करोडभन्दा बढीका परियोजना सञ्चालन भइरहेको विवरण सार्वजनिक गरेका कोइरालाले आफू नेतृत्वमा आएपछि एक सयभन्दा बढी घरबाट नगर प्रहरीले सर्प समातेको जानकारी दिएका छन् ।

महानगरले नगरमा सर्प रेस्क्यूको अभियान सञ्चालन गरिरहेको छ । एक सयभन्दा बढी घरबाट समातेका सर्प सुरक्षित ठाउँमा लगेर छाडिएको उनको प्रगति विवरणमा छ ।

उज्यालो विराटनगर अभियान जारी रहेको बताएका उनले नगरका मुख्य सडकमा सडकबत्ती जडान गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सडकको नाला, ढल र पैनी सरसफाई निरन्तर गरिरहेको विषयलाई आफ्नो प्रगति मानेका कोइरालाले बरगाछी–रानी सडकको सौन्दर्यकरण अभियान सुरु गरिएको पनि उल्लेख गरेका छन् ।
यो खण्डमा यसअघि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सौन्र्यकरण अभियान अन्तर्गत विरुवा रोपेका थिए । केहीबाहेक बिरुवा हुर्किएनन् ।

कोइरालाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा महानगरको दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको, रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको उल्लेख गरेका छन् ।

१९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर गरी ५ हजार २२ जनाको स्वास्थ्य परीक्षण गरेको, विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियान अन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको मेयरको प्रगति विवरणमा उल्लेख छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको पनि प्रगतिमा समावेश छ ।

गत वर्षसम्मको कुल बेरुजु २३ करोड ८३ लाखको सम्परीक्षण गर्दा १.०३ प्रतिशत मात्रै बेरुजु आएको र बेरुजु कम निस्कने पालिकामध्ये विराटनगर मोरङको पहिलो पालिका भएको उनको उपलब्धि विवरणमा छ ।

शिक्षाको गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गरेको,सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य जारी रहेको विवरण प्रगतिमा समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?