+

मेरो १००औं खेल अविस्मरणीय बन्यो : कप्तान किरण

२०८१ जेठ  ३० गते १०:३३ २०८१ जेठ ३० गते १०:३३
मेरो १००औं खेल अविस्मरणीय बन्यो : कप्तान किरण

३० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

खेलपछि कप्तान तथा गोल रक्षक किरणले आफ्नो सयौँ खेल विशेष बनेको बताए । ‘मेरो एक सयौँ खेल अविस्मरणीय बन्यो । यसको सम्पूर्ण श्रेण टिमलाई जान्छ’, उनले भने ।

किरणको ऐतिहासिक सय खेलपछि अखिल नेपाल फुटबल संघका महासचिव किरण राई र एन्फा केन्द्रीय सदस्य तथा नेपाली टिमका प्रमुख विकाश नारायण श्रेष्ठले ‘मोमेन्टो’ प्रदान गरेका थिए । उनलाई १०० लेखिएको जर्सी नम्बर र आर्मब्याण्ड पनि प्रदान गरिएको थियो ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा यसअघि खेलेका ५ वटै खेलमा हार बेहोरेको थियो भने गोलसमेत गर्न सकेको थिएन । तर समूह एचको अन्तिम खेलमा नेपालले गोल गर्दै अंक समेत जोड्न सफल भयो ।

कप्तान किरणले खेलअघि नै यमनविरुद्ध जसरी पनि अंक लिने गरी खेल्ने बताएका थिए । त्यही अनुसार नेपालले अंक पनि जोड्यो । कप्तान किरणले अवसरमा गोल हुँदा अंक लिने रणनीति सफल भएको बताए ।

‘हामी जसरी पनि अंक लिने ध्यानमा थियौँ । मिहिनेतअनुसार फल पायौँ । नतिजा सन्तुष्टिजनक आयो’, किरणले भने ।

तर नेपालमा खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै अग्रता लिएपनि सदुपयोग गर्न सकेन । आठौं मिनेटमै पछि परेको नेपालले २ गोल गर्द खेलमा अग्रता लिएपनि इन्जुरी टाइममा गोल खाँदा खेल बराबरीमा सकिएको थियो । ‘अन्तिम समयमा सम्हालिन नसक्दा सोचे भन्दा राम्रो नतिजा ल्याउनबाट टाढा भयौँ’, किरणले भने ।

नेपालले छनोटको दोस्रो चरणमा ६ मध्ये १ खेलमा बराबरी खेल्दा बाँकी ५ खेलमा पराजित भएको थियो । १ अंकसहित नेपाल समूह एचको पुछारमा रह्यो । विश्वकप छनोटको अर्को चरणको सम्भावना सकिएको नेपालसँगै यमनले अब एसियन कप छनोटको तेस्रो चरणमा खेल्नेछ ।

यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहँदै फिफा विश्वकप छनोटमा तेस्रो चरणमा पुगेको छ साथै एसिया कप २०२७ को लागि सिधै छनोट भइसकेको छ । दोस्रो चरणको ९ समूहको शीर्ष दुई टोली गरी कूल १८ टोली एसियन कपमा छनोट भइसकेको छ ।

यमनविरुद्ध गोल गरेका सन्जीव र जिलेस्पी दुवैको नेपालका लागि पहिलो गोल थियो । दुवै अग्ला कदका फरवार्डले अवसर पाउँदा गोल गरेका थिए ।

नेपालका लागि बराबरी गोल फर्काएका सन्जीवले कप्तान किरणको एक सयौँ खेललाई उपलब्धिमूलक बनाउन सबै खेलाडी मोटिभेट भएर लागेको बताए । उनले सबैको कडा मिहिनेतले नतिजा आएको बताए । ‘आज हामी सबै खेलाडीले किरण दाईको लागि विशेष बनाउने योजना बनाएका थियौँ । सबै जनाको मिहिनेतले नै यो नतिजा आएको जस्तो लाग्छ’, उनले भने ।

धनकुटाको राजारानीमा एउटा सामान्य परिवारमा जन्मेका ३४ वर्षीय किरण उमेर समूह र सिनियर टिम हुँदै नेपालको कप्तानसम्म बनेका थिए ।

हाल नेपालका  नम्बर वान गोलकिपर समेत रहेका किरणले साउदी अरेबिया जानुअघि एक सयौँ खेल भन्दा पनि देशको लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् । ‘देशको जर्सी लगाएर खेल्नु पाउनु सबैभन्दा प्राउड मोमेन्ट हो । देशको लागि खेल्दा जहिल्यै फाइट गर्नपर्छ भन्ने भावना आउँदा’, किरणले यमनसँग खेल्नुअघि भनेका थिए ।,

किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थ्यले साथ दिएसम्म खेल्ने बताएका छन् ।

किरण चेमजोङ १००औं कीर्तिमान
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय