
राति ठ्याक्कै १० बजेको थियो। म फेसबुक चलाउँदै थिएँ । बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक स्नातक तहमा सामाजिक वा कानुन विषय अध्ययनरत विद्यार्थीका लागि इन्टर्न माग गरिएको सूचना देखें। हुनत मैले पहिला पनि काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा काम गरिसकेको हुनाले इन्टर्न गर्न रुचि थिएन। तर आफूलाई पहिल्यैदेखि बालबालिकाको क्षेत्रमा केही काम गर्ने इच्छा भएकाले फारम भरें। अनि भोलिपल्ट अन्तर्वार्ताको लागि इमेल आयो।
म अन्तर्वार्ता दिन गएँ। त्यहाँ महानगरको बालअधिकार समितिका सदस्य, सामाजिक विकास विभागको विभागीय प्रमुख र बाल कल्याण अधिकारीले प्रश्नहरू सोध्नुभयो। प्रश्नहरू त्यस्तो गाह्रो थिएन। बालबालिकाको क्षेत्रमा पहिला पनि काम गरेको भएर होला अन्तर्वार्ता राम्रो भयो। भोलिपल्ट काठमाडौं महानगरपालिका-३ मा १० बजे आइपुग्नु भनेर फोन आयो। म उही नेपाली पारामा पुगे ११ बजे, धन्न कार्यक्रम भर्खर सुरु हुँदैथियो।
म लगायत ३१ जना इन्टर्नलाई बाल संरक्षण, बालअधिकार तथा गणकको भूमिकाका बारेमा तीन दिन तालिम दिइयो। खासमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा आफ्नो परिवार वा नातागोता भन्दा बाहिरका व्यक्तिहरूकोमा बसेर अध्ययनरत बालबालिकाबारे तथ्याङ्क सङ्कलनको लागि हामीलाई लिएको थियो।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा गई हामीले आफ्नो नातागोता बाहेकका परिवारसँग बालबालिकाको खोजी गरी उहाँहरूसँग बालमैत्री तवरले कुराकानी गर्दै प्रश्नावली फारम भर्नुपर्ने थियो। टोली संयोजकले पाँच जना बालबालिका खोजी गरेपछि पुरुष गणकले बालकको र महिला गणकले बालिकासँग अन्तर्वार्ता लिइएको थियो।
यसरी प्रश्नावली फारम भर्ने क्रममा केही विद्यार्थीले आफू जस्तै वा आफूभन्दा बढी समस्यामा रहेका अन्य बालबालिकालाई सिफारिस गरेको खण्डमा टोली संयोजकले ती बालबालिकालाई समेत बोलाई प्रश्नावली फारम भरिएको थियो।
कलिला बालबालिकाको व्यथा
तथ्याङ्क सङ्कलन गर्ने क्रममा मैले धेरै बालबालिकासँग कुरा गर्ने मौका पाएँ। बालबालिका भन्दै गर्दा आफ्नो बालापनको यादमा जाने र अझै बालिका झैं महसुस गर्ने म, दुःखमा परेका बालिकाको निजी भोगाइ सुन्दै गर्दा मनमा चसक्क काँडा बिझे झैं महसुस हुन्थ्यो।
मानौं, म नै त्यस अवस्थामा परेकी छु। बालबालिकासँग कुराकानी गरेर आएको रात निद्रा नै लाग्न गाह्रो हुन्थ्यो। पछि मैले यो कुरा महानगरले उपलब्ध गराएको मनोविमर्शकर्तासँग समेत राखें।
यी कथाहरू नेपालको ग्रामीण भेगबाट शहर पसेका बालबालिकाहरूको हो, जसले नेपालको हुनेखाने र हुँदा खाने नेपालीबीचको खाडल देखाउँछ। अझै पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण कैयौं बालबालिका विद्यालय जानबाट वञ्चित छन्। ‘गाउँका अगुवा वा शहरका ठुलाबडा हुँ’, भनी फुई लगाउन रुचाउने ‘साब मैसाब’ राजा–महाराजाहरूले आफ्नो घरमा काम गर्नको लागि गाउँ-गाउँबाट बालबालिका ल्याई काममा लगाउँदा रहेछन्।
पढाइको महत्त्व बुझेका र पढ्नकै लागि भनेर अरूको घरमा दिनरात नभनी काम गर्दै आइरहेका बालबालिकामा दु:ख सहेर भए पनि बस्ने तीव्र चाहना पाएँ। धेरैजसो बालबालिकाले दैनिक ९ घण्टा भन्दा बढी काम गर्नुपर्ने रहेछ जसमा सरसफाइ, लुगा धुने, बिरुवामा पानी हाल्ने, भाँडा माझ्ने, खाना पकाउने, अन्य बालबालिकालाई विद्यालय पुर्याउने, साहुनीको जीउ मसाज गर्ने, वृद्ध व्यक्तिहरूको स्याहार गर्ने जस्ता कामहरू गर्नुपर्ने रहेछ। बिहान ५ देखि ६ बजे भित्रमा उठेर काम सुरु गर्नुपर्ने र राति ११ बजे मात्र काम सकेर पढ्न पाउने धेरै बालबालिकाको गुनासो थियो।
धेरैजसो बालबालिकाले आफूले आफ्नो घरमा मन लाग्दा कुरा गर्न र घर जान नपाएको बताए। एउटी बालिकासँग कुराकानी गर्ने क्रममा उनले आफ्नी आमाको याद निकै आएको बताइन्। प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन आइरहन्छ तर विगत ७ वर्षदेखि आमासँग भेट्न, कुरा गर्न नपाएकाले एकदमै नरमाइलो लागेको उनले बताइन्।
त्यसैगरी कक्षा ७ मा अध्ययनरत कर्णालीको एक विकट गाउँकी १४ वर्षकी सानी बहिनीसँग मेरो भेट भयो। उनी विगत ६ वर्षदेखि बौद्धमा बस्दै आएकी रहिछिन्। मैले उनलाई सोधें– ‘यता आएदेखि कति पटक घर जानुभएको छ ?’ उनले मलिन स्वरमा जवाफ दिइन्– ‘यहाँ आएदेखि एकचोटि पनि घर गएको छैन।’
मैले फेरि सोधें, ‘यहाँ आएदेखि घरपरिवारसँग कुरा भएको छ?’ उनले ‘वर्षको एकचोटि हुन्छ’ भनिन्। म आश्चर्यमा परें अनि सोधें, ‘वर्षको एक पटक चाहिं कुन समयमा कुरा हुन्छ ?’ ‘बुवाको मुख हेर्ने दिन, त्यो दिन मैले जसरी भए पनि कुरा गर्ने गरेकी छु। वर्षको एक पटक त्यही दिन मात्र कुरा गर्न दिनुहुन्छ’ उनको जवाफमा पूर्णविराम लाग्दैथियो। फेरि मैले सोधिहालें– ‘घरपरिवारको याद आउँछ ?’ उनले आँखाबाट बरर्र आँसु झार्दै टाउको हल्लाएर ‘आउँछ नि’ भन्ने सङ्केत गरिन्। अनि कसको याद बढी आउँछ भन्दा ‘ममीको’ भनेर झन् बढी भावुक भइन्। अनि रुन थालिन्।
मैले हात समातेर सुमसुम्याउँदै भनें ‘घर जान मन लाग्या छ ?’ ‘मन त लाग्छ नि तर जान पाउँदिनँ।’ मैले ‘किन’ भनेर सोधिहालें। उनको जवाफ थियो, ‘हाम्रो गाउँमा विद्यालयको राम्रो व्यवस्था छैन। म घर गएँ भने पढ्न पाउँदिनँ। फर्केर फेरि आउने सम्भावना हुँदैन। म भविष्यमा नर्स बन्न चाहन्छु। त्यसैले म आफ्नो सपना पूरा गरेर मात्र घर फर्कन्छु र गाउँमा गएर सहयोग गर्छु।’
उनको जवाफ सुनेर म मौन रहें। ८ वर्षको उमेरमा नै आफ्नो परिवारबाट सम्पर्कविहीन भई बिरानो शहरमा, अरूको घरमा दुःख भए पनि सहेर बस्छु र आफ्नो सपना पूरा गरेर गाउँ फर्कन्छु, कारण गाउँमा राम्रो शिक्षा नभएको र आर्थिक अभावका कारण अनेकौं समस्या झेल्नुपरेको रहेछ।
अनि मैले अन्तिममा सोधें, ‘तपाईंको लागि महानगरपालिकाले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ?’
‘मेरो लागि अरू केही गर्नुपर्दैन, मलाई पढ्नको लागि सहयोग गर्दिनुभए हुन्थ्यो। म आफ्नो सपना पूरा गर्न चाहन्छु’, उनले भनिन्।
अर्की मुगुकी १५ वर्षकी बालिका आफ्नो नातेदार नपर्नेकोमा विगत ५ वर्षदेखि काम गर्दै बस्दै आइरहेकी रहिछिन्। आफ्नो परिवारको आर्थिक स्थिति कमजोर भएकाले आफ्नै नातेदारको सहयोगबाट पढ्न पाइन्छ भन्ने प्रलोभनमा परी त्यहाँ काम गर्दै पढ्दै आइरहेकी छिन्। तर विडम्बना पढ्ने इच्छा हुँदाहुँदै पनि साहुको घरमा धेरै काम गर्नु परेकाले पढ्ने फुर्सद नै नहुने रहेछ।
सरसफाइ, लुगा धुने, बिरुवामा पानी हाल्ने, भाँडा माझ्ने, खाना पकाउने, अन्य बालबालिकालाई विद्यालय पुर्याउने, साहुनीको जीउ मसाज गर्ने, वृद्ध व्यक्तिहरूको स्याहार गर्ने जस्ता कामहरू गर्नुपर्ने रहेछ। काम मात्र कहाँ हो र!
ती शिक्षित भनिएका मान्छेले आफू घरमा एक्लै भएको बेला सताउने, आफ्नो पूरै शरीर मालिस गर्न लगाउने, नराम्रो नजरले हेर्ने, छुने, उनको गोप्य अङ्गहरू चिमोटिदिने अनि यी कुराहरू सामान्य हो भन्दै पटक–पटक नजिक आउने, छुने जस्ता नीच कार्यबाट उनी शोषित भइरहेको उनले बताइन्। आफूले भोगेको पीडा र समस्याहरू त्यही घरको आन्टीलाई भन्दा उल्टो आफैंलाई नराम्रो भन्ने, गाली गर्ने गरिएको कुरा बताइन्।
मात्र १२ वर्षकी उनी… मलिन आवाज… कापेको स्वर…. अनि चिन्तित मुद्रामा थिइन्।
उनी हामीसँग भन्दै थिइन्– “त्यो मान्छे होइन दिदी, त्यो त राक्षस हो। घरमा अरू मान्छे नहुने बित्तिकै मलाई मेरो जीउमा सबैतिर छुन्छ। ऊ पागल जस्तै भएर मलाई झम्टिन्छ। उसले मलाई जबरजस्ती गर्छ। मलाई अति दुख्छ। पीडाले जति चिच्याए पनि त्यो राक्षसले गरेरै छाड्छ। म धेरैपटक चुकुल लगाएर बसेकी छु। तर झन् त्यसरी बस्दा पछि मलाई कुटपिट गर्नुहुन्छ। मैले यो कुरा आमालाई कत्ति पटक भन्न खोजें तर उहाँ ‘तँलाई त काटेर फ्याके पनि मतलब छैन’ भन्नुहुन्छ। म कहाँ जाऊँ कसलाई सुनाऊँ यो कुरा!” यसो भनिरहँदा उनका आँसु थामिएनन्।
उनको रुवाइले मेरो पनि मन भारी भयो, गला अवरुद्ध भयो, गलामै आएर केही कुरा अड्किए जस्तो। तत्काल हामीलाई तालिममा भनेको कुरा सम्झिएँ– हामीलाई भावुक हुने छुट छैन यसले झन् बालबालिकालाई कमजोर बनाउँछ। यसरी आफ्ना भावना जबरजस्ती रोक्नु पर्दाको पीडा असह्य हुने रहेछ।
राष्ट्रसेवक जस्तो पदमा आसीन व्यक्तिले आफ्नो क्षणिक मनोरञ्जनको लागि हाल १२ वर्षकी र ३ वर्षदेखि बलात्कृत हुँदै आएको भनेपछि ९ वर्षकी अबोध बालबालिकाको शरीर र मानसिकतासँग खेलबाड गरिरहँदा ती सानी बालिकाले आफ्नो देशबाट के अपेक्षा राखुन् ?
यस्तै एक बहालवाला सांसदको घरमा बालुवाटार जस्तो देशकै राजनीतिक केन्द्र भएको स्थानमा काम गर्न राखिएकी थारू समुदायकी बालिकाको व्यथा हेर्दा कमलरी प्रथाकै झल्को आइरहेको थियो। उनी जहाँ सुत्थिन्, त्यहाँ त घरपालुवा जनावरसम्मलाई पनि सुताउन मिल्दैनथ्यो। यसरी जो कानुन र नीति निर्माण तहमा पुगेका छन्, उनीहरूकै मानसिकतामा दासता र सामन्तवादको जरा गाडिएको छ भनेपछि यिनले तर्जुमा गर्ने नीति र कानुन कस्ता होलान् ?
अर्की १६ वर्षकी बालिकालाई आमाले जन्मिने बित्तिकै छोडेर गएकी रहेछिन्। परिवारको आर्थिक अवस्था एकदमै नाजुक त्यसमाथि आफ्नी आमाले छाडेर जाँदा बाल्यकाल कटाउन निकै गाह्रो भएको। उनी ६ वर्षको उमेरमा काठमाडौं आएकी थिइन्।

सानो बेला धेरै काम गर्न नपरे पनि मानसिक र शारीरिक शोषणमा भएको भनेर उनले अलि बुझ्ने उमेरमा मात्र थाहा पाएको बताइन्। सानो छँदा उनी बैठक कोठामा सुत्ने गर्थिन्। त्यो बेला उनलाई त्यस घरको साहुले नराम्रो तरिकाले छुने रहेछन्, त्यो पनि उनले कक्षा ७ मा पुगेपछि स्वास्थ्य तथा जनसङ्ख्या विषय पढाउने शिक्षिकाबाट थाहा पाएको बताइन्।
सानो छँदादेखि नै यातना सहनुपर्ने भएर होला कक्षा ३ मा एक जना साथीसँग मिलेर केही कपडा झोलामा राखी भाग्ने निर्णय गरेकी रहेछिन्। भाग्ने क्रममा घरको आन्टीले देखेर “के कपडा हो भनेर सोध्दा” उनले डरले “फाल्ने कपडा हो” भन्दै डस्बिनमा हतारहतार फालिदिएको र भाग्न असफल भएको बताइन्। उनी कक्षा ८ मा हुँदा आत्महत्या गर्ने कोसिस गरेको तर भाग्यवश उनी असफल भइछन्।
उमेर बढ्दै जाँदा उनले त्यतिकै काम धेरै गर्नुपर्ने, गाली र कुटाइ पनि सहनुपर्ने भयो। खाना बासी खानुपर्ने त कहिले खाना नखाई विद्यालय जानुपर्ने अवस्था हुन्थ्यो। बिहान ५ बजेदेखि पोछा लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्नेदेखि सबै काम विद्यालय जानु भन्दा अघिसम्म र विद्यालय छुट्टी हुने बित्तिकै घर आएर काम गर्दै जाँदा सबै काम सक्दा १० बज्ने गरेको बताइन्। त्यसपछि मात्र गृहकार्य गर्नलाई समय मिल्ने बताइन्।
उनको दुई जना दाइ र एक जना दिदी भएतापनि कसैले के छ खबर भनेर कहिल्यै नसोधेको बताइन्। बुवाले पनि अर्को श्रीमती ल्याएका रहेछन्। चाडबाडमा बुवा आउँदा पनि माया गरे जस्तो देखाएर गाउँ लैजान नदिने गरेको बताइन्। त्यस घरबाट कतै जान नपाउने, आफ्नो गाउँ पनि जान नपाउने र आफ्नो दाजु दिदीहरूबाट पनि केही सहयोग नमिल्दा मानसिक असर परेको र राम्रोसँग पढ्न नपाएको उनले बताइन्।
बुवालाई “म यहाँ बस्दिनँ” भन्दा पनि “यदि त त्यहाँ नबस्ने भए कहिल्यै बाबा भनेर फर्किनुपर्दैन” भनेर धम्की आएपछि म चुप हुन्थें। त्यस घरमा भएको दुर्व्यवहार मैले एक दिन आँट जुटाएर विद्यालयको एक शिक्षिकालाई सुनाउँदा पनि केही उत्तर नआएको हुँदा “मेरो कुरा त कसैले विश्वास गर्दैनन्” भन्ने सोचेर कसैलाई नभनेको र चुप लागेर बस्न बाध्य भएको उनले बताइन्।
मैले प्रश्नावली फारम भर्दा भेटिएका केही बालबालिकाका साहु–साहुनी राणा परिवारको भएका कारण उनीहरुलाई ‘महारानी’, ‘महाराजा’ भनी सम्बोधन गर्नुपर्ने पनि भेटें।
मान्छे महारानी, महाराजा भए पनि के गर्नु ? यति अमानवीय व्यवहार र सोच भएपछि। अलिकति काम ढिलो भयो भन्दैमा लट्ठी र पाइपले कुटपिट गर्ने गरिएको रहेछ।
घर–बङ्गला नै भए नि के गर्नु ? जब सानी बालिकाले सुत्नको लागि छतको ट्याङ्की मुनि तन्ना र एउटा सानो ओढ्नेले जाडो र गर्मी कटाउनुपर्ने भएपछि ? उनले बताइन्।
अनि यतिसम्मको नीच गतिविधि गर्दा पनि साहु–साहुनी आफूलाई भगवान् नै ठान्छन्। ओहो ! मैले त यसलाई झन् पढ्न पाउँछे, यसको भविष्य बन्छ भनेर गाउँबाट उद्धार गरी ल्याएको हो भन्छन्। बिचरा उनीहरूलाई कामबाट पढ्ने फुर्सद भए पो पढ्न सक्छन्। कति बालबालिकालाई स-सानो गल्तीमा पनि सधैं गाली गर्ने, हात–खुट्टा तथा लट्ठी र पाइपको प्रयोग गरी पिट्ने, घरबाट निकाल्दिन्छु भनी धम्की दिने, घर बाहिर एक्लै राखेर सजायहरू दिने गरेका रहेछन्। यस्ता अमानवीय गतिविधिले गर्दा धेरै बालबालिकाको मनस्थिति निकै कमजोर, प्राय: चुपचाप बस्ने, कसैसँग नबोल्ने र आफ्नो मनमा लागेका पीडा कसैले सुनिदिए नि हुने भन्ने कुराहरू थाहा पायौं।
कुनै एउटी बालिका धेरै चोटि कहिले घर मुलीको छोराबाट बलात्कृत हुन्छिन् त कहिले घरमा आउने पाहुनाबाट यौन दुर्व्यवहारमा पर्छिन् तर उनी कसैलाई आफू शोषणमा परेको कुरा सुनाउन सक्दिनन्।
समाजका शिक्षित वर्ग, राष्ट्र सेवक जस्तो गरिमामय पदमा रहेको व्यक्ति, न्याय दिन बसेका न्यायमूर्ति र देश बदल्नको लागि उठेका सांसद भनिएकाहरूबाटै यस्तो नीच गतिविधि भइरहेको देख्दा हामीले अन्य व्यक्तिहरूबाट के अपेक्षा राख्ने ?
आकस्मिक उद्धारमा खटिंदा
एकदिन म, एकजना पत्रकार र बाल उद्धार कार्यदलका एक सदस्य कफी गफमा थियौं। यत्तिकैमा बाल उद्धार कार्यदलका सदस्यलाई एक बालिकाको फोन आयो। फोनमा उनले आफू अरुको घरमा बसेर काम गर्ने गरेको, आफूलाई विगत केही दिनदेखि घरको मालिकले निरन्तर बलात्कारको प्रयास गरिरहेको, हिजो समेत कोठाको चुकुल लगाएर बसेको र उक्त दिन समेत ती व्यक्ति घरमा भएकाले आफूलाई निकै डर लागेको बताइन्।
बालिकालाई नडराई चुकुल लगाएर बस्न भन्दै एक घण्टाभित्र महानगरको बाल उद्धार कार्यदल नेपाल प्रहरीको टोलीसहित बालिकाको घर पुग्यो र उनको उद्धार गर्यो भने प्रहरीले मालिकलाई नियन्त्रणमा लियो। अहिले ती व्यक्ति विरुद्धको मुद्दा चलिरहेको छ। मैले त्यतिबेला ती बालिकासँग केहीबेर कुराकानी गर्न पाएँ। उनी शब्दविहीन थिइन् तर उनको भावना र अनुहारमा धेरै कुरा पढ्न सकिन्थ्यो।
उनको मुहारलाई हेर्दा आफैंले यति खुसी अनुभूति गरें कि म शब्दमा बयान गर्न सक्दिनँ। यसरी यति छिटो समन्वय गर्दै गुनासो सम्बोधन गर्ने आकस्मिक उद्धारका लागि महानगरको बलियो टोली रहेको छ। वास्तवमा भन्नुपर्दा अन्य निकायहरूलाई समेत आकस्मिक उद्धार के हो ? भन्ने पाठ समेत महानगरले सिकाउने गरी काम गरिरहेको छ।
मान्छेका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेकै मानवीयता र आत्मसन्तुष्टि हो भन्ने कुरा मैले यो एक महिनामा बुझें। बालबालिकासँग कुरा गर्दै गर्दा अनि अप्ठयारोमा परेका बालबालिकाको उद्धार गर्दै गर्दा उनीहरूको अनुहारमा देखेको खुसी अनि दिदी भन्दै माया गरिरहँदा, योभन्दा ठूलो सम्पत्ति अरू के नै हुँदोरहेछ र ? भन्ने कुरा राम्रोसँग महसुस गर्न सकें।
यो केवल मेरो व्यक्तिगत धारणा वा भावना होइन। यो त ३१ जना म जस्तै इन्टर्न, हामीलाई हरेक परिस्थितिमा साथ, सहयोग सहित मार्गदर्शन र उत्प्रेरणा प्रदान गर्नुहुने महानगरपालिकाको बाल कल्याण अधिकारी शान्ता पहाडी, महानगर बालअधिकार समिति सदस्य, महानगरपालिकाका प्रमुखको सचिवालय, बाल उद्धार कार्यदलका सबै सदस्यहरूको भावना हो।
हामी ३१ जना इन्टर्नलाई बालबालिकाको क्षेत्रमा काम गरिरहँदा कुनै दिन पनि यो अरूको काम जस्तो लागेन, यो हाम्रो आफ्नै काम हो, हामीले नगरे अरू कसले गर्छ भन्ने भावनाका साथ काम गरौं भन्ने भयो। अनि यो काम गरिरहँदा आफू जन्मिनुको सार्थकता पाए जस्तो पनि अनुभूति भयो। हामीलाई सहजीकरण गर्दै गर्दा प्रविन सिलवालले भन्नुहुन्थ्यो कि “तपाईंहरू इन्टर्न मात्रै नभई एउटा मानव दासत्वको अन्तिम र क्रूर रूप घरेलु बाल दासत्वको जरो उखेल्ने अभियानका योद्धाहरू हुनुहुन्छ।
आज मैले मात्रै होइन ३१ जना नै इन्टर्न र बाल उद्धार कार्यदलका सबै सदस्यहरूलाई योद्धामा हुनुपर्ने ऊर्जा सञ्चार भएको छ। फलत: हामी उद्धार गर्न गएको कुनै पनि ठाउँबाट बालबालिकाको उद्धार नगरी ब्याक हुनुपरेन। आज पहिलो चरणमा १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाले नरकमय जीवनबाट मुक्ति पाएका छन्। उनीहरूको उज्यालो भविष्यको लागि आज महानगरपालिकाले काम गर्दैछ।
महानगरले युवालाई दिएको ठाउँ
महानगर बालअधिकार समितिकी सदस्य सोनी भट्टराई उमेरले मभन्दा केही महिनाले मात्रै जेठी हुनुहुन्छ। भन्न खोजेको भर्खरै २४/२५ वर्षकी युवालाई महानगरका युवा मेयरले बालबालिकाको क्षेत्रमा योगदान गर्ने गरी मनोनीत गर्नुभएको छ। यो पदका लागि उपयुक्त पात्रहरू अहिले महानगरमा हुनुहुन्छ। म यो अन्तरालमा सबैभन्दा बढी कसैबाट प्रभावित भएको छु भने उहाँबाट नै हो।
रात–दिन नभनी स्वयंसेवी ढङ्गले आफ्नो व्यक्तिगत जीवनको समेत कुनै पर्वाह नगरी यसरी निस्वार्थ भावनाले बालबालिकाको हकहितका लागि लागेको देख्दा सारै प्रभावित भएकी छु। उहाँ बालक्लबदेखि नै बालबालिकाको क्षेत्रमा क्रियाशील हुनुहुँदोरहेछ। महानगरभित्रकै सामुदायिक विद्यालयमा अध्ययन गरेकाले उहाँलाई घरेलु बालश्रमिकको पीडाले मन छोएको रहेछ।
विद्यालय पढ्दा बालक्लबको पदाधिकारी हुनुहुँदोरहेछ, बालबालिकाको समस्या सबै उहाँलाई आउने अनि शैक्षिक सामग्रीको कमी विद्यालय नियमित नहुने धेरै यातना, हिंसा, दुर्व्यवहार, खेप्ने अधिकांश बालबालिका अरूको घरमा काम गरेर बस्ने हुने गरेको उहाँको भोगाइ रहेछ।
उहाँ लगायत अभियन्ताहरूले लामो समयदेखि बालअधिकारका लागि राष्ट्रिय अभियान नामक अभियान नै सञ्चालन गरी काम गर्दै आए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको अवस्था रहेछ। उहाँहरूमा यो घरेलु बाल दासत्वको पीडाबाट बालबालिकालाई मुक्त गराउने भोक कति रहेछ भन्ने कुरा त वैशाखमा मनोनीत भएर यति छोटो समयमा महानगरलाई यति आक्रामक ढङ्गबाट यो मुद्दामा क्रियाशील बनाउनुले पनि पुष्टि गर्छ। उहाँ लगायत अहिलेको महानगरपालिकाको सिङ्गो युवामय नेतृत्व र त्यसले बोकेको भिजनबाट यो घरेलु बाल दासताको प्रथा पक्कै अन्त्य होला।
तर पनि यसो भनिरहँदा उच्च ओहोदाका मानिसहरूकै घरबाट बालबालिका उद्धार गरिरहँदा उनीहरूको राजनीतिक लगायत दबाब खेप्न सक्ने सामर्थ्य महानगरले राख्छ कि राख्दैन ? बाल उद्धार कार्यदलका सदस्यहरूको सुरक्षा र मनोबल बढाउने सोच कस्तो राख्ला ?
महानगरको आफ्नै कानुन कार्यान्वयनमा स्थानीय जनता र जनप्रतिनिधिले साथ देलान् कि नदेलान् ? महानगरले हल्लाएको यो जरो उखेल्न अन्य सरोकारवाला निकायहरूले साथ देलान् कि नदेलान् ? समग्र बाल संरक्षण प्रणालीको स्थापना के–कसरी अघि बढाउला ? महानगरको आगामी नीति, कार्यक्रम तथा बजेटले बालबालिकाको विषयलाई कति प्राथमिकतामा राख्ला ? नेतृत्वले यी र यस्ता सवालहरूको कसरी सम्बोधन गर्छन् त्यो भने हेर्न बाँकी नै छ।
(दाहाल काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग अन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्ने इन्टर्न हुन्।)
प्रतिक्रिया 4