+
+

डेढ महिनादेखि नानु घिमिरेमाथि घुमिरहेको हाइपर फण्डको अनुसन्धान

४० करोड ठगीमा ३३ जना फरार

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ ३० गते १८:२८

३० जेठ, काठमाडौं । डेढ महिनादेखि ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी ५१ वर्षीया नानु घिमिरे (काजल) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छिन् ।

संगठित रुपमा ठगी गरेको आरोपमा सीआईबीले घिमिरेलाई २० वैशाखमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घिमिरेमाथिको अनुसन्धान प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने भएपछि प्रविधिमा दक्ष रहेको सीआईबीको टिमले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

हाइपर फण्ड (हाल हाइपर भर्स) का नाममा नेटवर्किङ खडा गरेर ४० करोड रुपैयाँ ठगीको प्रारम्भिक सूचना आएपछि सीआईबीले घिमिरेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

उनी पक्राउ परेपछि अहिलेसम्म ६ करोड ९५ लाख ३४ हजार ७५१ रुपैयाँ ठगी भएको भन्दै ५६ जनाबाट ४१ वटा जाहेरी आइसकेको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटी बताउँछन् । संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने भएकाले उजुरी अझै बढ्ने सीआईबीले जनाएको छ ।

सीआईबीको अहिलेसम्मको अनुसन्धानले घिमिरेसहितको टिमले करिब ४० करोड रुपैयाँ ठगी गरेको खुलेको एसपी बोगटी बताउँछन् । तर यसका धेरैजसो पीडित र पीडक दुबै पक्ष विदेश रहेकाले ४० करोड ठगीको जाहेरी पर्न सक्ने देखिएको छैन ।

घिमिरेसहितको समूहले तेब्बरसम्म कमाइ हुने आश्वासन दिएर सर्वसाधारणलाई ‘हाइपर भर्स’ मा रकम हाल्न लगाएर ठगी गरेको खुलेको सीआईबीले जनाएको छ । सुरुवाती चरणमा केही फाइदा दिएजस्तो गरेर पछि भने ठगीको धन्दा हाइपर भर्सले चलाउने गरेको पाइएको छ ।

प्रहरीका अनुसार हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि साइटमा प्रवेश गरेर जुम मिटिङमा समावेश गराइन्छ । त्यसपछि हाइपर भर्स नामक ‘ब्लक चेन टेक्नोलोजी’ कम्पनीका मुख्य सञ्चालक काजल, रोशन भन्ने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमार गुरुङ, मोदनाथ बेल्वासे, योगेन्द्र मिलन छन्त्याल, चन्द्रकुमार लिम्बू तुम्बाहाम्फे, रेनु माया तामाङ, कृष्ण कान्त भण्डारी, देवेन्द्र गौतमलगायतका व्यक्तिले जुम मिटिङमार्फत हाइपर भर्समा लगानी गर्न काउन्सिलिङ गर्ने गरेको खुलेको एसपी बोगटी बताउँछन् ।

हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रुपमा ठगी गरेको पाइएको सीआईबीका अधिकारीहरु बताउँछन् ।

हाइपर्स भर्स कम्पनीले धेरैलाई सदस्य बनाउने तथा लगानी गर्ने व्यक्तिलाई एक्सपर्ट लेभलमा राख्छ । उनीहरुलाई अन्य सदस्यको भन्दा बढी आम्दानी हुने आश्वासन दिइएको हुन्छ । स्क्सपर्ट लेभलका साथै ५ स्टारसम्म ¥याङकिङ गरेर वर्गीकरण गरेको पाइएको एसपी बोगटीले बताए ।

हाइपर भर्स क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो । यसमा लगानी गर्न सुरुमा एप डाउनलोड गरेर एकाउन्ट खोलिन्छ । एकाउन्ट खोलेपछि कम्तीमा ३ सय अमेरिकी डलर (४० हजार नेपाली) बाट लागनी सुरु हुन्छ ।

यसले कुन क्षेत्रमा लगानी गर्छ र लगानीकर्तालाई प्रतिफल दिन्छ भन्ने खुलाइएको हुँदैन । जसकारण यसबाट ठगिने सम्भावना एकदमै ज्यादा हुने गर्छ । रिवार्ड वापत पनि केही रकम दिने बताएर विश्वासमा पार्दै रकम हाल्न लगाएर ठगी गरिने सीआईबीका एसपी बोगटीले बताए ।

एक महिनादेखि घिमिरे सीआईबीको हिरासतमा रहे पनि हाइपर भर्सका नाममा ठगी गर्ने गिरोहका अधिकांश व्यक्ति भने देश बाहिर (विदेश) मा रहेको खुलेको छ ।

बुधबार मात्रै सीआईबीले रुकुमबाट लमजुङ घर भएका कृष्णकान्त भण्डारीलाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या २ पुगेको छ । यो ठगी प्रकरणमा अहिलेसम्म ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

विदेशमै बसेर विदेशमै रहेका नेपालीहरुलाई हाइपर फण्डका नाममा ठगी गरिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

यो ठगी प्रकरणका मुख्य व्यक्तिरु पोर्चुगल र बेलायतमा रहेको सीआईबी स्रोत बताउँछ । ठगिने पनि बेलायत र पोर्चुगलमा बसेका नेपालीहरु धेरै रहेका छन् । बेलायत बसेर कृष्ण बगाले, ललितकुमार न्यौपाने, कुमार गुरुङले हाइपर भर्सको ठगीमा मुख्य भूमिका निभाएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

पोर्चुगलमा चिन्तामणि छन्त्याल, रोशन पोखरेललगायतले फाइपर फण्डको नाममा नेपालीहरुमाथि ठगी गरेको सीआईबीका अधिकारीहरु बताउँछन् । त्यसैगरी अमेरिका, अष्ट्रेलिया बेल्जियममा रहेका नेपालीहरु पनि ठगी धन्दामा संलग्न छन् भने पीडित समेत विदेशमा छन् ।

करिब डेढ महिनादेखि हिरासतमा रहेकी घिमिरे यसअघि इजरायलमा बसेर हाइपर भर्सको नाममा ठगी गरेकोमा पछिल्लो समय भने नेपालको प्रमुख भएर आएपछि पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

घिमिरेले अरुको कारोबार आफ्नो बैंक खाताबाट समेत गरेको अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीका अनुसार हाइपर भर्सको कारोबार डलरमा मात्रै हुन्छ । जसकारण नेपालमा रहेका व्यक्तिले विदेशमा रहेका आफन्तमार्फत लगानी गरेको देखिएको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?